विश्वभर आज: नाइजेरियाको चर्चमा बन्दुकधारीको आक्रमण, श्रीलङ्काको अदालतद्वारा रुसी विमानलाई उडान अनुमति | Khabarhub Khabarhub

विश्वभर आज: नाइजेरियाको चर्चमा बन्दुकधारीको आक्रमण, श्रीलङ्काको अदालतद्वारा रुसी विमानलाई उडान अनुमति


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया– अफ्रिकी मुलुक नाइजेरियाको दक्षिण पश्चिममा रहेका क्याथोलिक चर्चमा बन्दुकधारीहरुले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ ।

बन्दुकधारीको आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस जेभियर क्याथोलिक चर्चमा आक्रमण भएको हो । आक्रमणमा नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहको हात रहेको अनुमान गरिएको छ ।

यस्ता उग्रवादी समूहले सो क्षेत्रमा पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि हालसम्म आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन ।

राज्यको गभर्नर कार्यालयका प्रवक्ता रिचार्ड ओलाटुन्डेले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएअनुसार चर्चमा उपस्थित मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणअघि चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उपराष्ट्रपति यमी ओसिनबाजो केही घाइतेलाई भेट्न अस्पताल पुगेका एएफपीले जनाएको छ ।

राज्य सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सात दिने शोकको घोषणा गरेको छ । नाइजेरियाको मेडिकल एसोसिएसन (एनएमए) ले पनि स्थानीयहरुलाई घाइतेका लागि रक्तदान गर्न अपिल गरेको थियो ।

एक जना प्रत्यक्षदर्शीले एएफपीसँग चर्चको परिसरमा कम्तीमा पनि पाँच जना बन्दुकधारी देखेको बताए ।

आफ्नो नाउँ अबायोमी बताउने उनले एएफपीलाई भने, ‘चर्चभित्र ठूलो विस्फोट र गोली हानाहान भएको सुन्दा म नजिकैबाट गन्तव्यतिर लम्किरहेको थिएँ । आक्रमण सुनेपछि चर्चमा पुग्दा त्यहाँ सुरक्षाकर्मी पुगेको र घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी भइरहेको थियो ।’

घटनापछि आक्रमणकारी त्यहाँबाट फरार भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नाइजेरियामा भएको आक्रमणको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराधमा संलग्न नहुन भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेका छन् ।

सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । महासचिव गुटरेसले विज्ञप्ति जारी गर्दै यस्ता कार्य मानवीय अपराध भएको भन्दै आगामी दिनमा यस्ता हिंसात्मक कार्य कसैले पनि दोहो¥याउन नहुने बताएका हुन् ।

श्रीलङ्काको अदालतद्वारा रुसी विमानलाई उडान अनुमति

श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेश खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्नेभएको छ ।

श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश जारी गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडानको अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगेर राखिएको थियो ।

उक्त रूसी विमानले आयरल्याण्डको सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेड नामक संस्थालाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको थियो ।

विमानलाई उडान अनुमति नदिएपछि श्रीलङ्का र रूसबीच कुटनीतिक तनाब बढेको थियो । यस सम्बन्धमा रूसले शुक्रबार मस्कोस्थित श्रीलङ्काका विशेष दूतलाई रूसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो ।

बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने संस्था र उड्डयन सेवाले यो विवाद ‘केबल व्यावसायिक प्रकृतिको’ भएको र यसमा राज्यको हस्तक्षेप हुननहुने बताएको थियो ।

तर सोमबार सरकारी महान्यायधिवक्ताले उक्त मुद्दाको सुनुवाइ तालिकाभन्दा दुई दिनअघि विमानलाई उडान अनुमति दिने व्यवस्था मिलाउन गरेको निर्देशनपछि अदालतले यो आदेश जारी गरेको हो ।

मस्कोले युक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले आफ्ना सबै अन्तरराष्ट्रिय उडानहरू निलम्बन गरकोे तर अर्को महिनादेखि कोलम्बोका लागि पुनः उडान परिचालन गर्न अनुमति दिइएको थियो ।

रूसको नागरिक उड्डयन निकायले रूस–युक्रेन युद्धका कारण विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई आउनसक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो कब्जाबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो ।

बेलायती प्रधानमन्त्रीलाई आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन् ।

जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् । बहुसंख्यक टोरी सांसदले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ५४ सांसदले उनले विश्वासको मत परीक्षण गर्नुपर्ने माग गरेका थिए ।

विश्वासको मत प्राप्तसँगै उनी अब एक वर्षका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने निश्चित भएको छ । कोभिड लकडाउनको समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा ‘रक्सी पार्टी’लाई लिएर प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीभित्रसमेत चर्को आलोचना भएको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री जोनसनले संसदमा बारम्बार क्षमायाचना गरेका थिए ।

मतदानको दौडमा जोनसनको स्थिति खतरनाक देखिएको थियो किनकी धेरै कन्जरभेटिभ सांसदहरूले जोनसनलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन आह्वान गरेको पत्र बुझाएका थिए । प्रधानमन्त्रीको पदमा रहिरहन कम्तीमा १८० सांसदको समर्थन चाहिन्थ्यो । तर, मतदानमा उनले आवश्यकभन्दा धेरै सांसदहरूको समर्थन पाएका छन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो विश्वास मतको जितलाई ‘निर्णायक’ भनेर वर्णन गरेका छन् ।

डोमिनिकन रिपब्लिकका मन्त्रीको आफ्नै कार्यालयभित्र गोली हानी हत्या

डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए ।

उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आत्रलमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन् ।

ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाइदेखि सेवा गरेका थिए । एक ट्वीटमा राष्ट्रपति अबिनादरले ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् ।

सेभेरोडोनेत्सक र लिसिचान्स ‘मृत सहर’ मा परिणत भएको जेलेन्स्कीको टिप्पणी

डोनबास क्षेत्रको सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत सहर’ मा परिणत भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रूसी सेनाको हमलाका कारण सेभेरोडोनेत्स्क र लिसिचान्स्क ‘मृत शहर’ मा परिणत भएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् ।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले सेभेरोडोनेत्स्कलाई पुनः कब्जा गर्ने युक्रेनी सेनालाई ‘प्रत्येक अवसर’ भएको बताए ।

सेभेरोडोनेत्स्क डोनबास क्षेत्रको रणनीतिक रूपमा महत्वपूर्ण सहर हो, जहाँ रुसी सेनाले पछिल्ला दिनमा आफ्नो आक्रमणलाई केन्द्रित गरेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि क्रोधित हुँदै सुरक्षा परिषद्को बैठकबाट एक्कासी बाहिरिएका छन् । १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले विश्व खाद्य संकटलाई युक्रेनमाथि रुसी आक्रमणले अझ बढाएको आरोप लगाएपछि रुसी प्रतिनिधि भासिली नेबेन्जिया बैठकबाट एक्कासी बाहिरिएका थिए ।

बैठकका क्रममा माइकलले रुसी फौजले युक्रेनमा युद्ध अपराध एवम् मानवताविरोधी अपराध गरेको समेत आरोप लगाएका थिए । खासगरी रुसी फौजले यौन दुव्र्यवहारलाई हतियार बनाएको माइकलको आरोप थियो ।

यसअघि बैठकका क्रममा रुसी प्रतिनिधिले आफ्नो सम्बोधनका क्रममा रुसी सैनिकले यौन हिंसा गरेको आरोपलाई ‘बुँदागत रुपमा’ खण्डन गरेका थिए । रुसी सैनिकमाथि लगाइएका यस्ता आरोप ‘झुट’ रहेको उल्लेख गरेका थिए ।

सुरक्षा परिषद् कक्षबाट बाहिरिने क्रममा नेबेन्जियाले रोयटर्सलाई भने, ‘माइकल झुटहरु बाँड्न यहाँ आएकाले म यहाँ बस्न सक्दिनँ ।’

नेबेन्जिया बाहिरिने क्रममा माइकलले भनेका थिए, ‘तपाईले कक्ष छाड्न सक्नुहुन्छ सायद सत्य सुन्नुभन्दा त्यो निकै सजिलो कुरा हो ।’

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै विश्वभर खाद्यान्न, अन्न, तेलहन र मलको मूल्यमा वृद्धि भएको छ भने विभिन्न मुलुकहरुमा खाद्य संकट समेत देखिन थालेको बताइएको छ ।

रोयटर्सका अनुसार रुस र युक्रेनबाट विश्वमा झण्डै एक तिहाइ गहुँ निर्यात हुन्छ । यसबाहेक रुस विश्व बजारमा मलखादको महत्वपूर्ण आपूर्तिकर्ता र युक्रेन सूर्यमुखी तेल र अन्नको महत्वपूर्ण निर्यातक रहेको जनाइएको छ ।

‘रुसी महासंघका माननीय राजदूत, इमान्दा बनौँ, विकासशील मुलुकहरुविरुद्ध क्रमेलिनले खाद्यान्नको आपूर्तिलाई अदृश्य क्षेप्यास्त्रको रुपमा प्रयोग गरिरहेको छ ।’ माइकलले सुरक्षा परिषद्को बैठकमा उल्लेख गरेका थिए, ‘यो खाद्य संकटका लागि रुसमात्र जिम्मेवार छ ।’

बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित कन्टेनर डिपोमा लागेको आगो तीन दिनको प्रयासपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन् ।

डिपोमा भएको आगालागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । यसअघि घटनमा ४९ जनाको मृत्यु भएको अधिकारीले जनाएका थिए ।

यद्यपि केही मृतकको दोहोरो गणना भएको भन्दै मृतकको संख्या संशोधन गरी ४१ मा झारिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

डिपोले सुरक्षा मापदण्डको पालना नगरेको अधिकारीहरूले जनाएका छन् । शनिबार लागेको सो आगो निभेको स्थानमा धुँवा र जलेका कन्टेनर सामाजिक सञ्जालमा भाइरस भएका ड्रोन फुटेजमा देख्न सकिन्छ ।

अधिकारीहरूले आगलागीको कारण पत्ता लगाएका छैनन । तर, डिपोभित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारवाही गरिने बताएका छन् ।

दुई वर्षे अबोध बालकले खेलौना सम्झेर बन्दुकको ट्रिगर दबाउँदा पिताको मृत्यु

अमेरिकाको फ्लोरिडा राज्यस्थित ओर्लेण्डो सहर नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ ।

भुइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका उनका बाबु रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पु¥याएलगत्तै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले पत्रकार सम्मेलनमा बताए ।

उनका छोराले ग्लोक १९ नामक बन्दुकले आफ्ना पितामाथि गोली चलाएको अमेरिकी अखबार न्युयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

अधिकारीहरुले सुरुमा रेग्गीले आत्महत्या गरेको आशङ्का गरेका थिए । यद्यपि पछि मृतकका जेठा छोराले अनुसन्धान अधिकारीहरूलाई आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाडमा गोली लागेको बयान दिएका थिए । घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा रहेको बताइएको छ ।

पछिल्ला केही समययता अमेरिकामा विभिन्न गोलीकाण्डका घटनाबारे समाचार सार्वजनिक भइरहेका बेला अबोध बालकले बन्दुकलाई खेलौना सम्झेर आफ्नै पितामाथि गोली चलाएका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ५४ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आज बस्दैछ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं– नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका

सप्तकोशीमा पानीको सतह अति खतराको विन्दुमा

सुनसरी– सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको