'सिट बाँडफाँड टुंगिन नसक्नुमा कांग्रेस बाधक हो' | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘सिट बाँडफाँड टुंगिन नसक्नुमा कांग्रेस बाधक हो’


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमा रहेका पाँच दलले अझै पनि सिट बाँडफाँड र को कुन क्षेत्रबाट उठ्ने/उठाउने भन्ने टुङ्याउन सकेका छैनन् । निरन्तर छलफल भए पनि अझै सहमति जुट्न किन सकिरहेको छैन । नेपाली काँग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४० सिट लगायतका दलहरूले दाबी गरेका छन् । यस्तो अवस्थामा को कुन विन्दुमा आएर मिलन हुन सक्छ ? के कांग्रेस लगायत अरू दलहरूले त्यही अडान लिने हो भने यो सिट बाँडफाँड जति पेचिलो बन्दै गएको छ कहिले टुङ्गिएला त ? यसरी नै अगाडि बढ्दै गयो भने यसले निम्त्याउन सक्ने समस्या के हुन सक्छ ? यसै विषयमा आधारित भएर नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडासँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीः

सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय कहाँ नमिलेको वा अड्केको हो ?

सिट बाँडफाँट सबैभन्दा पेचिलो विषय नै हो । यसका लागि लामो समय लाग्छ । र निर्वाचन क्षेत्र चयन गर्ने विषयमा पनि अझै समय लाग्छ । एउटा विधिमा गएर आधार बनायो भने छिटो निर्णय हुन्छ भनेर हामीले भन्यौँ तर कुनै दलहरूले आधार हैन हामीलाई धेरै चाहिन्छ भन्नुभयो । हामीले एउटा प्रस्ताव पनि राखेका थियौँ । त्यो के भने आज भएका प्रत्यक्ष र समानुपातिक संसदहरुलाई जोडेर आएको अङ्कलाई आधार मानौँ र निर्वाचन क्षेत्र प्राप्त गर्ने सकिन्छ । त्यसपछि बाँकी भएको संख्यालाई यतैको समानुपातिकमा बाँडफाँट गरौँ भनेर प्रस्ताव गर्‍यौँ । माओवादी यो विषयमा ठिकै छ भनेको छ तर काँग्रेसले हामीलाई धेरै चाहिन्छ भन्छ ।

काँग्रेसले हैसियतभन्दा धेरै खोजेको भन्ने हो ?

अरूको हैसियत हामीले तुलना गर्ने हैन । निर्वाचनको मिति नजिक आइसकेको छ । त्यसका लागि हैसियत त जनताले निर्धारण गर्ने हो । संगठन शक्ति जसको जति छ, त्यसले निर्धारण गर्ने हो । सहकार्य र गठबन्धन बन्नका लागि यो एकताको निकै आवश्यकता पर्दछ ।

सिट बाँडफाँट नै नमिलेका बेला क्षेत्र बाँडफाँट कसरी मिल्ला त ?

अन्तिम समयमा आएपछि मात्र कुरा मिलाउने हाम्रो पहिलादेखिको नै चलन हो । पहिले त सकेसम्म कमजोरलाई हेप्ने नेपाली चलन नै छ । त्यसैले सबै दलहरू एक भए मात्र यो सम्भव हुन्छ । जति नै जटिलता भए पनि त्यसको सामना गरेर सबै अगाडि बढ्छन् ।

एकीकृत समाजवादी कति सिटमा आएर सम्झौता गर्न तयार हुन्छ ?

हामी(एकीकृत समाजवादी) ले ४० जना नै मागेका छौँ तर कांग्रेसले १०० भन्यो । माओवादी केन्द्रले पनि लगभग ७० मागेको छ । हामीले प्रत्यक्ष र समानुपातिक जोडेर आउने सिट सङ्ख्यालाई आधार मानेर गरौँ पनि भनेका छौँ ।

काँग्रेसले वि.सं. २०६९ मा भएको स्थानीय चुनावले जनमत देखाउँछ, त्यसलाई आधार मानौँ भनेको छ त्यसलाई आधार नमान्ने त ?

त्यो त धेरै अगाडिको कुरा हो । हामीले वर्तमान अवस्था हेर्नुपर्छ । यदि प्रत्यक्षमा मात्र काँग्रेसले पाएको मतलाई हामीले जोड्ने हो भने त जम्मा २३ सिटमा छ । त्यसले पनि उसलाई नपुग्ला । त्यसैले यो अहिलेको यो विषयको मुख्य बाधक कांग्रेस  हो ।

काँग्रेस कति सिटसम्म आयो भने तपाईँहरूबीच मिलनको सम्भावना हुन्छ र यदि कांग्रेसले यो अडान कायम राख्यो भने गठबन्धन के हुन्छ ?

काँग्रेसले  प्रत्यक्षमा २३ सिट जितेको थियो र समानुपातिकसहित गर्दा ऊ ६३ को सङ्ख्यामा थियो । अब ६३ को संख्यालाई मुख्य आधार मानेर त्यसमा बढाएर नेकपा एमालेले जितेका सिटहरूबाट पनि अलिअलि आउँछ भनेर लाग्यो भने ६३ बाट ७० त पुग्ला तर १०० नै भनेर भन्यो भने त्यो नहुन सक्छ । किनभने अरूले पाउने पनि उसलाई कसैले दिँदैन।

यस्तै अवस्था रह्यो भने गठबन्धन टुट्छ त ?

पाँच दलीय गठबन्धन अब निर्वाचनअघि टुट्दैन । गठबन्धनका दलहरूले आफ्नो पक्षमा धेरै सिट ल्याउन सकिन्छ भनेर प्रयास भइरहेका छन् । केही दिन यसरी नै चल्छ । पछि सबै दलहरूले समाधान खोज्छन् ।

पहिला वाम एकता भनेर माओवादी र तपाईँहरूबीच छलफल अगाडि बढेको थियो, यो चुनाव लगत्तै गर्ने गरी गर्न लाग्नुभएको हो ?

अहिले त चुनावको नै एकता हो । अहिले हामी गठबन्धनलाई नै साथ दिएर जान्छौँ । यो घोषणापत्र एउटै राखेर लड्ने उद्देश्य भन्नेको भविष्यमा गरिने एकीकरणको विषयलाई व्यवहारिक रूपमा प्रस्तुत गर्नका लागि कार्यकर्ताबीच हार्दिकता र विचारमा एकरूपता ल्याउन मद्दत गर्दछ भन्ने हो ।

समाजवादीले एक्लै हिँड्ने बाटो प्रष्ट देखेको छैन, त्यसकारण माओवादीसँग पार्टी मिलाउन खोजेको हो ?

यसका विचार र एजेन्डाका हिसाबमा अगाडि जान्छ र जनताको मन कसरी जित्छ भन्ने हुन्छ । हामी हाम्रो एजेन्डा, विचार र धारणाका आधारमा अगाडि बढ्न सक्छौँ । भर्खरै नयाँ बनेको पार्टीले एकैपटक वर्षमा दुईवटा चुनावको सामना गर्नुपर्दा कठिनाइ त हुन्छ तर त्यो पछि हट्दैन । हामीले कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा उभ्याउन र मूल प्रवाह गर्नका निम्ति एक जुट बनाएर देश, संविधान, राष्ट्रियताको रक्षाको लागि  गरेको हुनाले एकता हुनु आवश्यक छ ।

चुनावपछि अब एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भयो भने अनौठो नमान्दा हुन्छ, त्यो तयारी तपाईंहरूले गर्नुभएको छ त ?

हामीले सबै कम्युनिस्टहरुलाई एक बनाऔँ भनेर लागिपरेका छौँ । त्यसमा बिस्तारै एमाले पनि आउँछ ।

डा. बाबुराम भट्टराई र बामदेव गौतम तपाईँहरूसँग मिल्ने सम्भावना छ कि छैन ?

अहिले भन्न सकिँदैन । वामदेव गौतम नजिक हुनुहुन्छ तर बाबुराम भट्टराईसँग एकताको कुरा भएको छैन ।

तपाईँहरूले चुनावी तयारी कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

पहिला गठबन्धनका स्वरूपहरू र आकारहरूलाई लिएर देशभर समानुपातिक निर्वाचन क्षेत्र र भोट माग्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले हामी आन्तरिक तरिकाले तयारी गरेका छौँ ।  गाउँगाउँमा संगठन निर्माण गर्ने चुनावको प्रचार गर्न कलम नै बोकेर साथीभाइहरु हिँडेका छन् ।

तपाई प्रतिनिधिसभाको सदस्यका रूपमा उदयपुर क्षेत्र नं २ बाट लड्ने तयारी गर्नुभएको रहेछ, त्यो क्षेत्रमा त एकीकृत समाजवादीको विजयी कहिल्यै भएको छैन, त्यो हिसाबले तपाईँको भागमा परेन भने के गर्नुहुन्छ ?

त्यस्तो सम्भावना म देख्दिनँ । किनभने मेरो सहयोगले नै माओवादीलाई जिताएको हो । त्यसैले उहाँहरूले पनि मलाई सहयोग गर्नुपर्छ । नेतृत्वले निर्णय गरेर ध्यान दिन्छ । त्यसको आधारमा नै फैसला हुन्छ ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ०७ बजे

ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरोध गरेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

काठमाडौं– सभामुख देवराज घिमिरेले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले संसद् बैठक