विद्यालय खुले पनि पठनपाठनमा अन्योल   | Khabarhub Khabarhub

विद्यालय खुले पनि पठनपाठनमा अन्योल  


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबास नगर क्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज  खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले तिनलाई हाजिर नगराउन सबै विद्यालयलाई परिपत्र गरेपछि नगरका ५५ सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत शुक्रबार मातहतका सबै विद्यालयलाई नगर शिक्षकलाई हाजिर नगराउन विद्यालय प्रशासनलाई परिपत्र गरेपछि अहिले यहाँ तनाव बढेको छ । नगरभित्र २२ माध्यमिक र ३९ आधारभूत सामुदायिक विद्यालय छन् । आधारभूत विद्यालयमध्ये आठ वटामा बाल कक्षादेखि आठसम्मको पठनपाठन हुँदै आएका छन् ।

अन्यमध्ये कतिपयमा कक्षा पाँच कक्षासम्म र कतिपय  भर्खरै कक्षा थप गर्दै लाने प्रक्रियामा छन् । विद्यालय र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक अभावले पठनपाठनमा असर परेपछि २०७७ चैत २७ गते प्रक्रिया थालेर नगरपालिकाले गत वर्ष भदौ एक गतेदेखि ६५ नगर शिक्षक करारमा नियुक्त गरेर व्यवस्थापन गरेको थियो । अहिले तिनै शिक्षकलाई हाजिर नगराउनु भन्ने परिपत्रले पठनपाठनमा समस्या भएको शिक्षक सम्बद्ध सङ्घ, सङ्गठनले जनाएका हुन् । गत वर्ष करारमा नियुक्त भएका शिक्षकमा १८ माध्यमिक, २५ उच्च प्रावि (निमावि), १५ प्रावि तह र सात कम्प्युटर शिक्षक थिए । नगर कार्यपालिकाले विभिन्न कानुनी प्रक्रिया पूरा गर्दै खुला प्रतिस्पर्धामा उत्कृष्ट भए मध्येबाट विषय मिलान गरी ६५ शिक्षक करारमा नियुक्त गरेको थियो ।

अहिले एक्कासि यी शिक्षकलाई हाजिर नगराउन आएको परिपत्रले शैक्षिक अराजकता बढाएको नेपाल शिक्षक महासङ्घका जिल्ला सचिव तथा बर्दिबास–६ स्थित जनहित नन्दलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् ।यसपालिको स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिले एक वर्ष पहिले सबै प्रक्रिया पूरा गरेर खुला प्रतिस्पर्धाबाट नियुक्त नगर शिक्षकलाई पूर्वाग्रहका आधारमा हाजिर नगराउन परिपत्र गरेको शिक्षक सम्बद्ध विभिन्न सङ्घ, सङ्गठनले बताएका छन् ।

अर्को स्थायी पदपूर्ति नहोउन्जेल काममा लगाइरहनु पर्ने नगर शिक्षकलाई वैकल्पिक व्यवस्था नगरी काममा जान रोक लगाइँदा शैक्षिक संस्थामा खुल्लमखुल्ला हस्तक्षेप बढेको शिक्षक सम्बद्ध नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्घ, सङ्गठनले विज्ञप्ति नै जारी गरी नगर नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन बर्दिबास नगर समितिका अध्यक्ष नेत्र रम्तेल भन्छन्, “यसलाई तत्काल नसच्याइए पठनपाठनमा हुने अस्तव्यस्तताको सम्पूर्ण जिम्मेवारी नगर कार्यपालिकाको कार्यालय र नगर नेतृत्व हुनेछ ।”

यता नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गणेश दाहाल नगर कार्यपालिकाले नगर शिक्षकको म्याद थप नगरेपछि परिपत्र गर्नाको  विकल्प नरहेको बताउँछन् । “मैले लहडमा हाजिर नगराउनु भन्ने परिपत्र त गरेको हैन नि ” उनी सञ्चारकर्मीको जिज्ञासामा भन्छन्, “सबै कुरा कार्यालयको अनुशासन र मर्यादाभित्र रहेर आदेश अनुसार गरिएका हुन् ।” यसअघि नयाँ आर्थिक वर्षको प्रारम्भमै नगर कार्यपालिका र वडा कार्यालयमा करारमा कार्यरत कर्मचारीको म्याद नथपिने जनाएको कार्यालयले अहिले गर्मी बिदापछि विद्यालय खुल्नु पूर्व नगर शिक्षकमाथि पनि  लफडा बढाएको यहाँका शिक्षाविद् बताउँछन् ।

नयाँ नगर नेतृत्वले करारका कर्मचारीको म्याद नथप्दा अहिले अधिकांश वडा कार्यालयमा जनशक्तिको अभावले काम ठप्प छ । “म सम्पत्ति कर तिर्न वडा कार्यालयमा कैयौँ पटक पुगेँ, तर कर असुली शाखाका कर्मचारी नहुँदा त्यत्तिकै घर फर्केको छु” बर्दिबास–२ का सेवाग्राही शोभा उपाध्याय भन्छन्, “कार्यालयमा काम नभएर सर्वसाधारण घर फर्कने स्थिति त हुनुभएन नि ?”

करारका कर्मचारीको प्रबन्धबिना नै पुरानालाई विस्थापन गरिँदा कार्यालयका काम अल्झेकै बीच अब विद्यालयमा पठनपाठनमा पनि समस्या हुने देखिएको छ । विद्यालयको हकमा त शिक्षक सम्बद्ध सङ्घ, सङ्गठनले परिपत्रविरुद्ध थप आन्दोलनका कार्यक्रम गर्ने सङ्केत गरेका छन् । “हामी सबै शिक्षक सम्बद्ध सङ्घ, सङ्गठनका प्रतिनिधि बस्दै छौ, अनि परिपत्रको निकासबारे संस्थागत धारणा बन्छ”नेपाल शिक्षक महासङ्घ बर्दिबास नगर समितिका अध्यक्ष सुनकुमार स्याङ्तान बताउँछन् ।

यसैबीच नगरका बुद्धिजीवी र शिक्षाविद्हरूले विद्यालयको अवस्था बिग्रन नदिन नगर नेतृत्व, नगर कार्यपालिकाको कार्यालय र सम्बद्ध शिक्षक सङ्घ, सङ्गठन र आम नगरवासीमा तत्काल पहल गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : ३७ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता