एनपीएलमा सट्टेबाजी : प्रहरीको विभेदकारी नीति ! | Khabarhub Khabarhub

एनपीएलमा सट्टेबाजी : प्रहरीको विभेदकारी नीति !

कलाकार र सर्वसाधारणलाई कर्‍यापझ्याप, क्लबका मालिकलाई राहत



काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल) मङ्सिर १५ गतेदेखि शुरू भयो । पुस सात गते सम्पन्न प्रतियोगिता नेपालको खेल इतिहासमै सर्वाधिक ठूलो महाकुम्भ बन्यो ।

तर, एनपीएलको आयोजक क्यान र फ्रेन्चाइज समूहले भने आम्दानीको नाममा सट्टेबाजी (बेटिङ) कम्पनीको विज्ञापन गरेर राज्यलाई नै कानुनी चुनौती दिए । आफ्नै संरक्षण र सुरक्षामा सट्टेबाजी विस्तार गरेको राज्य यस मामिलामा पूर्णतः विभेदकारी र मुकदर्शक बन्यो ।

क्यानका पदाधिकारीले एनपीएलमा बेटिङको प्रचार गरिएको भनेर प्रतिक्रिया दिइरहँदा प्रहरीले भने अनुसन्धान गर्न सरकारको सहयोग चाहिएको बताएको छ । जब कि नेपाल प्रहरी नागरिकस्तरसम्म घुलमिल भएको राज्यकै महत्वपूर्ण तथा पूर्ण परिचालित सुरक्षा अङ्ग हो ।

एनपीएलमा भएको बेटिङ प्रचारसँगै प्रहरीतर्फ एउटा गम्भीर प्रश्न तेर्सिएको छ । त्यो हो – त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डको सुरक्षा जिम्मा नै पाएको प्रहरी ग्राउण्डभित्रै बेटिङ प्रचार हुँदा किन मुकदर्शक बन्यो ? के ! प्रहरीले कानूनको कार्यान्वयनमा विभेदको अभ्यास गरिरहेको छ ?

एपीएल खेलाइएको टीयू क्रिकेट मैदानको बाउन्ड्रीलाइनमै राखिएको बेटिङ साइट वुल्फ ट्रिपल सेभेनको विज्ञापन ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको भन्दै मङ्सिर १७ गते दुई जना र मङ्सिर १८ गते थप दुई जनालाई पक्राउ गरेको थियो ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतको कलकत्ता बस्ने सुमन धोष, उत्तर प्रदेश कानपुरका अमित यादव, विहारका सुमन्त कुमार र ब्रजेश कुमार थिए । सीआईबीले ती व्यक्तिहरूलाई टीयू क्रिकेट मैदानबाटै पक्राउ गरेको थियो ।

त्यस्तै, मङ्सिरको दोस्रो साता प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका घर भएका ३७ वर्षीय सुनिल राईलाई पनि समात्यो । राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेटिङ एपमार्फत् अनलाइन जुवा खेलाएको र नेपालमा अवैध अभौतिक मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । राईमाथि ५५ करोड २० लाख ८४ हजार रूपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ ।

प्रहरीले अनलाइन सट्टेबाजीको प्रचार गरेको आरोपमा गत जेठ ३२ गते आठ कलाकारलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (मास्टर), पवन खतिवडा (म्याकुरी), एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली (भटभटे)लाई अनलाइन बेटिङ सञ्चालन गर्ने वानएक्स बेट एप्लिकेसन प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

यो पनि –

बल्छी ध्रुवेसहितका ८ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति

असार २७ गते धरौटीमा रिहा भएका ती कलाकारविरुद्ध प्रहरीले विज्ञापन ऐनअनुसार एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना माग गरेर अदातलमा मुद्दा दायर गर्‍यो ।

यी त नेपाल प्रहरीको फेसबुक पेजमा देखिएका र सञ्चार माध्यममा प्रकाशन भएका सट्टेबाजी अपराधसम्बन्धी केही प्रतिनिधि घटनामात्रै हुन् ।

नेपाल प्रहरीले विभिन्न समयमा सट्टेबाजी गर्ने/गराउने विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र कानुनी कारबाही अघि बढाउने गरेको छ ।

एनपीएलमा सट्टेबाजी हुँदा प्रहरी किन मौन ?

मङ्सिर १५ गते सम्पन्न एनपीएल खेल मैदानमै तीनवटा क्लबले अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचारप्रसार गर्ने काम गरे ।

फ्रेन्चाइज क्लबमध्ये विराटनगर किङ्ग्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको पोशाकमा नै सट्टेबाजी प्लेटफर्मको विज्ञापन सामग्री छापेर खेलाडीलाई लगाउन लगाइएको थियो ।

‘वुल्फ ट्रीपल सेभन’ अनलाइन प्लेटफर्म; जसले विभिन्न खेलहरूको सट्टेबाजीमा मुख्य काम गर्छ । एनपीएल सुरु भएदेखि अन्तिम दिनसम्म खेलमैदानमा सो प्लेटफर्मको भौतिक प्रचार सामग्री राखेरै विज्ञापन गर्ने काम भयो ।

विराटनर किङ्ग्सका खेलाडीले ‘बिजे एटीएट’, लुम्बिनी लायोनका खेलाडीले ‘बाबु एटीएट’ र सुदूरपश्चिम रोयलका खेलाडीले ‘बाबु एटीएट’को विज्ञापन भएको खेल पोशाक लगाएका थिए ।

एनपीएलमा सहभागी खेलाडीको जर्सीमा बेटिङ कम्पनीको विज्ञापन ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । संहितामा जुवा खेल्ने र खेलाउने दुवै पक्षलाई पटकेका आधारमा कारबाही हुने व्यवस्था छ । त्यस्तै; संहिताको १२५ को (४) मा ‘कसैले सट्टेबाजी गर्नु वा गराउनु हुँदैन’ लेखिएको छ ।

तर, कानूनको समान कार्यान्वयन गर्ने जिम्मेवारी लिएको नेपाल प्रहरीले भने एनपीएलको आयोजक क्यान र फ्रेन्चाइज समूहहरूलाई खुलेआम कानून उल्लङ्घन गर्ने अवसर दियो । अन्य व्यक्ति तथा माथि उल्लेखित कलाकारको हकमा प्राथमिकता दिएर अनुसन्धान गरेको प्रहरीले एनपीएलको हकमा भने त्यसो गरेन ।

एनपीएलको आयोजक क्यान सरकारी निकाय भए पनि उसले निजी क्षेत्रको सहभागितामा फ्रेन्चाइज समूह निर्माण गरी प्रतियोगिता सम्पन्न गरेको हो । एनपीएलका प्रतिष्पर्धी धेरैजसो क्लबमा व्यवसायिक घरानाकै व्यक्तिहरू सङ्लग्न थिए ।

ती ‘पहुँचवाला’ र ‘शक्तिधारी’कै प्रभाव/दबाबका कारणसट्टेबाजी (बेटिङ) प्रचारविरुद्ध कारबाही गर्नबाट प्रहरी पन्छिएको धेरैको अनुमान छ । यस्तो रवैयालाई लिएर नेपाल प्रहरीमाथि विद्युतीय सामाजिक सञ्जालमै जताततै आलोचना भइरहेको छ ।

क्यानका सचिव पारस खड्काले नै एनपीएलमा सट्टेबाजी ब्राण्डको प्रचार गरिएको स्वीकारेका छन् । उनले नेपालको कानूनमा सरोगेट ब्राण्ड सही वा गलत भएको भन्ने विषयमा कुनै उल्लेख नभएको भन्दै सट्टेबाजीको प्रवर्द्धन नगरेको, तर प्रयोग गरेको विरोधाभाषपूर्ण जवाफ दिएका हुन् । साथै; उनले विगतदेखि नै नेपालमा सरोगेट ब्राण्ड प्रयोग हुँदै आएको समेत दाबी गरे ।

‘विगत पाँच/सात वर्षदेखि नेपालमा पनि सरोगेट ब्रान्डहरू युज भइरहेका छन् । इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसी र एसीसीले आयोजना गर्ने प्रतियोगितामा पनि यस्ता सरोगेट ब्राण्डहरू युज (प्रयोग) गर्न पाउँछन्’, कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा खड्काले भनेका छन्, ‘देशको ऐनकानून अनुसारको हामीले संरचना हेर्‍यौँ भनेदेखि कस्तो छ भन्दाखेरि आज पनि डिफाइन भएको छैन ।’

क्यानले कहिल्यै सट्टेबाजी प्रवर्द्धन नगरेको, तर लगानी आइरहेकाले सरोगेसी प्रयोग गरेको उनको तर्क छ । यस्तो हुन नदिन सरकारले लगानी गरिदिनुपर्ने र बेटिङका सरोगेसी प्रचार नै गर्नुनपर्ने गरी पर्याप्त बजेट दिनुपर्ने उनले बताए ।

खड्काले एनपीएलमा प्रहरीसँग समन्वय गरी प्रत्येक फ्रेन्चाइज समूहमा प्रहरी अधिकृत राखेर बेटिङमा खेलाडी, प्रशिक्षक र समूह प्रभावित भएको वा नभएको अनुगमन गरिएको समेत दाबी गरे ।

सीआईबी भन्छ – ‘सरकारको जवाफ कुरेका छौं’

क्यानका पदाधिकारीले सार्वजनिक रूपमै एनपीएलमा सट्टेबाजी प्रचार गरेको स्वीकार गरिसकेका छन् । तर, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भने सो विषयमा अनुसन्धान गर्ने वा नगर्ने विषयमा सरकारको प्रतिक्रिया कुरेको जनाएको छ ।

सीआईबीका प्रवक्ता होविन्द्रबहादुर बोगटीले आफूहरूले एनपीएलमा भएको बेटिङ साइटको विषयलाई नजरअन्दाज नगरेको बताएका छन् । उनले अनुसन्धानलाई अघि बढाउने वा नबढाउने विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पत्राचार गरेको र जवाफ कुरिरहेको उनले बताए ।

‘बेटिङको प्रचार भन्दा पनि डटकमको प्रचार भन्ने कुरा आयो, हामीले नेपाल प्रहरी प्रधान कार्यालयमार्फत् सञ्चार मन्त्रालयलाई पत्राचार गरेका छौं, त्यहाँबाट केही जवाफ आएको छैन, त्यहाँबाट त्यो गैरकानुनी साइट हो, अनुसन्धान गर्न भनी आयो भने हामी अनुसन्धान अघि बढाउँछौँ, अहिलेसम्म त्यस्तो जवाफ आएको छैन’, बोगटीले भने ।

सीआईबी आफैँमा अनुसन्धान गर्ने निकाय हो । त्यस्ता अन्य आपराधिक प्रकरणमा सीआईबीले आफैँ अगुवाइ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको देखिन्छ । तर, क्रिकेटमा भइरहेको बेटिङबारे भने सीआईबीले मन्त्रालयतिर औंला तेस्र्याइदिएको छ ।

बोगटीले एनपीएलले बेटिङ गर्दा आफूहरू नै कन्फ्युजन (अलमल)मा परेको पनि बताए । ‘उनीहरूले वुल्फ ट्रीपल सेभन डटकम अनलाइन न्यूज पोर्टल पनि भएको भनेका छन्, त्यसकारण हामीलाई अलिकति अप्ठ्यारो परेको हो’, उनले भने ।

तर, एनपीएलमा ‘वुल्फ ट्रीपल सेभन’ बाहेक अन्य बेटिङ साइटको पनि प्रचार गरिएको छ । प्रवक्ता बोगटीले यस्तो मामिलामा कारबाही अघि बढाउन उजुरी चाहिने तर्क गर्छन् । सरकारको निर्देशन वा कतैबाट उजुरी आए कारबाही प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

‘आधिकारिक ठाउँबाट अनुसन्धान गर्नेगरी निर्देशन या उजुरी आयो भने कारबाही अघि बढ्छ । कारबाही गर्नका लागि पहिले त उजुरी चाहियो नि !’ उनले थपे ।

तर, बिजनेस पावर (व्यापारिक शक्ति) र पब्लिक सेन्टिमेन्ट (नागरिक भावना)का आधारमा भने आफूहरूले बेटिङको प्रचारलाई नजरअन्दाज नगरेको उनले दोहोर्‍याए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ६ : ३५ बजे

आजका समाचार : एमालेबाट निकालिए भीम रावल, सरकारसँग सभामुखको गुनासो र कजाकस्तानमा खस्यो जहाज

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित नेकपा एमालेले पूर्वउपाध्यक्ष

एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन्

काठमाडौं- मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय भवन बनाउन

‘जिग्री‘को निर्देशन रहेको ‘लाज शरमण्’ विदेशमा दुई मितिमा प्रदर्शन हुने

काठमाडौं – सिरियल ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज

एमालेले पाँच बुँदामा सुनायो सरकारका पाँच महिने उपलब्धि

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको

यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर

काठमाडौं – फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो