काठमाडौँ– आज दिनभर गठबन्धनका दलहरू सिट बाडफाँटको बिषय सहमति नजिक, खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने, गठबन्धनलाई राष्ट्रभन्दा पद प्यारो भएको ओलीको आरोप,वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त, प्रचण्डले बुझे अन्तरघाट छानबिन कार्यदलको प्रतिवेदन लगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
गठबन्धनका दलहरू सिट बाडफाँटको बिषय सहमति नजिक
सत्तारुढ गठबन्धनको बैठकमा सिट बाडफाँटको बिषय सहमति नजिक पुगेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा सिट बाडफाँटको बिषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकमा सिट बाडफाँटका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उनको भनाई छ । कार्कीले भोलि दिउँसो तीन बजे पुन बैठक बस्ने र थप छलफल हुने जानकारी दिए ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा जाने सहमति भएको छ , तर सिट बाडफाँटको बिषय भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।
खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने
आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ ।
निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरुसंग छलफल गर्दै निर्वाचन आयोगले अनुमानीत चूनावी खर्च र स्रोतका बारेमा मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो । चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दा नै आफ्नो सम्पती बिबरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्था समेत आयोगले गर्न लागेको छ । त्यस्तै निर्वाचन प्रचारमा १० वटा सम्म राष्ट्रिय प्रयोग गर्न पाउने व्यवस्था आयोगले गर्न लागेको छ ।
निर्वाचन आचारसंहितका बारेमा दलहरुबाट मिश्रित सुझावहरु आएको र सुझावहरुका आधारमा छिटै राजपत्रमा प्रकाशनका लागि पठाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।
गठबन्धनलाई राष्ट्रभन्दा पद प्यारो भएको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका छन ।
एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्धनमा रहेका दलहरु पनि नेपालको भूमि आफ्नै हो भनेर भन्न डराएको बताएका हुन ।
भारत भ्रमणमा जादा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमिका बारेमा समेत बोल्ने हिम्मत नदेखाएको उनले बताए । ओलीले शेर बहादुर देउवा र प्रचण्डलाई भारत भ्रमणमा बोलाएपनि माधव नेपाललाई भारतले नवोलाएर छटपटी भएको तर्क गरे ।
अध्यक्ष ओलीले प्रतिष्पर्धात्मक बहुदलिय व्यवस्थाप्रति पनि गठबन्धन प्रतिष्पर्धाको राजनीतिक नभएर राजनीतिलाई दुश्मनीको बिषय बनाएको धारणा राखे ।
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त
सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए ।
यस्तै बैठकले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
प्रचण्डले बुझे अन्तरघाट छानबिन कार्यदलको प्रतिवेदन
नेकपा (माओवादी केन्द्र)को स्थानीय निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न बनाएको समितिले प्रतिवेदन बुझाएको छ ।
पार्टी कार्यालय कोटेश्वरको पेरिसडाडामा माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा निर्वाचनमा भएका अनुशासन उलंघन र अन्तरघातका प्रकृति हेरेर कारवाही गर्न सुझाव दिइएको छ । त्यस्तै प्रतिवेदनमा मधेश प्रदेशमा बढि अन्र्तघात भएको उल्लेख गरिएको छ । प्रतिवेदन बुझ्दै प्रचण्डले समितिले दिएको सुझावलाई पार्टीभित्र छलफल गरेर कारवाहीको प्रक्रिया अघि बढाइने बताए ।
चार्जिङ स्टेशन निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आज सम्झादारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताए ।
महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने
महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने भएको छ । समितिको दोस्रो बैठक भोलि दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची रहेको छ ,भने समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने बताइएको छ ।
प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले गत साउन २२ मा पाएको थियो । जिम्मेवारी पाएको नौ दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।
पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु
काठमाडौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु गरेको छ ।
नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिएपनि त्यसको बिपरित पसल सञ्चालन गरिएपछि महानगरले पसलहरु हटाउन सुरु गरेको हो । पहिलो चरणमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह काठमाडौंको नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गरेका थिए ।
भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएपनि त्यस बिपरितको कार्य भएको महानगरले जनाएको छ ।
प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
भारतमा जीप दुर्घटना हुदाँ १० जना नेपाली घाइते
भारतमा जीप दुर्घटना हुदाँ १० जना नेपाली घाइते भएका छन् । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुवाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका हुन् ।
बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको समाचार प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घाइते भएको उनले बताए ।
थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ५६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया