विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज भदौ २३ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ८, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्-

भियतनाममा आगलागी, ३२ जनाको मृत्यु

दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । उक्त कम्प्लेक्स माथिल्लो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारी अलपत्र परेका थिए ।

चार जनाले दोस्रो र तेस्रो तल्लाबाट हाम फालेर ज्यान जोगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीपछि अलार्म बजेको केही समयमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

१७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना रहेका थिए ।

सिरियामा भवन भत्किँदा ११ जनाको मृत्यु

सिरियाको उत्तरी सहर एलेप्पोमा पाँच तले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

राज्यसञ्चालित समाचार संस्था सानाका अनुसार एलेप्पो सहरस्थित अल–फरदोस क्षेत्रमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएपछिको भग्नावशेषमा सात महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको छ ।

एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।

भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको एलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा वर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ ।

यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही बासिन्दाहरू क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनहरुमा बस्छन् ।

पाकिस्तानमा ‘अकल्पनीय’ मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

पाकिस्तानमा अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।

पाकिस्तानमा पछिल्लो समय अत्यधिक बर्षापछिका बर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

“हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका छौँ, घातक बर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,” डब्लुएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मान्धरीले भने ।

पाकिस्तानमा केही समय अगाडिको वर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै नभएको जस्तो पाइएको उनको भनाइ छ ।

बर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको मान्धरीको बुझाइ छ ।

उनका अनुसार पछिल्लो बाढी पहिरोका कारण दशौँ लाख मानिस जवरजस्त असुरक्षित पानी प्रयोग गर्न वाध्य भएका छन् । अस्वस्थ पानी पिउने र अन्य प्रयोजनका लागि प्रयोग गर्ने कार्यले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने गरेको र मानवीय क्षति बढाउने गरेको उनले बताए ।

बाढी पहिरोका कारण विस्थापित भएकाहरू अहिले पनि असुरक्षित जीवन बिताइरहेका छन् । उनीहरूलाई आधारभूत उपभोग्य बस्तुहरुसँगै स्वास्थ्य सेवाको समेत अभाव रहेको छ । त्यसैले पनि मानवीय सङ्कट थप उत्पन्न हुन सक्ने उनको अनुमान छ ।

गुणस्तरीय आधारभूत सेवा सुविधा नपाउँदा झाडा पखाला, औलो, डेङ्गु लगायतका रोग लाग्ने र त्यसको उपचार नपाएर थप हजारौँ मानिसको मृत्यु हुने खतरा रहेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ ।

मानव प्रगति ५ वर्ष पछाडि धकेलियो ः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घको बिहीबार प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ लगायत अकल्पनीय सङ्कटले मानव प्रगतिलाई पाँच वर्ष पछाडि धकेलेको र विश्वव्यापी अनिश्चितताको लहरलाई बढावा दिएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले ३० वर्षअघि स्थापना भएको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मा लगातार दुई वर्ष घटेको उल्लेख गरेको छ ।

युएनडीपीका प्रमुख अचिम स्टेनरले एएफपीसँगको अन्तर्वार्तामा भने, “यसको अर्थ हामी अकालमा मर्दैछौँ, आवश्यकभन्दा कम शिक्षित छौं, हाम्रो आम्दानी घट्दै गएको छ भन्ने हो ।”

उनले भने, “केवल तीन मापदण्डहरूबाट हामीले यो बुझ्न सक्छौँ कि किन यति धेरै मानिसहरू निराश र भविष्यको बारेमा चिन्तित महसुस गर्न थालेका छन् ।’’

दशकौँदेखि निरन्तर उकालो लागिरहेको मानव विकास सूचकाङ्क सन् २०२० मा ओरालो लाग्न थालेको र सन् २०२१ मा पनि निरन्तर ओरालो लाग्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

‘अनिश्चित समय, अस्थिर जीवन’ शीर्षकको उक्त प्रतिवेदनले कोभिड–१९ महामारीलाई विश्वव्यापी मन्दीको पुनरुत्थानको प्रमुख कारकका रूपमा औंल्याएको छ, तर राजनीतिक, वित्तीय र जलवायुसँग सम्बन्धित सङ्कटहरूको बढ्दो सङ्ख्याले जनसङ्ख्यालाई पुनरुत्थान गर्न समय नदिएको पनि उल्लेख गरेको छ ।

“हामीले यसअघि पनि विपत्ति भोगेका छौं । हामीबीच पहिले पनि आर्थिक मन्दी भएको छ । तर अहिले हामीले सामना गरिरहेको कुराको संगम मानव विकासको लागि ठूलो धक्का हो,” स्टेनरले भने ।

अध्ययन रिपोर्ट अनुसार यो झट्का वास्तवमै विश्वव्यापी छ र यसले विश्वका ९० प्रतिशतभन्दा बढी देशलाई प्रभावित गरेको छ ।

केही देशहरू महामारीबाट मुक्त हुन थालिसकेका छन् भने ल्याटिन अमेरिका, सब–सहारा अफ्रिका, दक्षिण एसिया र क्यारेबियन क्षेत्रका धेरै राष्ट्रहरूले युक्रेनमा युद्ध अर्थात् नयाँ सङ्कट आउनुअघि नै कुनै परिवर्तन गरेका थिएनन् ।

खाद्य र ऊर्जा सुरक्षामा रूसले युक्रेनमाथि गरेको आक्रमणको परिणामयस वर्षको सूचकांकमा गणना नगरिएको भए तापनि सन् २०२२ को परिदृश्य भयावह रहेको स्टेनरले बताए ।

मानव विकास सूचकाङ्कको पछिल्लो गिरावट हुनुको कारण विश्वव्यापी रूपमा औसत आयुमा आएको गिरावटलाई मानिएको छ, जुन सन् २०१९ मा ७३ वर्षबाट घटेर सन् २०२१ मा७१ दशमलब ४ वर्षमा झरेको छ ।

प्रतिवेदनका प्रमुख लेखक पेड्रो कोन्सेकाओले संयुक्त राज्य अमेरिकालगायत केही देशहरूमा दुई वर्ष वा सोभन्दा बढीको गिरावट आएको उल्लेख गर्दै यो कमीलाई ‘अभूतपूर्व झट्का’ को रूपमा वर्णन गरेका छन् ।

जलवायु परिवर्तन, भूमण्डलीकरण र राजनीतिक ध्रुवीकरणजस्ता परिवर्तनकारी शक्तिहरूले कसरी मानवजातिलाई ‘मानव इतिहासमा कहिल्यै नदेखेको’ अनिश्चितताको जटिल स्तरको साथ प्रस्तुत गर्दछ, जसले गर्दा असुरक्षाको भावना बढ्दै जान्छ भन्ने कुरा पनि प्रतिवेदनमा वर्णन गरिएको छ ।

स्टेनर भन्छन्, “मानिसहरूले एक अर्कामाथिको विश्वास गुमाइसकेका छन् ।”

“संस्थाहरूमा ध्यान नदिनुहोस्, हाम्रो छिमेकी अब कहिलेकाहीं सबैभन्दा ठूलो खतरा बन्छ, चाहे त्यो समुदायमा शाब्दिक रूपमा बोल्दा होस्, वा राष्ट्रहरूद्वारा विश्वव्यापी रूपमा, जसले हामीलाई अविश्वासी बनाइरहेको छ ।’

“हामी गत शताब्दीको उपायहरूलार्ई निरन्तरता दिन सक्दैनौं,” स्टेनरको तर्क छ । रामबाणको रूपमा वृद्धिमा निर्भर हुनुको सट्टा आर्थिक रूपान्तरणमा ध्यान केन्द्रित गर्न प्राथमिकता दिइनुपर्ने उनको भनाइ छ ।

“स्पष्ट रूपमा भन्नुपर्दा, हामीलाई अहिले आवश्यक रूपान्तरणहरूले कम कार्बन, कम असमानता, अधिक स्थिरताजस्ता भविष्य निर्धारण गर्ने समस्याको खोजी गर्न र यसको ठोस समाधान खोज्न आवश्यक छ ।’ उनले भने ।

प्रतिवेदनले नवीकरणीय ऊर्जामा लगानी र भविष्यको महामारीको तयारी, सङ्कटहरू अवशोषित गर्न बीमा, र भविष्यको सङ्कटको सामना गर्ने क्षमतालाई बलियो बनाउन नवीनताहरूजस्ता तीन वटा मुख्य क्षेत्रमा ध्यान केन्द्रित गरेर सुधार गर्न सकिने बताएको छ ।

स्टेनरले अति जोखिममा रहेका देशहरूलाई विकास सहायताको पछिल्लो घट्दो प्रवृत्तिलाई उल्ट्याउन पनि आग्रह गरे । स्टेनरले भने, “त्यो बाटोलाई निरन्तरता दिनु गम्भीर त्रुटि हुनेछ र यसले राष्ट्रहरूबीच मिलेर काम गर्ने हाम्रो क्षमतामा पार्ने प्रभावलाई कम आँक्छ ।”

बुरुन्डीमा राजनीतिक संकट, राष्ट्रपतिद्वारा प्रधानमन्त्री र सेनाप्रमुख बर्खास्त

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपति इवरिस्ते न्दिसिमियेले प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गरेका छन् ।

केही समययता अशान्त रहँदै आएको देशमा राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जर्नेल समेत रहेका राष्ट्रपति न्दिसिमियेले प्रधानमन्त्री एलेन गुइलाउम बुन्योनी र सेना प्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरेका हुन् ।

उच्च पदस्त दुई अधिकारीको बर्खास्तसँगै हतार हतार बोलाइएको संसदको अधिवेशनमा सांसदहरूले सुरक्षामन्त्री गेरवाइस नदिराकोबुकालाई बुन्योनीको स्थानमा प्रधानमन्त्री चुनेका छन् ।

बुरुन्डीको संसदमा उपस्थित ११३ सदस्यको सर्वसम्मत मतदानबाट उनलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको राष्ट्रिय प्रसारक आरटीएनबीले जनाएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका न्दिस्मीयेले बुन्योनीलाई बर्खास्त गर्नुको कुनै कारण खुलाएका छैनन् । तर, उनले गत साता आफ्नो सरकारविरुद्ध सत्ताविद्रोह अर्थात् ‘कू’ को षडयन्त्र भइरहेको दाबी गरेका थिए ।

शुक्रबार मुलुकको प्रशासकीय राजधानी गितेगामा सरकारी अधिकारीहरूको बैठकमा न्दिसिमियेले चेतावनी दिँदै भनेका थिए, “सेनाका जनरलले ‘कू’ गर्छु भनेर धम्की दिन सकिन्छ जस्तो लाग्छ ? त्यो व्यक्ति को हो ? जो सुकै भए पनि आउनुपर्छ र ईश्वरको कृपामा म उसलाई परास्त गर्नेछु ।”

सत्तारुढ सीएनडीडी–एफडीडी पार्टीमा लामो समयदेखि वरिष्ठ नेताका रुपमा रहेका पूर्व प्रहरी प्रमुख तथा सुरक्षा मन्त्री बुन्योनीको अवस्थाबारे तत्काल कुनै जानकारी गराइएको छैन ।

राष्ट्रिय गुप्तचर सेवाको नयाँ सैनिक प्रमुखको जिम्मेवारी विशेष शक्तिसहित सेनाका कर्नेल एलोयस सिन्दायिहेबुरालाई दिइएको छ । उनलाई प्रधानमन्त्रीका गतिविधिलाई अनुगमन गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।

ह्वाट्सएपमा रातारात पठाइएको अत्यन्त जरुरी सूचनामार्फत सांसदहरूलाई बुधबार संसदको अधिवेशनमा सहभागी हुन आह्वान गरिएको थियो ।

खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता लिएको जेलेन्स्कीको दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले नियन्त्रणमा लिएको देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता लिएको दाबी गरेका छन् ।

‘यस साता हामीलाई खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ’ जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ‘अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन ।’

पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता हासिल गरेको पर्यवेक्षकहरूले जनाएका छन् । युक्रेनले गत हप्तादेखि देशको दक्षिणी भागमा प्रतिआक्रमण गरिरहेको छ, जहाँ उसले धेरै गाउँहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

२४ फेब्रुअरीमा युद्ध भएपछि रुसी सेनाले खार्किभ क्षेत्रलाई आंशिक रुपमा कब्जा गरेको छ ।

श्रीलङ्कामा ३७ राज्यमन्त्री थपिए

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

नयाँ मन्त्रीपरिषद्मा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन् ।

उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि त्यहाँको जनजीवन नै प्रभावित बनेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका सङ्केतहरू देखिए पनि अझै आर्थिक सङ्कट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन ।

बहामासमा सार्कको आक्रमणमा अमेरिकी महिलाको मृत्यु

क्यारेविअन सागरमा अवस्थित टापु मुलुक बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी एक अमेरिकी महिलाको सार्कको आक्रमणमा परी मृत्यु भएको छ ।

अमेरिकाको पेन्सिल्भेनिया राज्यकी ५८ वर्षीया महिलालाई बहामासको राजधानी नासाउ नजिकै रहेको ग्रीन के समुद्रमा सार्कले आक्रमण गरेको शाही बहामियन प्रहरीले जनाएको छ ।

मृकको नाम क्यारोलाइन डिप्लासिडो रहेको अमेरिकी टेलिभिजन एनबीसीको अनलाइन संस्करणले जनाएको छ ।

पाँचदेखि सात जनाको समूहमा रहेका बेला उनलाई बुल सार्कले आक्रमण गरेको शाही बहामियन प्रहरी उपरीक्षक क्रिस्लिन स्किपिङ्ग्सिलाई उद्धृत गर्दै एनबीसीले जनाएको छ ।

‘टुर अपरेटरहरू र परिवारका सदस्यहरूले महिलालाई बचाउने प्रयास गरे’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, तिनीहरू असफल भए जसको कारण महिलाको शरीरको देब्रे भागमा गम्भीर चोट लागेको थियो ।

उनलाई समुद्रबाट बाहिर ल्याउदा उनी मृत भइसकेको प्रहरीले जनाएको छ । सार्कले महिलामाथि गरेको आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : २० बजे

गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा– गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको