विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्

आज असार ६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

पूर्व छापामार नेता कोलम्बियाको नयाँ राष्ट्रपति निर्वाचित

वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित  भएका छन्  । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले यसबारे जानकारी दिएको हो । कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत प्राप्त गरेका छन् ।  

यो कूल खसेको मतको ५०.४४ प्रतिशत हुन आउँछ । यस्तै  हर्नान्डेजले १०,५७९,८०३ अर्थात् ४७.३१ प्रतिशत मत प्राप्त गरेका छन् ।  नवनिर्वाचित राष्ट्रपतिले ट्विटरमा भनेका छन्– यो ‘उत्सव’ को दिन हो । ‘पहिलो लोकप्रिय विजयको उत्सव मनाऔँ’ पेट्रोले लेखेका छन् । ‘यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो ।’

६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन् । उनी कुनै समय एम १९ नामक छापामार लडाकु समूहको नेता समेत रहेको टाइम्स म्यागजिनको अनलाइन संस्करणले जनाएको छ । उनले अगस्ट ७ का दिन राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो ।

रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले संसदीय निर्वाचनमा गुमाए पूर्ण बहुमत

नवगठित वामपन्थी गठबन्धन सरकारले बहुमत प्राप्त गरेपछि फ्रान्सेली मतदाताहरूले पुनः निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोँलाई पूर्ण बहुमतले अस्वीकार गरेका छन्। सोमबार बिहान घोषणा गरिएको नतिजाले फ्रान्सेली राजनीतिलाई उथलपुथल गरेको छ र कानून र अव्यवस्थित गठबन्धनको प्रश्न खडा गरेको टिप्पणी हुन लागेको छ।

यसअघि, म्याक्रोँको मध्यपन्थी गठबन्धन, एन्सेम्बल (एकसाथ), फ्रान्सको संसदीय चुनावको दोस्रो चरणमा जीन–लुक मेलन्चनको नयाँ लोकप्रिय पर्यावरणवादी र सामाजिक संघ (नुप्स) भन्दा अगाडि रहेको सीएनएनले आन्तरिक मन्त्रालयले जारी गरेको नतिजालाई उद्धृत गर्दै जनाएको छ। नतिजा अनुसार म्याक्रोँले कुल ५७७ मध्ये २४५ प्राप्त गरेका छन् । यद्यपि यो अझै पनि फ्रान्सको तल्लो सदन राष्ट्रिय सभामा पूर्ण बहुमतको लागि  २८९ सिटको थ्रेसहोल्ड भन्दा कम छ।

नुप्स १३१ सिटका साथ दोस्रो स्थानमा आएको छ  र देशमा बलियो प्रमुख प्रतिपक्ष बनेको छ । यद्यपि गठबन्धन संसद्मा एक पटक केही मुद्दाहरूमा विभाजित हुने अपेक्षा गरिएको पनि  आन्तरिक मन्त्रालयको नतिजाले बताएको छ । ‘राष्ट्रपतिको दलको पतन  निश्चित छ र कुनै बहुमत प्रस्तुत गरिएको छैन,’ मेलेनचोनले प्रारम्भिक परिणामहरूमा टिप्पणी गर्दै साँझ  भनेका छन् । ‘हामीले आफूले निर्धारण गरेको राजनीतिक उद्देश्य एक महिनाभन्दा कम समयमै हासिल गरेका छौँ ।’

राजनीतिक स्पेक्ट्रमको अर्को छेउमा मारिनले पेनको अति दक्षिणपन्थी राष्ट्रिय र्याली पार्टीले यसबीचमा रेकर्ड ८९ सिट जितेर तेस्रो स्थानमा पुगेको छ । नयाँ नतिजा पछि, म्याक्रोँ २००० को चुनावी सुधारपछि संसदीय बहुमत हासिल नगर्ने पहिलो वर्तमान फ्रान्सेली राष्ट्रपति बनेका छन् ।  यो एक अभूतपूर्व अवस्था हो,’ फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नले भनिन् । ‘पाँचौँ गणतन्त्र अन्तर्गत राष्ट्रियसभामा यस्तो पहिले कहिल्यै भएको थिएन,’ उनले बताइन्।

‘भोलिसम्म हामी कार्यमुखी बहुमत निर्माणमा काम गर्नेछौँ, हाम्रो देशको स्थिरताको ग्यारेन्टी गर्न र आवश्यक सुधारहरू लागू गर्न त्यो गठबन्धनको विकल्प छैन,’ फ्रान्सेली प्रधानमन्त्रीले भनिन् ।

अस्वभाविक मूल्य वृद्धिका कारण दक्षिण एसिया प्रभावित

इन्धनमा भएको अस्वाभाविक मूल्य वृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् ।  श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ । पछिल्लो समयमा पाकिस्तान र बंगलादेशमा उर्जा संकट देखिएको छ । विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबीच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन् । जसअनुसार बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न अधिकारीहरूलाई आदेश दिएको छ ।

प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ ।

पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ । पाकिस्तान सरकारले तोकेको सीमा लामो समयसम्म विद्युत् कटौतीबिच ऊर्जा संरक्षण गर्न सरकारले घोषणा गरेका उपायहरूको एउटा हिस्सा हो । ताप  लहरका कारण पछिल्लो समय पाकिस्तानमा ऊर्जा अभाव बढेको छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेल मार्चमा मूल्य १२४ डलरमा उक्लिएको थियो । अहिले प्रति ब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।

इराकमा हवाई हमलामा इस्लामिक स्टेटका ४ लडाकु मारिए

पश्चिमी इराकमा भएको हवाई हमलामा इस्लामिक स्टेट (आईएस) समूहका अन्बर प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ । इराकी सशस्त्र सेनाले राजधानी बगदादबाट करिब ३९० किलोमिटर पश्चिममा रुतबा शहर नजिकैको मरुभूमि क्षेत्रमा अन्बरमा अबु मन्सुर उपनाम दिएका आईएस नेता र अन्य तीन जना लडाकुहरूलाई बोकेको ट्रकमा आक्रमण गरेका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सेनाले पछि लक्षित स्थानमा खोजी गर्दा चार शव, एक ध्वस्त ट्रक, दुई विस्फोटक बेल्ट, दुई राइफल र एक पेस्तोल फेला पारेको थियो ।’ मारिएका लडाकु नेता अबु मन्सुर इराकको अल–रुत्बा क्षेत्रमा बगदाद–अम्मान अन्तर्राष्ट्रिय सडकमा नागरिकहरूलाई लक्षित गर्दै आक्रमण गर्ने जिम्मेवार व्यक्तिहरू मध्ये एक रहेको बताइएको छ । उनले इराक र सिरियामा आईएस समूहमा धेरै पदहरू सम्हालेका मन्त्रालयको गुप्तचर सेवाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

इराकी सुरक्षा बलहरूले विगत केही महिनादेखि आइएस लडाकुहरूका तीब्र गतिविधिहरूलाई रोक्न लडिरहेका छन् । सन् २०१७ मा आईएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ। यद्यपि, आईएसका अवशेषहरू शहरी केन्द्रहरू, मरुभूमि र अन्य क्षेत्रहरूमा छिटफुट मात्रामा छन् र सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् ।

अमेरिकामा फेरि गोलिकाण्ड

अमेरिकाको वासिङ्टन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ। ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने।

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिङ्टन डीसीको संस्कृति प्रवर्द्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो ।

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।

भारतमा अग्निपथ योजनाको विरोध

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ ।

योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकाश पाउने छन् । योजनालाई लिएर केही दिनदेखि भारतमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । युवाहरूको विरोधबीच सरकारले योजना फिर्ता नगर्ने बताउँदै आएको छ । रक्षा खर्च कटौती गर्ने बाहनामा सरकारले लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीले बताउँदै आएका छन् । सरकारले ल्याएको योजनाको विरोधमा आन्दोलनकारीले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् । त्यस्तै, करोडौँ मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका छन् ।

बिहारमा २५० रेलले आफ्नो सेवा रद्द गरेका छन् । आन्दोलनकारीले बिहारमा रेललाई निशाना बनाउँदै आएका छन् । बिहार सरकारले अतिसंवेदनशील मानिने पार्टी कार्यालयहरूमा सुरक्षा बढाएको छ । हालसम्म २० जिल्लामा इन्टरनेट सेवा बन्द छ ।  केरला प्रहरीले आफ्नो सम्पूर्ण बल आज हिंसा नियन्त्रणमा लगाउने जनाएको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार झारखण्डमा सोमबार स्कूलहरू बन्द गरिएका छन् । त्यहाँ कक्षा ९ र ११ को चलिरहेको परीक्षा पनि स्थगित गरिएका छन् । दिल्ली नजिकैको गौतम बुद्ध नगरमा ठूला जमघटहरूमा प्रतिबन्ध लगाउने निषेध आदेश लगाइएको छ । विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन् ।

युक्रेनमा रुसी संगीतमाथि प्रतिबन्ध लाग्ने
युक्रेनको संसद्ले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ ।
यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । यो प्रतिबन्ध सोभियत संघको पतनपछि सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएको संगीतसँग सम्बन्धित छ ।

तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुटको लागि निवेदन दिन सक्छन् । त्यस्तै रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि संसद्ले प्रतिबन्ध लगाएको छ । पूर्वी र दक्षिण युक्रेनका क्षेत्रहरूमा बसोबास गर्नेहरू मध्ये धेरैले ऐतिहासिक रूपमा रूससँग बलियो सम्बन्ध महसुस गरेका छन । त्यस क्षेत्रका प्रायः मानिसको पहिलो भाषा रुसी भाषा हो ।

तर, युक्रेनमा रुसी हमलाले धेरै युक्रेनीहरूलाई रुसी  संस्कृतिबाट अलग गर्न खोजेको छ । सांसदहरूले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटेल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

रुस युक्रेन युद्ध लामो समयसम्म चल्ने नेटो महासचिवको टिप्पणी
नेटोका महासचिवले रूस–युक्रेन युद्ध वर्षौँसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरूलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलाई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस–युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए ।

जोनसन र स्टोल्टेनबर्ग दुवैले धेरै हतियार पठाउँदा युक्रेनको जितको सम्भावना बढ्ने बताएको बीबीसीले उल्लेख गरेको छ । पश्चिमी देशहरूको सैन्य गठबन्धन नेटोका प्रमुखले युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्नाले डोनबासको क्षेत्रलाई स्वतन्त्र गराउने सम्भावना बढ्ने बताए । यस क्षेत्रको ठूलो भाग रुसको नियन्त्रणमा गएको छ ।

पछिल्लो केही महिनादेखि रूस र युक्रेनका सैनिक देशको पूर्वी क्षेत्रलाई आफ्नो पकड बलियो बनाउन लडिरहेका छन् ।

चरम आर्थिक सङ्कटबीच श्रीलङ्कामा एक साताका लागि विद्यालय बन्द
चरम आर्थिक सङ्कटबीच श्रीलङ्का सरकारले एक हप्ताका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको एक स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
श्रीलङ्काको शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै डेली मिररले लेखेको छ, ‘लामो समयसम्म विद्युत् कटौतीका कारण भएको असुविधाका कारण कोलम्बो शहरको सीमाका साथै अन्य प्रान्तका मुख्य शहरहरूका सबै सरकारी तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द रहनेछन् ।’

मन्त्रालयका सचिव निहाल रणसिङ्घेले भने, ‘विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गर्दै डिभिजन स्तरका विद्यालयहरूले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई यातायातको कठिनाइले असर नपर्ने अवस्थामा कम सङ्ख्यामा विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न पाइने बताउनुभएको छ ।’

उनले अनलाइन शिक्षण सुविधा दिन बिहान ८ बजेदेखि १ बजेसम्म विद्युत् कटौती नगर्न प्राधिकरणसँग सहमति भएको पनि बताए । पहिले मध्यम आय भएको देश श्रीलङ्का यस वर्षको मार्चदेखि सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक सङ्कटको चपेटामा परेको छ । कडा विरोधका कारण राजनीतिक अशान्ति उत्पन्न भएको छ । राष्ट्रपति गोताबाय राजपाक्षेका भाइ महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मे महिनामा रनिल विक्रमसिङ्हेलाई देशको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

मे महिनामा खाद्यान्नको मुद्रास्फीति ५७.४ प्रतिशत रहेको थियो भने प्रमुख खाद्य वस्तुहरूको अभावका साथसाथै खाना पकाउने, परिवहन र उद्योगको लागि इन्धनको अभाव व्यापक रहेको छ ।

दैनिक रूपमा विद्युतको अभाव भएको छ । उत्पादनका लागि आधारभूत आगतको उपलब्धता नपुगेको, सन् २०२२ मार्चदेखि मुद्राको ८० प्रतिशत मूल्यह्रासका साथै विदेशी सञ्चितिको अभाव र आफ्नो अन्तर्राष्ट्रिय ऋण दायित्व पूरा गर्न मुलुक असफल भएका कारण अर्थतन्त्र तीव्र संकुचनको अवस्थामा रहेको छ ।

सिङ्गापुरमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो

सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । सिंगापुरले थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो । यससँगै त्यहाँ कूल सङ्क्रमितको सङ्ख्या १३ लाख ६७ हजार ७६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन (एआरटी) परीक्षणद्वारा दुई हजार ९०१ व्यक्तिमा सङ्क्रमण पुष्टि गरिएको हो ।

पुष्टि भएकामध्ये करिब २९९ जना विदेशबाट सङ्क्रमित भइ आएका र बाँकी सबैमा सङ्क्रमित भएका बताइएको छ । हल्का लक्षणहरू भएका र कम जोखिम भएको आकलन गरिएका उनीहरूले चिकित्सकको सल्लाहमा उपचार सेवा लिइरहेका छन् । सङ्क्रमितमध्ये जटिल समस्या भेटिएका आठ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ ।

त्यहाँ कोभिड–१९ सङ्क्रमणका कारण थप एक जना बिरामीको मृत्यु भएको छ भने यससँगै कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : १२ बजे

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली– युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतंकवादी भारतको मणिपुर

‘धनी बन्न सिकाउने’ तीन पुस्तक

काठमाडौं – धनी बन्नु अधिकांशको चाहना र लक्ष्य हो ।

नौ लाख बराबरको भन्सार छलीका सामान बरामद

कैलाली– जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी

सोह्र श्राद्धका समयमा मुक्तिनाथमा दर्शनार्थी बढे

गण्डकी – प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा .केही दिनयता चहलपहल बढ्दै गएको

‘संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने’

काठमाडौं– पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा