आज जेठ २५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
इरानमा रेल दुर्घटना हुँदा १७ जनाको मृत्यु
इरानमा भएको रेल दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । मध्य इरानमा बुधबार मशहद र याजद सहरबीचको रहेको ताबासनजिकै रेल ट्रयाकबाट खस्दा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । घटनामा अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले जनाएको छ । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिएका छन् ।
इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताए । बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्रयाकबाट बाहिरिएका आपतकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।
मारिउपोलमा पक्राउ परेका १ हजार युक्रेनी सैनिकलाई रुस सारियो
युक्रेनको मारिउपोल सहरमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रुस सारिएको छ । रुसी समाचार संस्था इतरतासले सो जानकारी दिएको हो । यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन ।
आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिको ठूलो जटिलता सामना गर्न सक्ने बताएका छन् । यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाईट तस्बिरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पछिल्लो समयमा रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको छ । यसैबीच, नर्वेले युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता उपलब्ध गराएको छ । नर्वेको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनलाई थप २२ आधुनिक तोपखाना प्रणाली, पार्टपुर्जा, गोलावारुद र अन्य उपकरण पनि उपलब्ध गराएको जनाएको छ ।
‘सुरक्षाको कारण नर्वेजियन सरकारले केही समय पर्खेर यो अनुदानको सार्वजनिक घोषणा गरेको हो ।’ नर्वेजियन रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । युक्रेनलाई दिइने आगामी सहायताबारे टिप्पणी वा सार्वजनिक घोषणा नगर्ने समेत रक्षा मन्त्रालयले संकेत गरेको जनाइएको छ ।
गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग भारी हतियारको माग गर्दै आएको छ । रुसी आक्रमणको सुरुवाती समयमा युक्रेनलाई भारी एवम् आक्रामक हतियार उपलब्ध गराउन आनाकानी गरिरहेको अन्तर्राष्ट्रिय समुदायले पछिल्लो समय भने तोपखाना, चालहरहित हवाइ उपकरण (ड्रोन) जस्ता सैन्य सहायता उपलब्ध गराउन थालेका छन् । केही समयअघिमात्रै अमेरिकाले युक्रेनलाई अत्याधुनिक हवित्जर एम ७७७ तोपखाना प्रणाली सहयोग गरेको थियो । विशेष मार्गनिर्देशक यन्त्र जडित हजित्वर ७७७ तोपखाना प्रणालीको गोलाबारुदले गतिशील निशानामा पनि सटिक प्रहार गर्नसक्ने बताइन्छ ।
ऊर्जामन्त्री र अर्थमन्त्रीसहित रुसद्वारा ६१ अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध घोषणा
रूसले अमेरिकी ऊर्जामन्त्री र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१ अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।
रूसी राजनीतिक एवम् अन्य अधिकारीका साथै व्यापार प्रतिनिधिहरूविरुद्ध अमेरिकी प्रतिबन्धको बदलामा अमेरिकी नागरिकहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । विदेश मन्त्रालयले अग्रणी सैन्य–औद्योगिक निगमहरू, रेटिङ एजेन्सी, विमान र जहाज निर्माण कम्पनीका प्रमुखलगायत अमेरिकी नागरिकलाई प्रतिबन्धको सूचीमा समावेश गरेको जनाइएको छ ।
साथै रूसी साइबर हमला बारे दुर्भावनापूर्ण झुटा समाचार फैलाउनमा संलग्न अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूलाई पनि सूचीमा संलग्न गरिको रुसी विदेश मन्त्रालयले जनाएको छ । बुचालगायत युक्रेनका विभिन्न क्षेत्रमा रुसले गरेको भनिएको युद्ध अपराधको विरोधमा अमेरिकासहित औद्योगिक राष्ट्रहरूको समूह (जी सेभेन) र युरोपेली सङ्घ (ईयू) ले रुसमाथि गम्भीर आर्थिक प्रतिबन्ध लगाएको छ ।
युक्रेनमा गरेको कारबाहीमा रूसलाई जवाफदेही बनाउनका लागि अमेरिकाले मस्कोमाथि नयाँ लगानी प्रतिबन्धको पनि घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धमा रूसको सबैभन्दा ठूलो सरकारी र निजी बैंक, वित्तीय संस्था, राज्य–स्वामित्वका उद्यम र सरकारी अधिकारी तिनका परिवारका सदस्यलगायत परेका छन् । अमेरिकामा रूसीहरूको सम्पत्ति रोक्का र आर्थिक कारोबार पनि बन्द गरिएको छ ।
अल कायदाद्वारा भारतमा आक्रमणको धम्की
आतंककारी संगठन अल कायदाले भारतमा आक्रमणको धम्की दिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अल कायदाले भारतमा आक्रमणको धम्की दिएको हो । यो समूहले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्न अपिल गरेको भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । भारतीय उपमहाद्वीपमा अल कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको जनाइएको छ ।
६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको’ अल कायदाले जनाएको छ ।
१० दिनअघि भारतको एउटा समाचार च्यानलमा भाजपाकी प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको बताइएको छ । उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता नवीन कुमार जिन्दलले पनि पैगम्बरबारे विवादास्पद ट्वीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निकालिएको छ ।
सरकारले आफूलाई जेल हाल्न खोजेको इमरान खानको आरोप
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वास्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् । ‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस् ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उनले भने । वर्तमान सरकार विदेशी षडयन्त्रमार्फत शक्तिमा आएकोसमेत उनले दाबी गरे । ’नक्कली’ फर्स्ट इन्फरमेसन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन उनले आग्रह गरे ।
निर्वाचन घोषणा नहुन्जेलसम्म वास्तविक स्वतन्त्रताका लागि आन्दोलनमा होमिन पनि उनले समर्थकहरूलाई अनुरोध गरेका थिए । प्रधानमन्त्री शहबाज शरीफविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको प्रसङ्ग कोट्याउँदै पूर्वक्रिकेटरसमेत रहेका इमरानले अभियुक्त आफ्नै मुद्दामा न्यायाधीश बनेको आरोप लगाए ।
भारतमा ५ हजार २३३ नयाँ कोरोना सङ्क्रमित थपिए
भारतमा २४ घण्टाको समयावधिमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यसअघिको २४ घण्टामा भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो सङ्ख्या फेब्रुअरी १८ यताकै उच्च हो ।
सोमबार तुलना मङ्गलबार कोरोना सङ्क्रमणमा ४१ प्रतिशतले वृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको शून्य दशमलब शून्य ७ प्रतिशत भएको जनाइएको छ । सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधिमा तीन जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८ दशमलब ७२ प्रतिशत रहेको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ ।
उर्जा संकट बढेको भन्दै पाकिस्तानमा दुई दिन साप्ताहिक बिदा दिने तयारी
उर्जा संकट बढेको भन्दै पाकिस्तान सरकारले सातामा दुई दिन बिदा दिने योजनालाई पुनर्स्थापित गरेको छ । भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएअनुसार खर्च कटौतीको प्रयासस्वरूप पाकिस्तान सरकारले सातामा दुई दिन बिदा दिने योजना अघि ल्याएको हो । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिन नै शहबाज सरिफले गत अप्रिल १६ मा सार्वजनिक क्षेत्रका कार्यालयहरु शनिबार पनि खुला राख्न र साप्ताहिक बिदालाई आइतबार मात्र कायम राख्न निर्देशन दिएका थिए ।
यद्यपि उनको घोषणाको चौतर्फी आलोचना भएको बताइएको छ । यस घोषणाबाट क्रुद्ध बनेका सार्वजनिक क्षेत्रका कर्मचारीहरुले प्रदर्शनको आयोजना समेत गरेका थिए । ‘शनिबारको बिदा पुनर्स्थापित गरिएको छ । यो निकै चुनौतिपूर्ण समय हो र संकट नियन्त्रण गर्नका लागि यसो गर्न लागिएको हो ।’ पाकिस्तानी प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकपछि सूचनामन्त्री मरियम औरङजेबले भनिन् ।
सरकारले यसबाहेक सरकारी अधिकारीलाई दिइने पेट्रोलको कोटामा ४० प्रतिशतले कटौती गर्ने निर्णय समेत गरेको छ ।
विश्व बैंकले युक्रेनलाई थप १ दशमलब ५ अर्ब डलर सहयोग गर्ने
विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलव ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ । २४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण पूर्वाधारहरू ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध भइरहेको छ ।
नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ । ‘जारी युद्धका समयमा विश्व बैंकले युक्रेन र यहाँका मानिसका लागि निरन्तर सहयोग गरेको छ ’, बैंकका अध्यक्ष डेभिड मालपासले एक विज्ञप्तिमा भनेका छन् ।
विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान घटायो
युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ । “विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,” बैंकले आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ ।
कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा वृद्धिदर ५.७ प्रतिशतमा पुर्याएपछि यो गिरावट आएको हो । रुसको आक्रमण र मस्कोमा पश्चिमी प्रतिबन्धहरूले अनाज र तेलको मूल्य विश्वव्यापीरूपमा बढाएको छ । “युक्रेनमा युद्ध, चीनमा बन्दाबन्दी, आपूर्ति–शृङ्खला अवरोधहरू र मुद्रास्फीतिको जोखिमले वृद्धिलाई जटिल बनाइरहेको छ । धेरै देशहरूका लागि मन्दीबाट बच्न गाह्रो हुने,” विश्व बैंकका अध्यक्ष डेभिड मालपासले टिप्पणी गरेका छन् ।
प्रतिवेदनका अनुसार युद्धले कोभिड–१९ महामारीबाट हुने क्षतिलाई बढाउँदै छ, विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीलाई बढाउँदै छ जुन कमजोर वृद्धि र उच्च मुद्रास्फीतिको लामो अवधि बन्न सक्छ । “यसले मुद्रास्फीतिको जोखिम बढाउँ छ र मध्यम र न्यून आय भएका अर्थतन्त्रहरूका लागि सम्भावित हानिकारक परिणामहरूको पनि सँगसँगै लैजाने छ ।
प्रतिवेदनले सन् १९७० को दशकमा केही समानताहरू उल्लेख गरेको छ । तर त्यो अवधिको विपरीत अमेरिकी डलर बलियो छ र प्रमुख वित्तीय संस्थाहरू ठोस स्थितिमा छन् । साथै बैंकले मूल्य नियन्त्रण वा निर्यात प्रतिबन्धको साथ मुद्रास्फीति स्पाइक समाधान गर्ने प्रयास नगर्न चेतावनी दिएको छ । मालपासले “उत्पादनलाई प्रोत्साहन दिन र व्यापार प्रतिबन्धबाट बच्न जरुरी” रहेको पनि टिप्पणी गरेका छन् ।
प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १.२ अङ्कले घटाएर २.५ प्रतिशतमा पुर्याएको छ र चीनको लागि पूर्वानुमान ०.८ अङ्कले घटाएर असाधारण रूपमा न्यून ४.३ प्रतिशतमा झरेको छ । यसैबीच युरो क्षेत्रको प्रक्षेपण २.५ प्रतिशत र जापान १.७ प्रतिशतमा घटाइएको छ । साथै रुसको अर्थतन्त्र यस वर्ष ११.३ प्रतिशतले संकुचित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया