दुर्गा प्रसाईंका दुई रिट एकैदिन खारेज, अब हिरासतमै राखेर ऋण असुली | Khabarhub Khabarhub

दुर्गा प्रसाईंका दुई रिट एकैदिन खारेज, अब हिरासतमै राखेर ऋण असुली


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा हालेका दुई रिट एकैदिन खारेज भएको छ । रिट खारेज भएसँगै प्रसाईं तत्काललाई प्रहरी हिरासतमै रहनेछन् भने बैंक/वित्तीय संस्थाले उनीबाट ऋण असुली प्रक्रिया अघि बढाउन पाउने भएका छन् ।

कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अर्बौं रुपैयाँ लगानी रहेको बताएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै प्रसाईंले अपुष्ट भिडियोको स्क्रिनसट सार्वजनिक गरेका थिए ।

उनलाई प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम अनुसन्धान निम्ति पक्राउ गरी अन्य कसुर पनि लगाउन खोजेको छ ।

प्रहरीले साइबर अपराधबाहेक अन्य अनुसन्धानका लागि भन्दै म्याद थप गरेपछि उनका छोरा निराजन प्रसाईंले पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा आफूलाई गैरकानूनी रूपमा हिरासतमा लिएकाले मुक्त हुन पाउनुपर्ने माग थियो ।

तर, सर्वोच्च अदालतका न्यायाधीशहरू नित्यानन्द पाण्डेय र महेश शर्मा पौडेलको इजलासले प्रसाईंको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको हो । आदेश सार्वजनिक भइसकेको छैन । तर, रिट खारेज भएकाले अर्को आदेश नहुञ्जेल र प्रहरीले अदालतबाट लिएको थप म्याद रहुञ्जेल प्रसाईं प्रहरी हिरासतमै रहनेछन् ।

काठमाडौंमा सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेकै दिन उच्च अदालत विराटनगर अन्तर्गत इलाम इजलासले पनि दुर्गा प्रसाईंको अर्को रिट खारेज गरिदिएको छ ।

ऋण तिर्न ताकेता गरेपछि प्रसाईंले गत असार ८ गते टीकाराम अधिकारीमार्फत कुमारी बैंकको बिर्तामोड शाखासहित चार बैंकविरुद्ध ऋण असुल गर्ने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

यसअघि उच्च अदालतले असार १० र २६ गते तत्काल ऋण असुली प्रक्रिया अघि नबढाउन अन्तरिमकालीन आदेश जारी गरी निरन्तरता दिएको थियो । तर, मङ्गलबार न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर राईको संयुक्त इजलासले प्रसाईंको माग बमोजिम आदेश जारी गर्न अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ ।

उच्च अदालतले रिट खारेज गरिदिएसँगै अब प्रसाईंले लिएको ऋण उठाउने प्रक्रिया अघि बढाउन बैंकहरूलाई बाटो खुलेको छ । प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा चार बैंकबाट ऋण लिएका थिए ।

यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न अभियान नै चलाएका प्रसाईंले सडक आन्दोलनसम्म गरेका थिए । प्रसाईंकै अभियानमा संलग्नहरूले देशका विभिन्न स्थानमा बैंक/वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण नै गरेका थिए ।

प्रसाईंले कुमारी बैंक (साविक एनसीसी) को नेतृत्वमा प्रभु बैंक, ग्लोबल बैंक र गुडविल फाइनान्ससँग पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण तथा सञ्चालन गर्न भन्दै दुई अर्ब ४८ करोड रुपैयाँ ऋण सम्झौता गरेका थिए । २०७७ चैत २५ गते अस्पताल निर्माण निम्ति भन्दै बैंक/वित्तीय संस्था र प्रसाईंबीच सहवित्तीयकरण कर्जा सम्झौता भएको थियो ।

एक अर्ब ७४ करोड ९० लाख ३९ हजार ५० रुपैयाँ कर्जा प्राप्त भए पनि बैंकहरूले सम्झौताअनुसार सबै कर्जा निकासा नगरेको भन्दै प्रसाईं आक्रोशित भएका थिए । सोही आक्रोशलाई बैंक तथा वित्तीय संस्थाविरुद्ध केन्द्रित गराएका प्रसाईं अन्ततः अदालतको निर्णयबाटै कर्जा तिर्नुपर्ने बाध्यतामा पुगेका हुन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ४५ बजे

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ गरियो अन्त्येष्टि

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार