तनहुँ जलविद्युत् आयोजना : भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम सकियो | Khabarhub Khabarhub

तनहुँ जलविद्युत् आयोजना : भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम सकियो


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत् गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत् गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो ।

८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृहको सुरुङ खन्ने काम सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। “मुख्य चुनौतीपूर्ण रहेको भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम सफलतापूर्वक सम्पन्न भएको छ”, भण्डारीले भने, “अब विद्युत् गृहभित्र पूर्वाधार निर्माणको काम सुरु हुन्छ ।” विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । “यहाँको ढुङ्गा कमजोर रहेकाले यो चुनौतीपूर्ण काम थियो, अब भूमिगत सुरुङभित्र पूर्वाधारको काम पनि छिट्टै सुरु गर्ने तयारी छ”, भण्डारीले भने।

आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार ४५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ । इन्टेकको काम भने गर्न बाँकी रहेको भण्डारीले जानकारी दिए । प्याकेज एकअन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ ।पहुँच सुरुङ १०० मिटर खनिसकिएको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँध स्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।

प्याकेज तीनअन्तर्गत प्रसारण लाइनमा हालसम्म ४८ ‘फाउण्डेशन’को कार्य सम्पन्न भएको छ । प्रसारण लाइन निर्माणका लागि २५ टावर जडान भइसकेको आयोजनाले जनाएको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइएको छ ।

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका ४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य कार्यलाई तीन चरणमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ बाट कार्यान्वयनमा आएको छ। सोङ दा–कालिका जेभीले अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य गरिरहेको छ ।

आयोजनाको दोस्रो चरणअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

आयोजनाको तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ०२ बजे

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान