दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

स्थानीय तह निर्वाचनको मतपत्र छपाइको काम सम्पन्न
निर्वाचन आयोगले आगामी वैशाख ३० गर्ने हुने स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि सबै मतपत्र छाप्ने काम सकिएको र वैशाख २३ गते भित्र सवै जिल्लामा मतपत्र पुराई सक्ने जानकारी दिए । त्यस्तै आयोगले निर्वाचनका लागि खटाइएका कर्मचारीले काम गर्न इन्कार गरेमा कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले भनेको छ । 

निर्वाचनको ४८ घण्टा अगाडि सीमा नाका बन्द गराउन सरकारलाई लेखी पठाउने आयोगको निर्णय
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ ।आयोगको आजको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आयुक्तलाई दुर्व्यवहार गरेको भन्दै एसपी फिर्ता
निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार गरेको आयोग स्रोतले बतायो ।निर्वाचन आयोगले घटनाको छानबिन गर्न समेत गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।

मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन विद्यार्थीको भौतिक उपस्थिति नगराउन निर्देशन
स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरूमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको छ ।केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन भनेको हो ।

केशव स्थापितलाई फेरि सोध्यो आयोगले स्पष्टीकरण
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहेका बालेन शाहको विषयमा अभिव्यक्ति दिएको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

रेनु दाहाललाई सघाउन कांग्रेस सभापति देउवाको कार्यकर्तालाई आग्रह
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई चितवन कांग्रेसले सघाउनुपर्ने बताएका छन् । आज भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालको कार्यकालमा भरतपुरका हरेक गल्ली पिच भएको देउवाले बताए । रेनु दाहालले देखेका सपना साना कुरा नभएको देउवाले बताए । कुनै पनि पार्टीले पनि बहुमत ल्याउन नसक्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको देउवाको भनाइ थियो । 

कांग्रेसको प्रतिस्पर्धी केपी ओली हुन् : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको बताए । कुनै एउटा दलको बहुमत नआउने र गठबन्धन सरकार बनाउनुपर्ने भन्दै उनले माओवादी केन्द्रसँग सहकार्य गर्नु परिस्थितिको उपज भएको बताए । 

भरतपुरमा हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताए । गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै अध्यक्ष प्रचण्डले गठबन्धन कमजोर पार्न खोजे देश दुर्घटनामा पर्ने खतरा रहेको भनाई राखे । रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उनको प्रतिबद्धता थियो । उनले विसं २०४६ देखि कम्युनिस्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराए । 

एमाले कुहिएको फर्सी हो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएका छन् । भरतपुरमा गठबन्धनको सभालाई सम्बोधन गर्दै नेपालले एमाले र केपी ओलीका कुरा विश्वास गरे दुःख पाइने टिप्पणी गरे । उनले केपी शर्मा ओलीको वर्णन हजार जिब्रो भएको शेषनागले पनि गर्न नसक्ने व्यंग्य गरे । चुनावी गठबन्धन राष्ट्रिय आवश्यकता बनिसकेको बताउँदै नेपालले भरतपुरमा रेनु दाहाल विकासप्रेमी मेयरको रुपमा स्थापित भइसकेको बताए । 

राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताए ।  उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने धारणा राखे । त्यस्तै उनले नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउन सके सुशासन र असल शासन कायम हुने उल्लेख गरे ।

आईजीपी नियुक्ति प्रकरण– विश्वराजको रिटमा अन्तरिम आदेश भएन
नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले कारण देखाउ आदेश जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अब मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ।धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको बताए । ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए । सहमति कार्यान्वयन नहुँदै एमाले सरकारबाट हटेको स्पष्ट पारे ।

कांग्रेसले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि गर्‍यो कारबाही
नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ ।कांग्रेसले आज विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरूलाई पार्टीबाट निष्काशन गरिएको जनाएको छ ।उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा सक्रिय भएर लाग्न अनुरोध गर्दा पनि अटेरी गरेका कारण कारबाही गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न सकेन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताएका छन् । आज काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ वर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाए । ५ वर्षमा गरेको कामका बारेमा एमालेले जनतालाई जवाफ दिनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरूसँग गठबन्धनमा उत्रिएको तर्क गरेका छन् ।

स्वास्थ्य संस्थामा आइतबार बिदाबारे मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी जेठ १ गतेदेखि लागू हुन लागेको आइतबार सार्वजनिक बिदासम्बन्धी सरकारको निर्णयलाई अस्पतालमा कसरी मिलाउने विषयमा सरोकारवालासँग छलफल गरेको छ। यसबारे आज बसेको बैठक निष्कर्षबिनै टुंगिएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले आज छलफलका लागि बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर अधिकारीले बताए । मन्त्रालयमा आज दिउँसो चिकित्सक संघसहित स्वास्थ्य क्षेत्रका अन्य टेड्र युनियन, सरकारी अस्पतालका निर्देशकहरू, चिकित्सकका पेशागत संगठनका प्रतिनिधि, नर्सिङ प्रतिनिधि, स्वास्थ्य कर्मचारीहरूको पेशागत संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ ।केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ ।केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण हार्ड कपी र सफ्ट कपी पठाउन एकाइलाई निर्देशन गरेको छ ।केन्द्रले खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण भने नपठाउन अनुरोध गरेको छ ।

नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब बराबरको सहयोग सम्झौता
नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी सहयोग नियोग (यूएसएड) र अर्थ मन्त्रालयबीच बिहीबार भएको सम्झौता अनुसार अमेरिकाले युएसएड मार्फत आगामी पाँच वर्षभित्र ६५ करोड ९० लाख डलर सहयोग अनुदान नेपाललाई उपब्ध गराउने छ । सम्झौता पत्रमा अर्थ मन्त्रालयलका सहसचिव इश्वरीप्रसाद अर्याल र युएसएड नेपालका म्यानेजर सेपिध किवान्सले हस्ताक्षर गरेका छन् । साँवा ब्याज केही तिर्न नपर्ने यो रकम नेपाल सरकारले पाँच वर्ष भित्र खर्च गर्नुपर्ने छ । युएसएड मार्फत हुने सहयोग यस अघिसम्म युएसएडले आफुखुशी खर्च गर्दै आएकोमा यो पटकदेखि नेपाल सरकारले बजेटमा समावेश गरेर खर्च गर्न पाउने छ । 

तथ्यांक विभागद्वारा प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक 
चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८/७९ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.९ प्रतिशत हुने अनुमान छ । गत आवमा राष्ट्रिय तहमा कूल गार्हस्थ्य उत्पादनको ३६.७ प्रतिशत हिस्सा ओगटेको थियो । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ४८ खर्ब ५२ अर्ब हुने विभागको प्रक्षेपण छ । बागमती प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा करिब १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ ।

रुकुमपश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप
चुनावी प्रचारको क्रममा रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । जसमध्ये ६ जनाको जिल्ला अस्पताल सल्ले र दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, वीरबहादुर वली, चन्द्रबहादुर खड्कालगायतको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । २ घाइते स्थानीय मेडिकलमा उपचार गराइरहेका छन् । झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको कांग्रेस कार्यकर्ताको आरोप छ । तर, माओवादीनिकटका युवाले भने चुडामणि शर्माको घर तोडफोड गरेको भन्दै तरुण दलका कार्यकर्तालाई लखेटेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

उच्च अदालतले माग्यो पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश
उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ ।बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । आरोपित शाहले दुबै जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै पुनरावेदन निवेदन दिएका थिए । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले शाहका सहयोगी जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो ।

थप १७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७६ पीसीआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । 

भारतबाट ल्याउँदै गरिएको ब्राउन सुगरसहित दुई पक्राउ
नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगरसहित सीमा क्षेत्र जुमनाहाबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका ९ बस्ने २४ वर्षीय दिपिका पुन मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख मिनबहादुर बिष्टले जानकारी दिए । भारतबाट मोटरसाइकलमा आउँदै गर्दा शंका लागेर जाँच गर्दा रेग्मीले गोजीमा राखेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ११ : २० बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी