दिनभर आज: यी हुन् तपाईंले पढ्नुपर्ने आजका प्रमुख समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले पढ्नुपर्ने आजका प्रमुख समाचारहरू (अडियोसहित)


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर कारगार विधेयक पारित, एसपीपीबारे अमेरिकालाई पत्र पठाउने माधव नेपालको प्रधानमन्त्रीलाई सुझाव‌, ११ प्रहरी उपरीक्षकको काज सरुवा लगायतका समाचारले मुख्य स्थान पाए ।

यी हुन् आजका शीर्ष समाचारहरू:

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा भिडियो हेर्ने छानबिन समितिको निर्णय

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो हेर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयमार्फत जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि आज बसेको बैठकले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको समिति सचिवालयले जनाएको छ ।

यस्तै गृह मन्त्रालयसँग सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारका सीसीटीभी फुटेज मागिएको छ ।

निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि सभामुख अग्निप्रसाद सापकोटाले गत असार २२ गते विशेष संसदीय छानबिन समिति गठन गरेका थिए ।

छानबिन समिति बनेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

कारागार विधेयक पारित, के छ विधेयकमा ?

प्रतिनिधिसभाबाट ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको सो विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनि मतका आधारमा विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरेका हुन् । सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो ।

सो विधेयक पारित भएसगैँ कारागारमा रहेका कैदीलाई पनि प्रजननको अधिकार व्यवस्था गरिने भएको छ । यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिएका थिए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले कारागार नरहेका जिल्लाहरुमा पनि कारागारको व्यवस्था गरिने बताएका छन् ।

शहरका मध्य भागमा रहेका पुराना कारागारहरुलाई स्थानान्तरण गरी फराकिलो र सुविधाजनक बनाइने उनको भनाइ छ । कारगारमा रहेका कैदीलाई पनि आम नागरिकसरह अधिकार दिनुपर्नेमा गृहमन्त्री खाँणले जोड दिए ।

कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको सो विधेयक सरकारले वि.सं. २०७६ मङ्सिर २९ गते दर्ता गराएको थियो ।

एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न माधव नेपालको देउवालाई सुझाव

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थिति विषयक कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्न आफुहरुले प्रधानमन्त्रीलाई दबाव दिएको र अहिले पनि एसपीपीमा सहभागी नहुने भनेर सरकारले गरेको निर्णयको पत्र अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।

कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएका बेला नेपालमा एमसीसी भित्राइएको र कांग्रेसले त्यसलाई अघि बढाएको उनले बताए ।

आफूहरुले व्याख्यात्मक टिप्पणीविना पारित गर्नु हुँदैन भनेर अडान लिएकै कारण नेपाल दुर्घटनाबाट बचेको उनको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुकको स्वाधिनताको रक्षाका लागि सवै भन्दा पहिले राजनीति सफा गर्नुपर्ने बताएका छन् । हरेक पार्टीहरुमा शुद्धिकरण चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

श्रेष्ठले सरकार जोगाउन खोज्दा राष्ट्रियता नै खतरामा पर्ने संकेत देखापरेको र राजनीतिक स्वार्थलाई त्याग गर्नुपर्ने बताए ।

दलहरुको स्वार्थका लागि मुलुकको अस्तित्वमाथि नै खतरा भयो: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरुको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका छन् ।

काठमाडौंमा आज राप्रपानिकट नेपाल प्राज्ञिक परिषदले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थलागि विभिन्न शक्ति राष्ट्रसँग मुलुकको हित विपरीतका सम्झौताहरु गरिएको भन्दै यसले मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका हुन् ।

उनले बार्षिक बजेट बनाउने क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराउने र करको दायरा हेरफेर गर्ने काम देखि देशको हित र जनताको चाहना विपरीत एमसीसी र एसपीपीजस्ता देशलाई कमजोर पार्ने सम्झौता गरिएको तर्क गरेका छन् ।

देशलाई दुर्घटनाबाट बचाउन चाहनेहरु एकै ठाँउमा आउनुपर्ने उनको भनाइ छ । लिङ्देनले अहिलेको राजनीतिक प्रणाली र दलहरुबाट मुलुकमा राष्ट्रियता र शान्तिको कुनै सम्भावना नदेखिएको तर्क गरे ।

राप्रपाले भ्रष्ट निर्वाचन प्रणालीको बदलापूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा अभिभावकीय संस्थाको रुपमा राजाले मात्र मुलुकले स्थिरता प्राप्त गर्ने उनको भनाइ छ ।

लिङ्देनले आफूहरुले अघि सारेको मुद्दा स्थापित गर्नका लागि सांसदको दुई तिहाइ बहुमत आवश्यक नपर्ने र निश्चित संख्याको शक्ति आर्जन गर्दा पुग्ने बताए ।

एसपीपीका सम्बन्धमा सरकारले संसदको निर्देशन पालना गरेनः भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।

एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुने पनि नसुनेझैँ गरेको उनको भनाइ छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे ।

त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए ।

त्यस्तै विशेष समयमा कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै उनले कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा यसको नियन्त्रणमा ध्यान दिनुपर्ने धारणा राखिन् । यस्तै सांसद लालबाबु पण्डितले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद पण्डितले गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको भन्दै प्रश्न गरेका हुन् ।

११ प्रहरी उपरीक्षकको काज सरुवा

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा भएको छ ।

आज भएको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

सरुवा सूचीअनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी,मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच सशस्त्र प्रहरीमा १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार उनीहरुलाई जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो ।

सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

अन्य १७ जना घाइते भएका छन् । गुल्मीको मजुवाबाट बुटवल तर्फ हिँडेको लु १ ख ५९५२ नम्वरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा पाल्पामा आज अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको हो ।

बस सडकबाट करीब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा जिल्लाबाट खटिएको प्रहरी, हार्थोक र अर्गली प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीयवासीहरु उद्धार कार्यमा खटिएका थिए ।

सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

भक्तपुरमा रुख ढलेर मृत्यु भएका ३ जनाको परिचय खुल्यो

भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाएका तीन जनाकै सनाखत भएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा आज दिउँसो रुख ढलेर बस र स्कुटी च्यापिँदा भक्तपुर २ बस्ने २५ वर्षका विशेष खर्बुजा, चागुँनारायण नगरपालिका २ का ५५ वर्षका न्हुँच्छेराम बखत्यो र सर्लाहीको हरिवन नगरपालिका ४ का ४५ वर्षका राजकुमार भुजेलको मृत्यु भएको भुजेल स्कुटरमा थिए भने बाँकी दुई जना गाडीमा थिए ।

यस्तै घाइते १५ जनाको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रुखको जरा कमजोर भएर ढलेको देखिएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

रुख ढलेपछि सडक केही बेर बन्द भएको थियो । क्रेन लगाएर रूख र बसलाई हटाएपछि अहिले गाडी चल्न थालेको छ ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सो दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रेम सुवालले तीन जनाको मृत्यु र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सो दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

लागुऔषधसहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ

अवैध लागुऔषधसहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान्, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफन्त २२ बर्षीय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।

आज अपरान्ह औरही कठुधारा स्थित प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट –१० लेखिएको ९९ पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार तिनै जना बर्दिबास–सम्सी सडक खण्डमा पैदल हिँडदै गर्दा शंकाका आधारमा चेकजाँच गर्दा सो लागुऔषध फेला परेको थियो ।

उनीहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ६० पीसीआर परीक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ४ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ३ हजार १ सय ७७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१५० जना एमबीबीएस विद्यार्थीले थप अध्ययन नेपालमा गर्न पाउने

कोभिड–१९ का कारण चीनबाट बीचैमा अध्ययन छोडेर नेपाल आएका १५० जना एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोगको सहमतिमा नेपाल मेडिकल काउन्सिलले थप समय नेपालमै अध्ययन तथा इन्टर्नसिप गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको जनाएको छ ।

काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत सन् २०१६ ब्याचका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमतिमा निर्णय गरेको छ ।

एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा यही साता प्रकाशन गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको जनाएको छ । अहिले प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए ।

कोभिडका कारण २०७६ र २०७७ सालको एसईई कोभिड–१९ का कारण प्रभावित भएको थियो । आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको थियो ।

झापामा तीनजना किशोरी मृत फेला

झापामा तीनजना किशोरी मृत्यु घटनामा आत्महत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आज बिहान उनीहरू तीनैजनाको शव कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले तीन जनाको मृत्यु आत्महत्याका कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिएका हुन् । सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल– ५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा

प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका –२,जानकी नगरमा स्थित एक कल सेन्टरमा छापा मारेको छ ।

प्रहरीले आज गोप्य सूचनाका आधारमा सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचना पाएपछि छापा मारेको हो ।

चिनियाँ र भारतीय नागरिकको लगानीमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

कल सेन्टरबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए ।

सो कल सेन्टरमा १५० जना काम गर्ने युवायुवती रहेको प्रहरीले जनाएको छ । चिनियाँ र भारतीय नागरिकको लगानीमा सञ्चालित सो कल सेन्टरबाट २ सय ४० थान मोबाइल, सयौं थान कम्प्युटरलगायत ठगीमा सङ्लग्न विभिन्न साम्रगी प्रहरीले बरामद गरेको छ ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन सञ्चालनमा

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना सञ्चालनमा आएको छ ।

भैरहवा–लुम्बिनी क्षेत्रमा विद्युत अभावको समस्या समाधान गर्न सात वर्षअघि सूरु गरिएको बुटवलको योगीकुटीस्थित राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएपछि सञ्चालनमा आएको हो ।

त्यहाँबाट २ सय मेगावाट क्षमताको विद्युत मैनहिया सबस्टेसनमा जोडिएको छ । यसअघि योगीकुटीबाट ल्याइएको विद्युत् लाइन ८० मेगावाट क्षमताको थियो ।

आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहियामा सबस्टेसन बनाइएको छ ।

सरकारले आगामी एक दशकलाई नेपाल भ्रमणका रुपमा मनाउने

सरकारले सन २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउन आवश्यक तयारी अघि बढाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउन आवश्यक तयारी अघि बढाउने जनाएको हो ।

पर्यटकको नेपाल बसाईलाई थप सुरक्षित बनाउन क्राइसिस मेनेजमेन्ट युनिट स्थापना गरी सञ्चाल गर्ने मन्त्रालयको योजनामा छ ।

त्यस्तै सगरमाथा सम्बाद कार्यक्रम सञ्चालन गर्ने, हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण खुल्ला गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने, सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने, नेपालको पदयात्रा तथा पर्वतारोहणलाई थप सुरक्षित बनाउन जीपीएस ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याउने, अन्तर प्रादेशिक हवाई सेवा बिस्तार गर्ने लगाएका योजना सार्वजनिक गरेको छ ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकास, पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गरिएको बताए ।

कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनीकरणका लागि कार्ययोजनाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले पर्यटन व्यवसायीलाई पनि प्रवर्धन गर्ने काम गरिने धारणा राखेका थिए ।

पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्ययोजनामा तत्कालीन, मध्यकालीन र दिर्घकालीन योजनाहरु रहेको भन्दै यसको कार्यान्वयनमा विशेष जोड दिइने उनले बताए ।

मन्त्री श्रेष्ठले नेपालको वायुसेवालाई संसारको सवै सञ्जालमा पु¥याउनका लागि ईयूको कालो सूचीबाट हटाउनका लागि छलफल भइरहेको पनि जानकारी दिए ।

मन्त्रालयले सार्वजनिक गरेको योजनामा पर्यटन नीति २०६५, हवाई नीति २०६३, पर्यटन ऐन, २०३५ लगायतलाई संशोधन गर्ने उल्लेख छ, भने काठमाडौं उपत्यका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्ने गरी सम्पदा मार्ग निर्माण गर्ने पनि योजनामा उल्लेख गरिएको छ ।

सरकारले १० लाख पर्यटक भित्राउने गरी कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न योजना बजेटमार्फत पनि सार्वजनिक गरिसकेको छ ।

मौद्रिक नीतिपछि नेप्सेमा सुधार !

मौद्रिक नीतिपछिको कारोबारको पहिलो दिन आज शेयर बजार परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव शून्य ५ अङ्कले बढेर दुई हजार ७८ दशमलव ५१ विन्दुमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेर बजार हरियो भएकोमा फाइनान्स, बीमा, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय १९ वटा कम्पनीका ६४ लाख २३ हजार १ सय ४६ कित्ता शेयर दुई अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रुपैयाँमा कारोबार भएको छ ।

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ३९ करोड ७१ लाख तथा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया र अरुण काबेली हाइड्रोको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ५६ बजे

प्रख्यात धार्मिकस्थल सिन्धुलीको कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै

श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन

काठमाडौं– श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

बेलैमा सचेत बनौं, प्रतिरक्षात्मक उपायहरु अपनाऔं

काठमाडौँ – आज विश्व अल्जाइमर्स चेतना दिवस। ‘अबको आवश्यकताः अल्जाइमर्स