विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

भारतमा चारतले भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

चार तले भवनमा भएको आगलागीमा परी अरु १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ । आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेको घटनास्थलमा खटिएका अग्नि नियन्त्रण विभागका सतपाल भारद्वाजले बताए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको जनाइएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ । सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेको हिन्दुस्तान टाइम्सले जनाएको छ । नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रत्येक मृतकका परिवारलाई जनही २ लाख भारु दिने मोदीको घोषणा छ ।

ज्वरोका कारण उत्तर कोरियामा थप २१ जनाको मृत्यु

ज्वरोका कारण उत्तर कोरियामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै उत्तर कोरियामा कोभिड १९ को लक्षणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । यद्यपि मृत्यु भएकाहरुमध्ये कतिलाई कोरोना भाइरसको संक्रमण थियो भन्ने स्पष्ट नरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

यसअघि शुक्रबार उत्तर कोरियाले पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको थियो । यसबाहेक उत्तर कोरियाले १ लाख ७४ हजारभन्दा धेरैमा ज्वरोको लक्षण देखा परेको जनाएको छ । उत्तर कोरियाले दुई दिनअघि मात्रै आफ्नो मुलुकमा कोरोना भाइरसका प्रथम संक्रमित फेला परेको जनाएको थियो । त्यसयता मुलुकमा लकडाउन घोषणा गरिएको छ । त्यहाँ अप्रिल महिनाको अन्त्यदेखि कोरोना भाइरसको प्रकोप देखिएको एपीले जनाएको छ ।

उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएका अनुसार मुलुकमा २ लाख ४३ हजार ६ सय ६० जना निको भएका छन् भने २ लाख ८० हजार ८ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भाइरससँग जुध्ने रणनीतिबारे शनिबार आयोजित बैठकमा मुलुकमा जारी प्रकोपलाई ऐतिहासिक रुपमा ‘ठूलो बिघ्न’ भनी टिप्पणी गरेको जनाइएको छ । उनले मुलुकमा प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि सरकार र जनता एक हुनुपर्ने समेत बताए ।

उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न नसकेको खण्डमा ठूलो क्षति हुने जोखिम रहेको बताइन्छ । कमजोर स्वास्थ्य संरचना र २ करोड ६० लाख जनसंख्यामध्ये अधिकांशले कोरोना भाइरस विरुद्ध खोप नलगाएका कारण उत्तर कोरियामा तीव्र गतिमा भाइरस फैलिने चिन्ता रहेको एपीले जनाएको छ ।

देशको अवस्था अझ बिग्रिनसक्ने श्रीलंकाका नयाँ प्रधानमन्त्रीको भनाइ

श्रीलकंका नयाँ प्रधानमन्त्री रणिल विक्रमासिंघेले देशमा जारी आर्थिक संकट सुध्रिनुअघि अझ खराब हुने बताएका छन् ।

बीबीसीसँग बोल्दै प्रधानमन्त्री विक्रमासिंघेले श्रीलकंकाको अवस्था अझ खराब हुनसक्ने बताएका हुन् । नयाँ प्रधानमन्त्रीले श्रीलकंकाको अर्थतन्त्र ‘छिन्नभिन्न’ भएको भनी व्याख्या गरेको बीबीसीले जनाएको छ । तर उनले श्रीलंककालीहरुलाई संयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउने सन्देश दिन चाहेको बताए ।

विश्वलाई थप आर्थिक सहायताको अपिल गर्दै उनले भने ‘हामी खानेकुरा खोज्छौँ भोक संकट हुनेछैन ।’ श्रीलकंकामा आर्थिक संकट तथा यसबाट सिर्जित अत्यावश्यक वस्तुको अभावका कारण केही श्रीलकंकाहरूको दुई छाक खानामा समेत असर परेको बीबीसीले जनाएको छ ।

संकटको व्यवस्थापन गर्न नसकेपछि सरकारको विरोधमा श्रीलकंकाभर हिंसात्मक प्रदर्शनहरु भएका थिए । प्रदर्शन शान्त पार्न रणिल विक्रमसिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । प्रधानमन्त्रीका रूपमा उनको यो छैटौँ कार्यकाल हो । विक्रमसिंघेलाई राष्ट्रपति गोटाबय राजपक्षले बिहीबार शपथ गराएका थिए । यद्यपि उनको नियुक्तिलाई संशयका रूपमा हेरिएको छ किनभने उनी राजनीतिक रूपमा प्रभुत्व रहेका राजपक्ष परिवारसँग निकै निकटस्थ रूपमा हेरिने गरिएको छ ।

तर, बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले ‘आफूले राजपक्ष सरकारका सबै नीतिहरू परिवर्तन गर्ने’ बताएका छन् ।

खार्किभको युद्धमा युक्रेनी फौज ‘विजय भएजस्तो देखिएको’ युद्ध अध्ययन संस्थाको प्रतिवेदन

जारी रुसी आक्रमणका क्रममा युक्रेनी फौज खार्किभ शहरको युद्धमा ‘विजयी भएजस्तो देखिएको’ एउटा युद्ध अध्ययन संस्थाले जनाएको छ ।

युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले जारी गरेको प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको छ । रुसले सो क्षेत्रमा आफ्ना सैनिकको स्थानमा भाडाका लडाकु र साझेदार देशका फौजलाई खटाइएको समेत प्रतिवेदनमा उल्लेख छ ।

‘त्यसैले युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ । ’प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ । रुसी फौजले शहरलाई रुसी कब्जामा जान मात्रै नभइ घेराबन्दीमा पार्नबाट समेत जोगाएको इन्स्टिच्युटले जनाएको छ । केही अपवादबाहेक धेरैजसो मोर्चामा रुसी फौजले युक्रेनी सेनाको प्रत्याक्रमणको सामना गर्ने प्रयत्न समेत नगरेको प्रतिवेदनमा उल्लेख छ । हाल युक्रेनी फौजको नियन्त्रण खार्किभभन्दा ४० किलोमिटर पूर्वमा रहेको सिभेर्स्की डोनेट्स नदीसम्म रहेको गार्जियनले जनाएको छ । रूसी फौजले खार्किभमा पराजय भोगेको खण्डमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध लक्ष्यमा ठूलो धक्का लाग्ने टिप्पणी गरिएको छ ।

रुसी भाषीको बाक्लो बसोबास रहेको तथा रूसी सीमाबाट केबल ५० किलोमिटरको दूरीमा रहेको खार्किभ शहरमा रुसी सैनिकले सहजै कब्जा गर्ने अनुमान गरिएको थियो ।

न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

महामारीको सफल व्यवस्थापन गरी ख्याति कमाएको मुलुक न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोनाको संक्रमण देखिएको न्युजिल्याण्डको न्युजिल्याण्ड हेराल्ड अखबारको अनलाइन संस्करणले जनाएको छ । शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै आइसोलेसनमा बस्ने जानकारी पनि गराएकी छिन् । उनले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताइन् । प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।

युक्रेनी आक्रमणमा रुसी सेनाको ‘बटालियन’ ध्वस्त

पूर्वी युक्रेनमा रुसी फौजले नदी तर्ने क्रममा युक्रेनी सेनाले आक्रमण गर्दा रुसी सेनाको एउटा एकाइ नै ध्वस्त भएको छ । युक्रेनी फौजको प्रत्याक्रमणमा रुसी सेनाको ‘बटालियन’ एकाइ ध्वस्त भएको युक्रेनी सुरक्षा अधिकारीले जनाएका छन् ।

ठूलो नतिजा हासिल गर्नुपर्ने दबाबबीच रुसी फौजले अस्थायी पुलमार्फत् नदी पार गर्ने जोखिमपूर्ण कदम चालेसँगै युक्रेनी फौजको निशानामा परेका थिए । सेभेरोडोनेट्स्क शहरको पश्चिमा पर्ने सिभेस्र्की डोनेट्स नदी तर्ने क्रममा रुसी फौज युक्रेनी सेनाको आक्रमणमा परेको स्काई न्युजले जनाएको छ ।

युक्रेनी पक्षले जारी गरेको भिडियोमा धेरै सैनिक उपकरण तथा सैनिक सवारी साधनहरु जलेर नष्ट भएको देखिन्छ । बेलायती रक्षा मन्त्रालयले बताएअनुसार यस आक्रमणमा रुसले झण्डै ‘बटालियन’ आकारको सैन्य एकाइ गुमाएको छ । रुसी फौजको एक ‘बटालियन’ सैन्य एकाईमा ७ देखि ८ सय सैनिक रहने गर्छन् । रुसी फौजले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै हाल पूर्वी युक्रेनमा भीषण लडाईंहरु भइरहेका छन् ।

पछिल्लो समय युक्रेनी सेनाले रुसी फौज विरुद्ध प्रत्याक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसद्वारा फिनल्याण्डटर्फ विद्युत आपूति बन्द

रुसले फिनल्याण्डतर्फ विद्युत आपूर्ति बन्द गरिदिएको छ । रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको जनाएको छ । कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू उत्पन्न भएका थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको रुसको तास समाचार एजेन्सीले जनाएको छ ।

फिनल्याण्डको राष्ट्रिय विद्युत प्रसारण ग्रिड अपरेटर फिनग्रिडले पनि एक तथ्यांकनमा सो कुराको पुष्टि गरेको छ । कम्पनीका अनुसार बजारमा बेचेको बिजुलीको भुक्तानी प्राप्त गर्न समस्या भएका कारण रूसबाट आयात गरिएको बिजुलीको थप बिक्री अर्को सूचना नभएसम्म रोकिनेछ । धेरै वर्षदेखि रूसबाट फिनल्याण्डमा बिजुली आयात हुँदै आएको छ । ‘यो अवस्था असाधारण छ र हाम्रो व्यापारिक इतिहासको बीस वर्षमा पहिलो पटक भएको हो’ कम्पनीले भन्यो ।

रुस र फिनल्याण्डबीच १ हजार ३ सय किलोमिटर लामो सीमा जोडिन्छ । आइतबारमात्र फिनल्याण्डले नेटोमा सदस्यताका लागि आवेदनको औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने विषय रुसबाट विद्युत् आपूर्तिसँग नजोडिएको तास समाचार संस्थाले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय कोरोना भाइरस सङ्क्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

यससँगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेको थियो । यद्यपी गत मंगलबारबाट कोरोना भाइरसका संक्रमितको सङ्ख्यामा केही कमी आएको देखिएको छ । यसका साथै भारतमा २४ घण्टाको समयमा महामारीका कारण थप ११ जनाको मृत्यु भएको जनाइएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार २ सय १ पुगेको छ ।

भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ९६ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टाको समयावधीमा ३ हजार ३ सय ५५ कोरोना संक्रमित निको भएका छन् ।

यसैसँगै भारतमा हालसम्म ४ करोड २५ लाख ७६ हजार ८ सय १५ जनालाई कोरोना सङ्क्रमण निको भएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३२ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म