नयाँ भरतपुर २२० केभी सबस्टेसनको निर्माण ८० प्रतिशत सकियो « Khabarhub

नयाँ भरतपुर २२० केभी सबस्टेसनको निर्माण ८० प्रतिशत सकियो


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलो भोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । सबस्टेसन निर्माण दुई महिना भित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित सबस्टेसनका अधिकांश उपकरणहरू निर्माण स्थलमा ल्याइसकिएको छ । अब ती उपकरणहरूको जडान मात्र बाँकी छ । सबस्टेसनमा १६०/१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । पावर ट्रान्सफर्मरहरू राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मरहरू जडान गर्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन निर्माण स्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गरेका छन् । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सबस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिए।

आयोजना अन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । कोभिड–१९को महामारीका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना पनि नयाँ भरतपुर सबस्टेसनमा नै जोडिने छ ।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । यस प्याकेज अन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी) को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : २५ बजे

अण्डाको मूल्य फेरि बढ्यो

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका

इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा

दोहा – शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७