अडियो सुन्नुहोस्ः
पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताहरूलाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपिल गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा थपलियाले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरे । स्थानीय तहको भोलि हुने निर्वाचनलाई उत्सवका रूपमा ग्रहण गरी सहभागी हुन थपलियाले अपिल गरे । स्थानीय तह निर्वाचनका सरोकारवाला सबैलाई आग्रह गर्दै थपलियाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
नागरिकको अधिकारको पूर्ण सम्मान र संरक्षणका लागि सरोकारवाला निकायसँग मानवअधिकार आयोगको अपिल
राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई नागरिकको अधिकारको पूर्ण सम्मान र संरक्षणका लागि सरोकारवाला निकायसँग अपिल गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनलाई विश्वसनीय बनाउन मतदातालाई निर्भयतापूर्वक मतदान गर्ने वातावरण निर्माण गर्नु आवश्यक भएकाले निर्वाचनमा सबै पक्षको सहभागिताको सुनिश्चितता गराउन पनि आयोगले आग्रह गरेको छ ।पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तप बहादुर मगरले निर्वाचन आयोगबाट जारी भएको आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गराउन, दृष्टिविहीन तथा अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, सुत्केरी लगायतलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न आयोगसँग अनुरोध गरे ।
धाक धम्की र प्रलोभनमा नपरी असल र योग्य उम्मेदवारलाई भोट दिन सभामुखको आग्रह
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भोलि हुने स्थानीय तह निर्वाचनमा कसैको धाक धम्की र प्रलोभनमा नपरी असल र योग्य उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् । । सापकोटाले एक भिडियो सन्देश दिँदै सबै काम छोडेर मतदान गर्न आग्रह गरे । त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वैशाख ३० गते हुने निर्वाचनमा मतदान केन्द्रमा गई सबैले मतदान गर्न आग्रह गरेका छन् । सभामुख सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने छन् ।
मौन अवधिमा प्रचार गरेको भन्दै दाहाललाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । आज माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी मत मागेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । पत्र प्राप्त भएको समयले ८ घण्टाभित्र आयोगमा लिखित जवाफ पेस गर्न पनि आयोगले दाहाललाई अनुरोध गरेको छ । यसअघि पनि आयोगले दाहाललाई आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । त्यस्तै आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पुष्पकमल दाहालकी छोरी गंगा दाहाललाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख, चितवनका सीडीओ र एसपीलाई सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख‚ चितवनका सीडीओ र एसपीलाई स्पष्टीकरण सोधेको छ । आज आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण सोधेको हो । आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको छ । दाहाल भरतपुर पुग्दा प्रहरी स्कर्टिङलगायत सुरक्षा उपलब्ध गराउन आदेश भएको÷नभएको‚ दाहालले चुनावी प्रचार गरिरहँदा त्यसलाई रोक्न आदेश दिएको/नदिएकोबारे स्पष्टीकरणमा सोधिएको छ । त्यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई पनि मौन अवधिमा माओवादी अध्यक्ष दाहाल भरतपुर आएको विषयमा स्पष्टीकरण सोधेको छ । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुजा सिंहलाई पनि सोही विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।
दाहाल र ४ मन्त्रीविरुद्ध आचारसंहिता मिचेको उजुरी दरपीठ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जना मन्त्रीविरुद्ध आचारसंहिता मिचेको भन्दै परेको उजुरी दरपीठ भएको छ। नेकपा एमालेका कार्यकर्ता भरतपुर–१२ का अश्विन घिमिरेले माओवादी अध्यक्ष दाहाल, संघीय सरकारका महिला बालबालिकामन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए। उजुरीमा मौन अवधिमा आचारसंहिता मिचेर सरकारी सवारीसाधन दुरुपयोग गरी भरतपुर महानगरपालिका र माडी नगरपालिकामा मतदाताको घरघरमा पुगी प्रभाव पार्ने काम गरेको उल्लेख गरिएको छ। मुख्य निर्वाचन कार्यालयले भने आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण नभएकाले उजुरी दरपीठ गरेको जनाएको छ।
मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले आज विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासबिना आवतजावत गर्ने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको हो । साथै सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
स्थानीय निर्वाचनका लागि अfज पनि घर फर्कने सर्वासाधारणहरूको भिड
शुक्रबार हुने स्थानीय निर्वाचनका लागि बिहीबार पनि घर फर्कने सर्वासाधारणहरूको भिड देखिएको छ ।स्थानीय चुनावका लागि पछिल्लो एक हप्तायता काठमाडौं छाड्नेको संख्या ५ लाख नाघेको ट्राफिक प्रहरीले जनाएको छ । भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकामा चहलपहल कम भएको छ । पछिल्लो समयमा अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमासमेत गइरहेका देखिएका छन् । मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिबार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरू केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका छन् ।
माधव नेपालको मुद्दा फेरि ’हेर्न नभ्याइने’ सूचीमा
सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ’हेर्न नभ्याइने’ सूचीमा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो। यसअघि १० चैत २०७८ मा पनि रिटको सुनुवाइ ’हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । नेपालले एमाले वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा रिट दायर गरेका थिए ।
सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित
नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । भट्ट पक्षका कानुन व्यवसायबाट सुनुवाइ स्थगित भएको हो । रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो । उहाँले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गर्नुभएको छ । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । १८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो ।
सर्वाेच्चसहित देशभरका अदालत जेठ २ गतेसम्म बन्द रहने
पालिका तहको चुनाव र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आउँदो जेठ २ गतेसम्म बन्द हुने भएको छ । यही वैशाख ३० गतेदेखि आउँदो जेठ ४ गतेसम्म पालिका चुनाव एवम् सार्वजनिक बिदा परि लगातार चार दिन अदालत बन्द रहने सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले आज जारी गरेको सूचनामा उल्लेख छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम आउँदो जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाइएको छ ।
आफ्नो चरित्र हत्या गर्न एमाले नेता लागेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीको आरोप
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न पैसा बाँडेको आरोप लगाएका छन् । अन्सारीमाथि जनकपुरमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको थियो । त्यसको खण्डन गर्दै अन्सारीले एमालेका नेताहरू नै आफ्नो चरित्र हत्या गर्न लागिपरेको बताएका छन् । जनकपुरमा पैसा बाँडेको आरोप लागेपछि उनी आज साढे १२ बजेको फ्लाइटमार्फत काठमाडौँ आएका थिए । काठमाडौँमा आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै अन्सारीले एमाले नेता रघुवीर महासेठ र जुली महतो आफ्नो चरित्र हत्या गर्न लागेको आरोप लगाए ।
प्रावि तह शिक्षकको नतिजा सार्वजनिक
शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले १९ चैतमा १३ हजार २९७ रिक्त पदका लागि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ६ जेठसम्म २५० रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सक्ने आयोगले जनाएको छ । आयोगले प्रावि तह तृतीय श्रेणीको विषयगत परीक्षा १३ असारमा सञ्चालन गर्ने भएको छ । आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।
काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकियो
शुक्रबार हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् । वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्रमा ३६३ वटा मतदानस्थल छन् ।
भरतपुरमा जगन्नाथतिर खुलेपछि कांग्रेसका पूर्वसांसद भीमबहादुरसहित ५ जना निलम्बित
नेपाली कांग्रेसले भरतपुरमा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै पार्टीबाट निलम्बन गरेको बताएका छन् । कारवाही पर्नेमा भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरूण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ का क्रियाशील सदस्य डा. केशव पौडेल छन्।
दोहोरो अंकले घट्यो सेयर बजार
लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ । निर्वाचन अगाडि आज अन्तिम दिन कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सरकारले साताको दुई दिन बिदा दिएपछि अब आइतबार समेत बजार खुल्ने छैन । सोमबार सार्वजनिक बिदा परेका कारण बजार मंगलबार मात्र खुल्ने भएको हो । बिहीबार उत्पादन तथा प्रशोधन र अन्य उप समूहमात्र हरियो भयो । अन्य उपसमूह भने राताम्य रह्यो । यस दिन सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाए । बिहीबार कुल २२८ कम्पनीको कारोबार भएको थियो । यस दिन कुल ४० हजार २३ वटा कारोबारबाट ५२ लाख २७ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ ।
बुद्ध एयरले आइतबारदेखि रात्रिकालीन उडान भर्ने
बुद्ध एयरले आइतबारदेखि विभिन्न गन्तव्यहरूमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ । रात्रिकालीन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी उडानका समयहरू राति ८ बजेपछिका मात्र हुनेछन् । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको बुद्ध एयरले जनाएको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरको दाबी छ । रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।बुद्ध एयरले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा त्यहाँको प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक यातायात सुविधाको लागि अनुरोध गरेको छ ।
गाउँपालिका अध्यक्षका उम्मेदवारमाथि आक्रमण, पाँच घाइते
बागलुङको बडिगाड गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा सात युवा घाइते भएका छन्। मौन अवधिका वेला गएराति बडिगाड–५ मा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजन पाइजा, निमेष आचार्य, किरण सुनार र गठबन्धनका पाँच कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले सुरेश बुढाथोकी र सन्दीप थापालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले हँसिया, घन, रड लगायतका हतियार पनि नियन्त्रणमा लिएको जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ६३ पीसीआर परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १८ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सफा हिमाल अभियान टोलीले गर्यो सगरमाथा र ल्होत्सेको आरोहण
सफा हिमाल अभियान २०२२ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ। नेपाली सेनाका सह–सेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। आज बिहान ७ बजेर ५२ मिनेटमा कार्की र न्यौपानेले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको नेपाली सेनाले जनाएको छ।नेपाली सेनाका सह–सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेका छन्।
एम्बुलेन्स र गाडी ठोक्किँदा सल्यानका सांसदसहित १० घाइते
राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइने भएका छन् । सल्यानबाट दाङतर्फ आउँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेका गाडी दाङबाट सल्यान जाँदै गरेको एम्बुलेन्ससँग शुक्रबार दिउँसो ठोक्किएको हो । सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।
नेपाल–भारत सीमानाका जमुनाहा सुनसान
नेपाल–भारत सीमानाका जमुनाहा यति वेला सुनसान छ । मंगलबार मध्यरातबाट बन्द भएको नेपाल भारत सिमानाका आवतजावतमा रोक लगाएपछि सुनसान देखिएको हो । नेपालमा शुक्रवार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । । उनले नेपाल–भारत नाका ३० बैशाख गते राती १२ बजेपछि संचालनमा आउने बताए । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द हुने उनले बताए ।
प्रतिक्रिया