दश हजार एचआईभी सङ्क्रमित उपचार बाहिरै | Khabarhub Khabarhub

दश हजार एचआईभी सङ्क्रमित उपचार बाहिरै


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लामा रहेका एचआईभी सङ्क्रमितमध्ये आधाजसोले मात्र सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) औषधि नियमित सेवन गरेको पाइएको छ । एआरटीले सङ्क्रमितको शरीरमा रोगप्रतिरोधक शक्ति बढाएर दीर्घजीवी र स्वस्थ बनाउन मद्दत पुर्‍याउँछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र झापा शाखाले मेची अस्पतालमा रहेको आफ्नो कार्यालयमार्फत चार सय ३० सङ्क्रमितलाई नियमित रुपमा एआरटी औषधि खुवाउँदै आएको जनाएको छ । जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या औषधि खाइरहेकाको भन्दा दोब्बर अर्थात् आठ सय ३६ छ ।

‘केन्द्रमा आएर औषधि लिन थालेकालाई नियमित गराउन पनि धेरै मेहनत गर्नुपरेको छ,’ केन्द्रकी प्रमुख कञ्चन नेपाली भन्छन् ‘औषधि खान आइदिनुहोस् भनेर हामी फोन गर्छौँ, एसएमएसबाट खबर पनि पठाउँछौँ ।’ औषधि सेवन गर्न नआएर लुकेर बसिरहेका आधाजसो सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको उनी बताउँछन् ।

सन् २००७ देखि नै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले मेची अस्पतालबाट निःशुल्क रुपमा एआरटी सेवा उपलब्ध गराउँदै  आएको छ । छिमेकी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाटसमेत औषधिका लागि यहाँ धाउनेहरू छन् । मेची अस्पतालमा एआरटी औषधिका लागि नियमित सम्पर्कमा रहेकामा दुई सय ७२ पुरुष, एक सय ८९ महिला, १४ बालबालिका र चार समलिङ्गी छन् । समलिङ्गीलाई औषधि खुवाउने अलग्गै सुविधा उपलब्ध छ ।

‘हरेक महिना छ जनासम्म नयाँ सङ्क्रमित औषधिका लागि सम्पर्कमा आउँछन्, औषधि लिइरहेका केहीले हरेक महिना सम्पर्क टुटाउने गरेका पनि छन्,’ उनी भन्छन्,  ‘औषधिका लागि आउने १८ देखि २५ वर्ष र ३० देखि ४५ वर्ष उमेर समूहका बढी छन् ‘

गतवर्ष ८६ जनाले औषधि सेवन टुटाएको केन्द्रको तथ्यांक उल्लेख छ । अध्ययनका लागि तेस्रो मुलुक जाने र रोजगारीका लागि भारत जाने सङ्क्रमितले औषधि टुटाउने गरेका हुन् । सरकारी नियमअनुसार केन्द्रमा दर्ता भएका सङ्क्रमितलाई सामान्यतया एकपटकमा एक महिनाको औषधि उपलब्ध गराइन्छ तर नियमित औषधि खाइरहेकालाई डेढमहिनासम्मको औषधि पनि दिइएको पाइन्छ ।

एचआईभी सङ्क्रमित पत्ता लगाउने, जाँच गर्ने, औषधि उपलब्ध गराउने र औषधि खाइरहेकामा भाइरल लोड परीक्षण कार्य गर्दै आएको केन्द्रले आम्दा नेपाल, लवकुश आश्रम र लिड नेपालमार्फत सङ्क्रमितको पहिचान गर्दै आएको छ । सिधैँ सम्पर्कमा आउनेलाई समेत केन्द्रबाट आवश्यक परीक्षणपश्चात् औषधि दिइने गरिएको छ । पछिल्लो समय एचआइभी सङ्क्रमितको उपचारमा सरकारले निःशुल्क जाँच र उपचारको व्यवस्था गरे पनि जनचेतनाको अभाव र पहिचान खुल्ने डरले कैयन सङ्क्रमितले उपचारको लाभ लिन सकिरहेका छैनन् ।

भद्रपुरस्थित लवकुश आश्रमकी प्रमुख रञ्जु शर्मा एआरटी उपचार प्रभावकारी भएको जनाउँदै झापामा सरकारी आँकडाको दोब्बर एचआइभी सङ्क्रमित भएको जिकिर गर्छन्। ‘सबै संक्रमित सम्पर्कमा छैनन् औषधि खान पनि आएका छैनन्,’ एचआइभी सङ्क्रमितको सेवामा सक्रिय उनी भन्छन्, ‘आफ्नो गाउँठाउँमा परिचय खुल्छ भनेर झापाका सङ्क्रमित विराटनगर, धरान र काठमाडौँ पुगेर औषधि लिने गरेको पनि पाइएको छ ।’ एआरटीको नियमित सेवनले जीवनसाथीलाई सङ्क्रमित हुनबाट बचाउने र स्वस्थ बच्चा जन्माउन मद्दत पुग्ने हुँदा यो औषधिको सेवन गराउन सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको प्रमुख शर्मा बताउँछन् । एचआइभी सङ्क्रमितलाई उपचारका लागि  सम्पर्कमा आउँदा उनीहरुलाई निःशुल्क एआरटी औषधि मात्र नभएर नवीकरण गरिरहनु नपर्ने स्वास्थ्य बीमा पनि निःशुल्क उपलब्ध हुने उनले जानकारी दिए ।

देशभर दश हजार सङ्क्रमित उपचार बाहिरै

नेपालमा हाल ३० हजारको हाराहारीमा एचआइभी सङ्क्रमित रहेको र तीमध्ये २० हजार मात्र उपचारको दायरामा आएको तथ्याङ्क छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालले सन् २०३० सम्ममा एचआइभी सङ्क्रमण न्यूनीकरण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । सो अनुसार सरकारले सन् २०२१ देखि २०२६ सम्मका लागि एनएचएसपी नामक रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । हरेक वर्ष ९५ प्रतिशत सङ्क्रमितको पहिचान, उपचार र भाइरल लोड कम गर्ने रणनीतिक योजनाको उद्देश्य  छ ।

नेपाल सरकारले एचआइभी सङ्क्रमितका लागि एआरटीमार्फत दैनिक छ डलर मूल्य बराबरको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । औषधिले कति काम गरिरहेको छ भनेर हरेक छ महिनामा भाइरल लोड जाँच गर्नका लागि जिल्लाबाट काठमाडौँमा नै नमूना पठाउनुपर्ने झन्झट हट्नसकेको छैन ।

पछिल्लो समय होटलमा हुने असुरक्षित यौन सम्पर्क र लागूऔषधी प्रयोगकर्ताले प्रयोग गर्दै आएको असुरक्षित सुईका माध्यमबाट एचआइभी सङ्क्रमण बढ्दो पाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ३ : ४५ बजे

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान