आज साउन २, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
श्रीलंकामा अस्थीरता कायमै
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सटडाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिँदैन भन्नेमा धेरै अनिश्चितता छ ।’
उनले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बेल आउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ । आर्थिक संकटलाई लिएर सर्वसाधारणको प्रदर्शन जारी छ । राष्ट्रपति गोटाबाय राजापाक्षे विदेश भागेका छन् र कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशका विभिन्न स्थानमा कर्फ्यु लगाएका छन् ।
श्रीलंकाली अर्थतन्त्र ध्वस्त भएको छ । खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको मूल्य सामान्य मानिसहरूको लागि छोइ नसक्नु भएको छ ।
धेरैले राजपाक्षे प्रशासनलाई संकटको कुप्रबन्ध गरेको आरोप लगाउँछन् र मेमा प्रधानमन्त्री बनेका श्री विक्रमासिंघेलाई समस्याको एउटा अंशको रूपमा लिएका छन् ।
अप्रिलमा मात्र केन्द्रीय बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरेका नन्दलाल विरासिंघेले स्थिर प्रशासन बिना आवश्यक वस्तुहरू कसरी उपलब्ध गराउने भन्ने बारे अगाडिको बाटो नदेखेको बताए ।
‘हामीले यो महिनाको अन्त्यसम्म डिजेलको कम्तीमा तीन ढुवानी र केही एक वा दुई वटा पेट्रोल ढुवानीका लागि रकम बुझाउन सक्छौँ । तर, त्यसपछि हामी पर्याप्त विदेशी मुद्रा उपलब्ध गराउन सक्षम हुनेछौँ कि छैन भन्नेमा धेरै अनिश्चितता छ,’ उनले थपे ।
यसैबीच श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका छन् । आइतबार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो ।
आर्थिक संकटबीच विक्रमासिंघेले पछिल्लो निर्णय गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको पूर्व सन्ध्यामा संकटकाल घोषणा गरिएको हो । २० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ ।
देशमा यसै साता ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे र विक्रमासिंघेको सरकारी निवासमा तोडफोड गरेका थिए । राजापाक्षेले देश छंोडेर गएपछि विक्रमासिंघे कार्यबहाक राष्ट्रपति बनेका थिए ।
श्रीलंकाको वर्तमान अवस्थाका लागि पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको कुप्रबन्धनलाई मुख्य दोष दिइएको छ । राजापाक्षेलाई हटाउनको लागि मुख्यतया फेसबुक, ट्विटर र टिकटक पोस्टमार्फत विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनप्रति ठूलो संख्यामा मानिसहरू आकर्षित भएका थिए ।
अल्पसंख्यक तमिल र मुस्लिम बहुसंख्यक सिंहालीहरू राजापाक्षेलाई हटाउने आन्दोलनमा सामेल भएका थिए । हजारौं मानिसहरूले राजापाक्षको कार्यालय अगाडि शिविर खडा गरे । श्रीलंकाको संविधानअनुसार राजापाक्षेको राजीनामापछि प्रधानमन्त्री रनिल विक्रमासिंघे स्वतः कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका थिए ।
सुडानमा भएको जातीय दंगामा मृतकको संख्या ६५ पुग्यो
अफ्रिकी मुलुक सुडानमा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ ।
सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दङ्गा भएको र ती घटनामा परी कम्तीमा पनि ६५ जनाको मृत्यु भएको उक्त दैनिक पत्रिकाले जानकारी दिएको छ । सो दङ्गामा परेर अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका त्यहाँको सुरक्षा समितिले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
झडपका क्रममा कैयौं पसलहरु क्षतिग्रस्त भएका छन् भने केही घरमा आगजनी पनि गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । आइतबारसम्म सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेको जनाएका छन् भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।
सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लगाइएको क्षेत्रमा मानिसहरुलाई आवतजावत र भिडभाड गर्न निषेध गरिएको छ । स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।
सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ ।
अमेरिमा फेरि गोलीकाण्ड, ३ जनाको मृत्यु
अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामाअन्य तीन जना घाइते भएका छन् ।
‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको छ’, ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र अन्य तीन घाइते छन् ।’ सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए ।
ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ ।
जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्द गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको एउटा समितिले हतियारमाथि प्रतिबन्ध लगाउने विधेयकमा २० वर्षमा पहिलो पटक यसै साता मतदान गर्ने तयारी गरेको छ।
ब्राजिलको अमेजनमा वन विनाश ६ वर्षयताकै उच्च
ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।
गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डलबाट ठूलो मात्रामा हरितगृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन र कार्बन डाइअक्साइड चक्रमा अमेजनले महत्वपूर्ण भूमिका खेल्छ ।
वातावरणविद्हरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघि सरकारले ल्याएका वातावरण संरक्षण नीति उल्ट्याएका छन् ।
ब्राजिलको वातावरण मन्त्रालयले वातावरणीय अपराधविरुद्ध लड्न बाध्य भएको जनाएको छ । अमेजन संसारको सबैभन्दा ठूलो वर्षावन हो । उक्त क्षेत्रमा रुखहरु काठ र बाली लगाउन काटिन्छन् । यहाँको उत्पादन विश्वव्यापी खाद्य कम्पनीमा आपूर्ति हुन्छ ।
उच्च स्तरको वन फँडानीले आगलागीलाई बढावा दिएको अक्सफोर्ड युनिभर्सिटीका डा. मानोएला मचाडो बताउँछन् ।
जेलेन्स्कीद्वारा युक्रेनी सुरक्षा प्रमुख बर्खास्त
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख र राज्यका केही अभियोजकलाई देशद्रोह र रुससँग साँठगाँठ गरेको आरोपमा बर्खास्त गरेका छन् ।
सुरक्षा सेवाका प्रमुख इभान बाकानोभ र रुसी युद्ध अपराधको अभियोग निरुपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इरिना भेनेडिक्टोभालाई बर्खास्त गरेका हुन् ।
उनीहरुले युक्रेनविरुद्ध रुस नियन्त्रित क्षेत्रहरूमा काम गरेका ,आफ्नो भूमिमा रुसी घुसपैठलाई अनदेखा गरेको, राज्यको राष्ट्रिय सुरक्षालाई वेवास्ता गरेकोलगायत आरोप राष्ट्रपति जेलेन्स्कीले लगाएका छन् ।
युरोपमा डढेलो फैलिएसँगै हजारौँ विस्थापित
युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूमध्यसागरीय जंगलमा लागेको आगो फैलिएपछि मानिसहरू घर छाड्न बाध्य भएका हुन् ।
स्पेन, क्रोएसिया र ग्रीसमा पनि आगो फैलिएपछि फ्रान्सले दक्षिण–पश्चिममा जंगलमा लागेको डढेलोबाट खतरामा परेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।
फ्रान्सको एक लोकप्रिय पर्यटक क्षेत्र गिरोन्डेका अधिकारीहरूले क्याम्पसाइटहरूबाट गार्डहरू खाली गरेका छन् । उक्त क्षेत्रबाट पर्यटकहरूले पहिले नै छोडेका थिए । टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा पनि आगो फैलिएको छ ।
दक्षिणी स्पेनमा, मिजास पहाडहरूमा ३२ सयभन्दा बढी मानिसहरू डढेलोबाट भागेका छन् । यद्यपि, केही मानिस भने फर्किएका छन् । पोर्चुगलको आगलागी अहिले नियन्त्रणमा आएको छ ।
पोर्चुगल सरकारले गत साता गर्मीका कारण ६५९ जनाको ज्यान गएको बताएको छ । मृत्यु हुनेमा धेरैजसो वृद्धबृद्धा छन् ।
स्पेनमा मिजास क्षेत्रको आगलागी लोकप्रिय पर्यटकीय क्षेत्र मलागाबाट टाढा छैन । स्पेनको अन्य ठाउँ कास्टिला वाई लिओन, ग्यालिसिया र एक्स्ट्रेमादुरा प्रान्तहरूमा डढेलो फैलिएको छ । आगो निभाउन भूमध्यसागरमा पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म हजारौँ अग्नि नियन्त्रकहरू र विमान तैनाथ छन् ।
मङ्गलबारदेखि सारा क्षेत्र चर्को गर्मीको प्रकोपमा परेको छ । चर्को गर्मीले वनस्पति सुकेको छन् ।
इरानमा कोभिड १९ को सातौँ लहर
इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।
पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले सबै इरानीहरुलाई कोभिड खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका लागि आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
स्वास्थ्यमन्त्री बहरामले आइतबार पाँच हजार ७०० भन्दा बढी नागरिकमा कोभिडको सङ्क्रमण देखा परेको र १३ जनाको ज्यान गएको बताएका छन् ।
ती नयाँ संक्रमितहरुमध्ये ६ सयभन्दा बढीलाई अस्पताल भर्ना गर्नु परेको जानकरी पनि उनले दिएका छन् । इरानमा अहिलेसम्म ७२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक लाख ४१ हजारभन्दा बढी नागरिकको ज्यान गइसको छ ।
पाकिस्तानको पञ्जाबमा भएको उपनिर्वाचनमा इमरान खानको पार्टी विजयी
पाकिस्तानको पञ्जाब प्रान्तको विधान सभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) विजयी भएको छ ।
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले पञ्जाब विधान सभाको २० सिटमा आइतबार भएको महत्त्वपूर्ण उपचुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ ।
आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेदवारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधान सभा सिटमा विजय हासिल गरेको छ । जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।
आफ्नो पार्टीको उप–चुनाव अभियानको नेतृत्व गरिरहेकी पीएमएल–एन उपाध्यक्ष मरियम नवाजले सत्तारुढ दलले चुनावी नतिजालाई खुला हृदयले स्वीकार गर्नुपर्ने बताइन् ।
युक्रेनमा सैनिक कारवाहीको निन्दा गर्ने रुसी पत्रकार पक्राउ
युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने एक रुसी पत्रकारलाई हिरासतमा राखिएको छ ।
रुसी प्रहरीले पत्रकार मारिना ओभ्स्यानिकोभालाई हिरासतमा लिएको हो । उनले मार्चमा एउटा लाइभ टीभी प्रसारणमा युक्रेनमा भएको रुसी हमलाको निन्दा गरेका थिइन् ।
उनको हिरासतबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । युक्रेनमा रुसी हस्तक्षेप र राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै क्रेमलिन नजिकै प्लेकार्ड बोकेर एक्लै प्रदर्शन गरेको केही दिनपछि उनी पक्राउ परेकी हुन् ।
‘मरिनालाई हिरासतमा राखिएको छ’ उनका कर्मचारीले टेलिग्राम सन्देशमा भने, ‘उनी कहाँ छिन् भन्ने कुनै जानकारी छैन।’ उनलाई दुई जना प्रहरी अधिकारीले एउटा सेतो भ्यानमा राखेर लगिएका तीन ओटा तस्बीर सार्वजनिक भएका छन् ।
उनी पक्राउ परेको उनका वकिल दिमित्री जाखभातोभले पुष्टि गरेका छन् ।
प्रतिक्रिया