'मिडिया, फिल्म, कथा हुँदै समृद्धि फाउण्डेसन जन्मिएको हो' | Khabarhub Khabarhub

‘मिडिया, फिल्म, कथा हुँदै समृद्धि फाउण्डेसन जन्मिएको हो’

'हिंसारहित समाज निर्माण गर्ने हो भने घरबाटै सुरुवात गर्नुपर्छ'


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आठ वर्ष अघिको बलात्कार घटना सार्वजनिक भएपछि बलात्कार जस्तो जघन्य अपराधमा उजुरी हदम्याद हटाउन सडकदेखि संसद्सम्म माग उठेको छ। चर्को रुपमा माग उठेपछि सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्यादका विषयमा कानुन आयोगलाई अध्ययन गर्ने जिम्मेवारी दिएको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले आयोगको प्रतिवेदन आएपछि कानुन सुधार गर्नेबारे निर्णय लिन सकिने बताएका छन्। आठ वर्ष अघिको घटनापछि अन्य थुप्रै बलात्कार र यौन दुर्व्यवहारका घटना पनि सार्वजनिक भएका छन्। यस्ता घटनामा पीडकलाई कारवाही र पीडितलाई न्यायको लागि समृद्धि फाउन्डेसन नेपालले पनि सशक्त रुपमा आवाज उठाउँदै आइरहेको छ। यसै विषयमा केन्द्रित रहेर सञ्चारकर्मी, फिल्म निर्देशक तथा सामाजिक अभियान्ता र समृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष संगीता श्रेष्ठसँग खबरहबका लागि यमुना रानाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंसँग सञ्चार क्षेत्रमै काम गरेको लामो अनुभव छ। त्यसपछि किताब लेख्नुभयो। म्युजिक भिडियो निर्देशन, हुँदै कथा काठमान्डु जस्तो सफल चलचित्र निर्देशनको अनुभव छ। यो सँगसँगै पछिल्लो समय सामाजिक अभियन्ताको रुपमा सक्रिय हुनुहुन्छ। कसरी यता मोडिनुभयो ?
मेरो यात्रा त रेडियोबाट नै सञ्चार क्षेत्रमा सुरु भएको हो। विशेषगरी इन्टरटेनमेन्ट प्रोग्राम गरिरहेकी थिएँ। टेलिभिजनमा पनि त्यही गरेँ। जब म्युजिक भिडियो निर्देशन सुरु गरेँ। चार पाँच मिनेटको म्युजिक भिडियोले पनि एउटा न एउटा कथा त बोकेको हुन्छ। कथातिर चाहिँ म त्यसरी तानिँदै गएँ। म्युजिक भिडियोमा कथा बनाउने क्रममा, सिरिज बनाउन थाले कथा प्रेमका नामको सिरिज बनाएँ। त्यसमा पनि कथामै काम गरेँ। पछि गएर जुन फिल्म निर्देशन गरेँ। त्यो पनि कथासँगै जोडिएको हो। यसरी कथालाई यसरी बुनिँदै जाँदाखेरि मैले जानी नजानी महिलाको कथा उठाउने गरेको रहेछु। मलाई साथीभाइले त्यसो भन्नुहुन्थ्यो। तिम्रो कथामा फिमेल सेन्टीमेन्ट्स, उनीहरूले भोग्नुपरेका समस्या, हिंसा धेरै पाइन्छ, तिम्रो कथा या भिडियोमा। त्यसले गर्दा मैले मेरा कामबाट नै त्यो बेलादेखि नै महिलाको समस्या उठाउँदै आएकी थिएँ। पछिल्लो समयमा हाम्रो देशमा जुन लेभलमा बलात्कार र यौन दुर्व्यवहारका घटना दैनिकजसो बाहिर आइरहेका छन्। त्यो कुराहरुले पनि मलाई हिट गरिराखेको थियो। योबीचमा मैले आइसक्रिम भन्ने छोटो फिल्म निर्माण गरेँ। र जहाँजहाँ यो देखाएँ। प्रदर्शन भए सबै ठाउँबाट राम्रो रेस्पोन्स र अवार्ड लिएर आयो। त्यो भइसकेपछि मलाई कस्तो रिअलाइज भयो भने हामी मिडिया पर्सन, हामी फिल्म मेकरले चाहेको खण्डमा यही माध्यमहरुबाट पनि बोल्न सक्ने रहोछौँ भन्ने रिअलाइज भयो। मलाई एकदम धेरै आफ्नो जिम्मेवारी फिल भयो। मैले यो जानेको छ भने। मैले यसैबाट किन नबोल्ने ? किनभने तपाईं हामी सबै आ–आफ्नो क्षेत्रमा छौँ। तर, चाहेको खण्डमा यो सबै क्षेत्रबाटै धेरै थोरै योगदान गरेर हिंसा रोक्न सक्ने रहेछौँ। र, मैले माध्यम फिल्मलाई चुज गरेँ। र काम गर्दै जाँदा धेरै जनाले मेरो कामलाई बुझ्नुभयो। विस्तारमै मलाई कलहरु आउन थाले। म समस्यामा परे, यो भयो भनेर, म यसरी पीडित भएर कल आउन थालेपछि। मैले उहाँहरुलाई मैलै मेरो पहुँचमा रहेका सम्बन्धित ठाँउहरुमा कनेक्ट गराइदिन थालेँ। त्यसैगरी काम गर्दै जानेक्रममा चाहिँ कस्तो फिल भयो भने। कतिपय अवस्थामा पीडितलाई अन्य ठाउँमा रिकमेन्ड गर्दाखेरी प्रक्रिया धेरै थरीको हुने। सो आफै किन नगर्ने ? आफै पनि महिला दिदीबहिनीको लागि केही गर्नै चाहेको छु भने त। आफै पनि अगाडि बढ्नुपर्छ भन्ने भइसकेपछि समृद्धि फाउन्डेसन नेपालको त्यसरी जन्मभयो। सो यो चिजको कनेक्सन फेरि हेर्ने हो भने। हिजोको दिनको त्यही मिडियाको प्रोग्राम, त्यही फिल्म, त्यही भिडियो, किताबको कथा हुँदैहुँदै यो समृद्धि फाउन्डेसनको जन्म भएको हो।

तपाईंले मिडिया, फिल्म र सामाजिक अभियान्ता बन्दा महिलाको अवस्थामा के फरक पाउनुभयो। अहिले कस्तो देख्नुहुन्छ ?

झन् धेरै बढेको जस्तो फिल हुन्छ। दुर्व्यवहार र महिला हिंसाको कुराहरु। पछिल्लो समय हरेक क्षेत्रमा भएका यस्ता घटना बहिर आइरहेका छन्। हुन त पहिला पनि यस्ता हिंसा र दुर्व्यवहार नभएका होइनन्। तर, लुकाइन्थ्यो दबाइन्थ्यो, बाहिर आउँदैन थियो। तर, पछिल्लो समय घटना कति जनाले हिम्मत गरेर बाहिर ल्याउनुभएको छ। हिंसा र दुर्व्र्यवहार कहाँ छैन ? मिडियामा छैन र ? फरक यत्ति हो कि। हामी कार्यक्रम बनाउँछौँ। अरुलाई हिंसा भयो। आवाज उठाउनुपर्छ भनेर कार्यक्रम बनाउँछौँ। तर, बसेर सोच्ने हो भने त्यो हिंसाबाट तपाईँ हामी पनि गुज्रिएका थियौँ र छौँ। हाम्रो कुराहरु कसले सुन्ने ? हाम्रो कुराको माध्यम के ? तपाईंले त अरूका लागि बोल्नुहुन्छ। तर, त्यही मिडिया हाउसेसमा तपाईंमाथि हिंसा भयो भनेर बोल्नु चाहनुभयो भने तपाईंको अवाजलाई बन्द गराइन्छ। सो हरेक क्षेत्रमा हरेक ठाउँमा यो हिंसाको कुरा त छ नै। यति होकी कसैले हिम्मत गरेर बाहिर आउनुहुन्छ। जो बाहिर आउनुहुन्छ। उहाँहरू टार्गेटमा पनि पर्नुहुन्छ। हुनसक्छ उहाँलाई अफिसबाट निकालिन्छ। सोसाइटीमै गाली खाइन्छ। चुप लागेर बसेको भए पनि हुन्थ्यो त सानो कुरा त थियो नि। इस्यु किन बनाउनु परेको। भनेर हामी सोच्छौँ। त्यसरी भोग्ने पीडितलाई चाहिँ किन इस्यु बनाएको भनेर सोध्छौँ। तर, त्यो हिंसा गर्ने मान्छेलाई चाहिँ यसो किन गरेको भनेर हामी सोध्दैनौँ। गर्नु हुँदैनथ्यो तिमीले किन गरेको भनेर प्रश्न चाहिँ उठाइँदैन। सोधिँदैन। सो यस्तै सिचुएसनले नै होला बोल्नै परेको भन्नै परेको अगाडि बढ्नै परेको जस्तो लाग्छ।

केही दिनअघि एउटा घटनाबारे सामाजिक सञ्जालमा निकै बहस भयो। जुन नायिकाले आफूमाथि दुर्व्यवहार हुँदा प्रतिकार गर्दा एक थरीले चर्को विरोध गरिरहेका छन्। त्यसरी थप्पड हान्न हुँदैन थियो। यस घटनालाई कसरी हेर्नुभएको छ ?
अलि अघिसम्म सोसल मिडिया थिएन्न। त्यो बेला मान्छे आ–आफ्नो विचार अनुसार अगाडि बढ्नुहुन्थ्यो। आजभोलि चाहिँ सोसल मिडिया छ। त्यसमा एउटाले एउटा विचार राख्यो। त्यसमा सबैले आ–आफ्ना विचार थप्दै गइसकेपछि। ए त्यो नै रियालीटी रैछ भन्यो, अनि सबैजना उसकै पछि लाग्ने खालको कुराहरु देखिएको छ। अनि सोसियल साइटमा आफै न्यायाधीश बन्ने, आफै वकिल बन्ने त्यो पनि धेरै देखिएको छ। कुनै पनि ठाउँमा कुनै घटना भइसकेपछि त्यसलाई हेर्ने निकाय पनि छन्। घटनाहरु सम्बन्धित निकायमा पुगिसकेपछि ती निकायले कस्तो एक्सन लिन्छ त्यो हेर्नुपर्छ। सबै जनालाई आफ्नो विचार राख्न हतार हुने। हुन त विचार राख्न स्वतन्त्र छौँ हामी। तर, विचार राख्दाखेरी पनि मैले राखेको विचारले मैले कसैमाथि हिंसा गर्दै छु कि ? मैले राखेको विचारले तपाईँलाई मैले हर्ट गर्दै छु कि ? मैले राखेको वेजत गर्दै छु कि ? मेरो विचार राख्ने अधिकार मलाई छ त। कसैको इज्जत गर्ने अधिकार त मलाई छैन। यस्तो कुराहरुलाई पनि विचार गर्नुपर्छ।

अनि अर्को कुरा के पनि हो भने। तपाईं र म यसरी बसेर गफ गरिरहेका छौँ। मलाई अचानक केही कुराले चोट लाग्यो भने मैले केही गर्नै पर्दैन। स्वतस्फूर्त रुपमा त्यसको प्रतिवाद हुनसक्छ। त्यो सबै कुरा प्लानमा हुन्छ भन्ने हुँदैन।

जुन नायिकामाथि फिल्म हलबाट निस्कँदा घटना भयो। त्यो त पब्लीसिटी स्टन्टको लागि थिएन होला। किनभने त्यो फिल्म त राम्रै रेस्पोन्स भइरहेको फिल्म थियो। तर, त्यो थियो भनेपनि सम्बन्धित निकायसम्म पुगिसकेपछि त अलिकति होल्ड गरौँ न। रिजल्ट के आउँछ भनेर। भिडको पछि लागेर हामीले आफैले न्याय गरिदिने हो भने त ती निकायको औचित्य नै रहेन नि।

यसरी सामाजिक सञ्जालमार्फत बाहिर आएका घटनामा पक्ष र विपक्षमा निकै बहस हुनेगर्छ। सामाजिक सञ्जालमै आन्दोलन र प्रदर्शन पनि भए। यस्ता गतिविधिले कस्तो असर पर्छ ?

भिडको पछि नलागौँ। सत्य बुझेर मात्रै निर्णय लिनुपर्छ। त्यहाँ के भएको थियो भनेर तपाईंलाई थाहा छैन। तर, यसरी भिडलाई हेरेर बनाएको सोचको पछि लागेर पक्ष र विपक्षमा लाग्दा कसैलाई अन्याय हुनसक्छ। हुन त हामीले हाम्रो एउटा खालको माइन्ड सेट बनेको छ। पुरुष भनेको बलियो होला। महिला अथवा केटी मान्छे भनेपछि कमजोर नै होला भन्ने माइन्ड सेट लिएर अगाडि बढिरहेका छौँ भने त्यसैले हामीलाई चलाउँछ। अहिले त्यही भइरहेको हो।

अब यस्ता कुराहरुलाई कसरी न्युनिकरण गर्न सकिन्छ। यहाँको अनुभवले के भन्छ ?
यो महिला हिंसाको क्षेत्रमा वषौँदेखि काम हुँदै आएको छ। सरकार, निजी क्षेत्र सक्रिय भए पनि हिंसाहरू कम हुनुको सट्टा झन बढिरहेको देखिन्छ। त्यो भनेको सायद अरुको लागि चाहिँ कुरा ग¥यौँ। तर, आफूले सुरुवात गरेनौँ कि। तपाईँ हाम्रो सबैको परिवार छ। विचार गरेर हेरौँ। हामीले आफ्नो परिवारसँग कस्तो व्यवहार गरिरहेका छौँ। हिंसा भन्ने बित्तिकै यो भ्वइलेन्स केटी मान्छेमा मात्रै हुन्छ भन्यो भने पनि गलत हुन्छ। कतिपय केसमा चाहिँ हिंसाबाट पुरुष पनि त्यसरी नै गुज्रीरहेका हुन्छन्। सो हिंसा अन्त्यका लागि सबैले आ आफ्नै घरभित्रबाट हामीले सुरुवात गर्ने हो भने धेरै समय लाग्दैन होला। अर्को कुरा चाहिँ प्राय हामी हुर्किसकेको र एउटा माइन्ड सेट बनाइसकेको व्यक्तिलाई चेन्ज गर्न ट्राई गछौँ। कोही पनि बच्चा जन्मिँदा खेरी त म भोलिपर्सी ठूलो भएर यो बन्छु भन्ने त हुँदैन। त्यो एउटा इनोसेन्स लिएर जन्मिएको बच्चा ठूलो भइसकेपछि कोही क्राइमतिर लाग्ने कोही राम्रो बाटोबाट अगाडि बढेर अरुको लाइफमा पनि परिवर्तन लेरआउन सक्नेहुन्छ। यस्तो किन हुन्छ भन्दा त्यो बच्चाले हुर्किँदा पाएको वातावरण महत्वपूर्ण हुन्छ।

अभिभावक सधै झगडा गर्ने वातावरणमा हुर्कियो कि अथवा स्कुलमा त्यस्तो वातावरण थियो कि ? उसले यस्तो कुराहरुलाई कमन रुपमा लिने वातावरणमा हुर्कियो कि ख्याल गर्नुपर्छ। एउटा उदाहरण, सानो बच्चाले साथीकै पेन्सिल चोरेर ल्यायो भने अथवा केही गलत गर्यो भने त। प्यारेन्ट्स र टिचरको काम त उसलाई काउन्सेलिङ गर्ने हो। सही कुरा सिकाउने। वए एउटा मात्रै ल्याएको भोलि दुईटा लेर आउनु भन्ने होइन। यसले त बच्चालाई ए यो त गर्दा हुँदो रैछ भन्ने पर्छ र त्यही खालको माइन्ड सेट बनाउँदै जान्छ।

कसैलाई हिंसा गर्नु। हामीले नर्मली देख्दा साना बच्चाहरु एकआपसमा कपाल भुत्ल्याइदिने, पिट्दिने, मुखबाट जे आयो त्यही बोलिदिने। त्यो चिजहरु गर्दै गरेको देख्दा खेरी त्यो बेला नै त्यो चिजलाई करेक्सन गरेनौँ भनेदेखि उनीहरु त त्यो किसिमको व्यवहारमा हुर्किन्छन्।

तर, हामी गछौँ के गर्दा रामा्रो हुन्छ र के गर्दा नराम्रो हुन्छ भन्ने कुरा सिकाउन सक्नुपर्छ। यसरी गाइड गरेमा भर्खरै हुर्किँदै गरेको बच्चालाई एउटा सही बाटोमा लैजान सहज हुन्छ। त्यसरी सोँच्ने बेला आइसक्यो। अर्को जेनेरेसन तयार गर्नेतिर लाग्ने कि हामी। समृद्धि फाउन्डेसन नेपाल चाहिँ त्यो मोटिभबाट अगाडि बढिरहेको छ।

यहाँले अहिलेसम्म जुनसुकै माध्यममा काम गरे पनि आफ्नो कामको माध्यमबाट महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने र मानिसहरुलाई सचेत गराउने काम गर्दै आउनुभएको छ। समृद्धि फाउन्डेसन नेपालले कसरी काम गर्दै छ ?
हामीले अहिले सचेतना कार्यक्रमलाई नै जोड दिएका छौँ। भर्खरै हुर्किँदै गरेका बालबालिकालाई सिक्ने उमेरकालाई फोकस गरेर कार्यक्रमहरु गरिरहेका छौँ। अबको नेक्स्ट जेनेरेसनलाई तयार गर्ने भनेर काम गरिरहेका छौँ। हाम्रो मिडियम भनेको मिडियो हो। फिल्म नै हो। किनभने मिडिया र फिल्म जस्तो अरु स्ट्रङ मिडियम अरु छैन। हामी फिल्महरु हेरेर जति टच हुन्छौँ। अरु कुराले त्यति टच गर्न सक्दैन। अझ बालबालिकालाई झन् धेरै असर गर्छ।

बलात्कार तथा यौनजन्य हिंसामा परेकाहरुले ढिलो आवाज उठाउँदा पीडितमाथि नै प्रश्न गरिन्छ नि, किन ?
प्रश्न त पहिला पनि उठ्ने गर्थ्यो। अहिले पनि उठ्छ। आठ वर्षको घटना अहिले जसरी आएको छ। त्यो घटना हेर्ने हो भने उहाँले जुन १६ वर्षको उमेरमा जुन कुराहरु भोग्नुभयो। त्यतिखेर के गर्ने भन्ने डिसिजन लिन नसकेर हो। जसले गर्दा उहाँ झनै पीडित हुनुभयो। तर, उहाँले ८ वर्षपछि घटना बाहिर ल्याउनुभयो। समय त लाग्छ। तर, समय लाग्यो भन्दैमा त्यो अपराध कम भयो भन्नु हुँदैन। अन्य हत्या र हिंसा र चोरीका घटनामा पनि त वर्षौँपछि समातिएको कारवाही भएको सुन्छौँ। अनि बलात्कार जस्तो जघन्य अपराधको जुन कुरा गरिरहेका छौँ। यो अपराधमा वर्ष बित्यो भनेको अपराध कम भएको हो हुँदैन। नो म्याटर कति वर्ष बित्यो। कति वर्ष लाग्यो बोल्न उसलाई। तर, जब बोल्यो उसले आफूले भोगेको कुरा भनेको हो नि। जति वर्ष पुगे पनि उसले भोगको पीडा कम भएर जाँदैन। यसमा चाहिँ हामीले हदम्याद भनेर किन राखेका छौँ। यो हुनै सक्दैन।

त्यो बलात्कार र यौन हिंसामा परेका साना उमेरका बालिका अथवा बच्चीहरु जसलाई त थाहा पनि हुँदैन के भाको हो भनेर। स्कुलमा टिचरले माया गरेको होला भनेर सोँच्दै हुर्कियो। तर, अहिले कलेज लेभलमा पुगीसकेपछि अनि उनीहरुलाई रिअलाइज भयो कि त्यो के थियो भनेर। अब उनीहरुले त्यसबारेमा बोल्ने कि नबोल्ने त ? कि त उनीहरुहरुले आफूले आफूलाई सम्झाएर राख्नुपर्यो। कित उसले तपाई मलाई त्यो बेला गरेको चिज आज मैले बुझेँ केस फाइल गर्छु भन्न त पाउनुपर्यो नि। किनभने त्यो व्यक्तिले त्यो वेला गरेको उसको इन्टेन्सन गलत थियो। १८ वर्ष बित्यो, सात वर्ष बित्यो भन्दैमा त्यो इन्टेन्सन राइट भएर त जाँदैन नि त। सो यसको कारणले गर्दाखेरी पनि यो हदम्याद हटाउनुपर्छ।

बलात्कार र यौनजन्य हिंसामा उजुरी दिने हदम्याद नराख्न थुप्रै पटक पहल भएका छन्। तर, किन यसको सम्बोधन हुन नसकेको हो जस्तो लाग्छ ?

तपाईँले भनेजस्तै बलात्कार सम्बन्धी कानुन पटक–पटक संशोधन हुँदै आएको छ। कानुन संशोधनमा महिलाको सहभागिता नामको लागि मात्रै छ। यसले हदम्यादको विषयमा निर्णय हुन नसकेको अनुभूति हुन्छ। अब बन्ने टिममा चाहिँ महिलाको सहभागिता होस् र यस टिममा यसको गम्भीरतालाई बुझेर बनेको टिम होस् जसले गर्दा यसलाई फेरि संशोधन गरिराख्न नपरोस्। यति नै हो आशा गर्न सक्ने।

अन्त्यतिर, सामाजिक काम सँगसँगै अरु के काममा व्यस्त हुनुहुन्छ ?
एउटा वेव सिरिजको तयारीमा छु। तर, अलि बढी म फाउन्डेसन मै व्यस्त छु। सँगसँगै सर्ट फिल्म र जनचेतना दिन सकिने खालको म्यासेज वरियन्ट फिल्महरुमा फोकस्ड भएकी छु।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : २८ बजे

काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको

अतिरिक्त हुलाक कार्यालय धमाधम बन्द हुँदै

गोरखा – गोरखाको हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालय

अपहरणमा परेकी बालिकाको उद्धार

सुनसरी – सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात

उदयपुरमा मोटरसाइलको ठक्करबाट एकको मृत्यु

उदयपुर – कटारी नगरपालिका–४ मा भएको दुर्घटनामा एक जनाको मृत्यु

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ

स्याङ्जा – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि