पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।
अन्य दलको झन्डा प्रयोग गर्ने उम्मेदवारलाई कारबाहीको चेतावनी
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको छ । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर आयोगको चेतावनीबारे जानकारी गराउनुभएको हो । अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीतको कार्य हुने पनि आयोगले स्मरण गराएको छ ।
संवेदनशील स्थानमा केन्द्रीय अनुगमन टोली खटाइयो
आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदाता भएका र सुरक्षालगायत दृष्टिले संवेदनशील मानिने जिल्लामा निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ । निर्वाचन आयोग ऐन, २०७३ का दफा ५ प्रयोग गरी आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाएको हो । सो दफामा आयोगले आयोगका पदाधिकारी वा कर्मचारी वा नेपाल सरकारका कर्मचारी वा प्रदेश सरकारका कर्मचारी वा विशेषज्ञसहितका टोली गठन गरी निर्वाचन प्रचारप्रसार, मतदान, मतगणना वा निर्वाचनसँग सम्बन्धित अन्य काम कारबाहीको अनुगमन गर्न वा गराउने सक्ने व्यवस्था गरिएको छ ।
झुठा र भ्रमपूर्ण सूचनाको प्रवाहको विषय विश्वव्यापी चुनौती छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले झुठा र भ्रमपूर्ण सूचनाको प्रवाहको विषय विश्वव्यापी चुनौती बनिरहेको बताएकी छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार शीतल निवासमा आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा उनले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको बताएकी हुन् ।
अब गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही हुन्छ : देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पनि पाँच दलीय गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । पाँच दलीय गठबन्धनद्वारा जनकपुरको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् । देउवाले चितवनमा गठबन्धनको उम्मेदवारको विपक्षमा बोल्नेले हावा खाइसकेकाले कुनै समस्या नभएको दाबीसमेत गरे । गठबन्धनको विपक्षमा उभिएकालाई कारबाही गरेको बताउँदै उनले गठबन्धनको पक्षमा चुनावी माहोल बनेकाले जनता सबै गठबन्धनकै पक्षमा उभिएको दाबी गरेका थिए ।
गठबन्धन राष्ट्रको आवश्यकता हो, बिना शंका जिताउनुस् : देउवा
यसअघि बुटवलमा आयोजित चुनावी सभामा बोल्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका थिए । देउवाले संविधानलाई जोगाउनका लागि र विकास स्थायित्वको लागि बनेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुई पटक संसद भंग गरेको उल्लेख गर्दै एमालेलाई जनताले मत दिन नहुने तर्क गरे । देउवाले गठबन्धनमाथि कुनै शंका उपशंका नगर्न आग्रह गर्दै तालमेलमा उम्मेदवार बनाएका सबैलाई विजयी गराउनुपर्ने धारणा राखेका थिए ।
एमाले गुटका कारण नागरिकता विधेयक अघि बढाउन सकिएन : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक ’एमाले गुट’ (नेकपा एमाले) का कारण अघि बढ्न नसकेको बताएका छन् । एमालेका सांसदहरूले सदन अवरोध गरिरहँदा विधेयक अघि बढाउन नपाएको दाहालको आरोप छ । अब बस्ने सदनमा विधेयकलाई अघि बढाउने प्रतिबद्धता गर्दै यदी सदन अवरोध भए पनि अवरोधका बीच विधेयक अगाडि बढाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेको दाहालको भनाइ थियो ।
गठबन्धनलाई ओलीको कटाक्ष : वडामा पनि नजित्नेले सरकार चलाउन सक्दैनन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन् । इटहरीमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै ओलीले ५ दलीय सत्ता गठबन्धनको चुनावी तालमेलप्रति यस्तो प्रतिक्रिया दिएका हुन् । अर्को प्रसंगमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरका मतदातालाई सातो जानेगरी हप्काएको समेत आरोप लगाए ।
देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्छ : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । पोखरामा आज पार्टीको चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले, माओवादीलगायत ठूला पार्टी गलत बाटोमा हिँडिरहेको र गल्ती सच्याउन तयार नभएको तर्क गरेका हुन् । यस्तै अध्यक्ष लिङदेनले कम्युनिष्टले झन्डै दुई तिहाइको जनमत र ७ वटा सरकार आफ्नै कारणले गुमाएको पनि टिप्पणी गरेका थिए ।
विकल्पहरू हुँदाहुँदै बाराको निजगढमा रुखहरू मास्न हुन्न : नेपाल पर्यावरण संरक्षण संघ
नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघले विकल्पहरू हुँदाहुँदै बाराको निजगढमा रुखहरू मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाइने आफ्नो अडान अघि सारेको छ । पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि जनाएको छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निजगढको ८ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरू, थलनी, बडकी पैनी र जोकाहा खोलाहरूको मुहान भएकोले पानीका स्रोतहरू पूर्ण रूपले सुक्ने जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुदर्शन प्रधानले अध्ययन–अनुसन्धानबिना निजगढको जंगल फाँड्न आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको बताउनुभयो ।
सुरक्षाकर्मीको सहयोगमा काठमाडौँको फोहोर उठाउन सुरु
सुरक्षाकर्मीको सहयोगमा आजदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ । काठमाडौं महानगरपालिकाको पहलमा ३ सय सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य आजदेखि सकंलन गर्न थालिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले सो स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कु खोलादेखि तीन पिप्लेसम्मको सडकखण्डमा सो सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो ।
काठमाडौँमा नमुना मतदान
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौंमा नमूना मतदान गरिएको छ । मतदान अधिकृतहरूको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो । नमूना मतदानमा बिभिन्न पालिकाका मतदान अधिकृतहरूको सहभागिता रहेको थियो
संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा नेपाली सेनाको टोली पुग्यो
ताप्लेजुङमा अवस्थित संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा नेपाली सेनाको टोली पुगेको छ । नेपाली सेनाले इतिहासमै पहिलोपटक आज विहान कञ्चनजंघा आरोहण गरेको जनाएको छ । सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली आज बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको सफाइ अभियानको ह्यान्डलिङ एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिएका छन् ।
चुनावी प्रचारमा हिँडेको गाडीको छतबाट खसेर मृत्यु
चुनाव प्रचारमा हिँडेको गाडीको छतबाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका–२ दानीगौरामा लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खस्दा सोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । छतबाट खसी गम्भीर घाइते भएका मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छन् ।
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय २० पीसीआर परीक्षणका क्रममा ११ जना र १ हजार २ सय ९६ एन्टीजेन परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सप्तरीमा साथीको हत्याका आरोपित सार्वजनिक
सप्तरीमा साथीको हत्या गरी फरार रहेका एक अभियुक्त १ वर्षपछि पक्राउ परेका छन् । अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो । भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको थियो । मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको थियो ।
डोटीमा विद्युत अवरुद्ध
डोटीमा हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । बुडर इलाका प्रहरी कार्यालयका अनुसार आज दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ ।
गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन
हुम्लामा गठबन्धनमा आबद्ध दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न जिल्लास्तरका प्रमुख नेताले निर्देशन दिएका छन् । आज विहान विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा बागी उम्मेदवारी यथावत राखे पार्टीको विधानअनुुसार कारवाही गर्न चेतावनी दिएको हो ।
जीडीपीमा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो दुर्घटना : डा.अधिकारी
अर्थविद् डा.चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने चेतावनी दिएका छन् । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्ने आवश्यकता रहेको सुझाव दिए । काठमाडौँमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै डा.अधिकारीले सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी गरे । सरकारले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरू हेर्दा अर्थतन्त्र संकटउन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए ।
नेपालमा खेतीयोग्य जमिनमा ३० प्रतिशत मात्रै सिँचाइको व्यवस्था
नेपालमा खेतीयोग्य जमिनमा ३० प्रतिशत मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसर पारेर आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको खेतीयोग्य जमिन ३० प्रतिशत मात्रै रहेको जानकारी गराएको हो । सिञ्चित जमिन कम भएकाले पनि खाद्यन्न उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा.दीपक भण्डारीले बताए ।
प्रतिक्रिया