खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुन एमालेको तालाबन्दी   | Khabarhub Khabarhub

खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुन एमालेको तालाबन्दी  


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको विरोधमा नेकपा एमाले पुन दोस्रो चरणको तालाबन्दीमा उत्रिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारी हटाइएको विरोधमा एमाले जन्तेढुंगा दोस्रो चरणको तालाबन्दीमा उत्रिएको हो । एकैसाथ करारका ८१ जना कर्मचारी हटाइएको विरोधमा गत २ साउन र ३ साउनमा विभिन्न वडामा लगाइएको ताला फोडेर खोलिएपछि एमालेले पुन वडामा तालाबन्दी सुरु गरेको हो ।

एमालेले आइतबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा ताला लगाएको छ । आफ्नो मागको सुनुवाइ नगरी ताला खोलेकाले पुन तालाबन्दी सुरु गरिएको एमाले खोटाङका सचिवालय सदस्य शंखरबहादुर राईले बताए । यसअघि लगाइएको ताला वार्ता र छलफल नगरी खोलिएकाले पुन सबै वडा कार्यालयमा ताला लगाउन सुरु गरिएको एमालेले जनाएको छ । ६ वडामध्ये एमालेले साउन २ गते जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र ३ साउनमा अन्य वडामा ताला लगाएको थियो । त्यसमध्ये डम्बर्खुशिवालयमा लगाइएको ताला भने हालसम्म खोलिएको छैन । एमालेले तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेको चिसापानीका वडाध्यक्ष धनबहादुर राईले बताए ।

गाउँपालिकाको बजेटबाट तलब पाउने गरी नियुक्त भएका करारका कर्मचारीको १ साउनदेखि करार म्याद थप नगर्ने निर्णय विरुद्ध एमाले वडा कमिटीले सम्बन्धित वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायिक स्वास्थ्य इकाई लगायतका कार्यालयमा ताला बन्दी गरेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएको जन्तेढुंगामा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारीलाई गठबन्धनले हटाइएपछि एमाले रुष्ट छ । वडा कार्यालय चिसापानीको तालाबन्दीमा डम्बर्खुशिवालय वडाध्यक्ष बिदुरमान राईको समेत संलग्नता रहेको भन्दै गठबन्धन पक्षले विरोध जनाइरहेका छन् ।

३१ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलब भुक्तानी हुने गरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारी, सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखामा कार्यरत करारका कर्मचारी, वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारी, गाउँपालिकाको पूर्ण अनुदानबाट विद्यालयमा कार्यरत शिक्षक तथा वाल विकास केन्द्रका सहजकर्ताको करार म्याद थप नगर्ने निर्णय गरेको थियो । आवश्यकताका आधारमा पुन करारको कर्मचारी नियुक्त गरिने जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए ।

यस्तै, खोटाङका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि १ असारदेखि लागु हुने गरी करारका २९ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०१ बजे

चक्रपथ विस्तारको दोस्रो खण्ड घाँस र झारले सडक छोपियो तर भएन काम (तस्बिरहरू)

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षासँगै

हेरिरहुँ लाग्ने कालिञ्चाेक (तस्बिरहरू)

दोलखा– दोलखा धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सजिएको हिमाली जिल्ला हो

वित्त आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्य मिश्रले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

बैतडी– सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा ठप्प

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य