विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज भदौ २४ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ९, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्-

 

बेलायती महारानी एलिजावेथको निधन

बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

एलिजावेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको थियो ।

बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् ।

यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने जनाइएको छ । उनका चार नामहरु चार्ल्स फिलिप अर्थर जर्जमध्ये उनले कुनै पनि नाम चयन गर्न सक्ने भएपनि उनले आफ्नो नाम चार्ल्स नै रोजेको बीबीसीले जनाएको छ ।

उनी राजा भएसँगै उनकी धर्मपत्नी रानी कमिला ‘क्विन कन्सर्ट’ भएकी छिन् । यद्यपि उनलाई कुनै नयाँ पद नदिइएको बीबीसीले जनाएको छ ।

उनका छोरा राजकुमार विलियमले चार्ल्सको पद ‘ड्युक अफ क्रोनवाल’ र बुहारी केटले कमिलाको पद ‘डचेस अफ क्रोनवाल’ पाएका छन् ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् ।

बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो ।

महारानी एलिवेथ द्वितीयको बिहीबार ९६ बर्षको उमेरमा निधन भएको बेलायती राजदरबारले घोषणा गरेसँगै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उनको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

“विश्वव्यापी नेतृत्व गर्नु भएकी र सबैलाई प्रेरणाको श्रोत बन्दै आउनु भएकी महारानीको निधनले मलाई दुखि बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु,” उनले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ ।

संयुक्त राष्ट्रसङ्घप्रति महारानी सधैँ असल साथीको रुपमा रहेको स्मरण गर्दै महासचिव गुटेरेसले राष्ट्रसङ्घले एउटा असल साथी र असल अविभावक गुमाएको उल्लेख गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको प्रेरणादायी नेतृत्वको स्मरण गरेका छन् । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूती व्यक्त गरिएको छ ।

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजावेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । “उहाँको त्यो आत्मियता, स्नेह र अविभावकत्व मैले कहिले भुल्न सक्दिन,” प्रधानमन्त्री मोदीले लेखेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले शुक्रबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि ब्रिटिश सरकार र जनताप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।

चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै सीले गहिरो समवेदना व्यक्त गरेका छन् । महारानीको निधन ब्रिटिश जनताको लागि ठूलो क्षति भएको सीले बताएको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जारी गरिएको विज्ञप्तिमा महारानी एलिजाबेथ चीन भ्रमण गर्ने पहिलो बेलायती राजसंस्था प्रमुख रहेको जनाइएको छ । उनले बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म राजसंस्थाको सेवा गर्ने उनको शासनकालको प्रशंसा समेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी प्रथम महिलाले पनि बेलायती महारानीको निधनको खबरले आफूहरुलाई दुखित बनाएको उल्लेख गरेका छन् ।

उनीहरुले अमेरिकास्थित बेलायती दूतावासमा राखिएको शोक पुस्तिकामा आफैँले शोक वक्तव्य लेखेका थिए । केही मिनेट लगाए लेखिएको वक्तव्यमा उनीसँग भएका भेटवार्ताको पनि स्मरण गरिएको छ । महारानी एलिजावेथ द्वितीयलाई एउटा असल, परिपक्व अविभावको रुपमा उनीहरुले स्मरण गरेका छन् ।

वक्तव्य लेखेर हस्ताक्षर गरेपछि राष्ट्रपति दम्पत्तिले बेलायती राजदूतलाई आफूहरु बेलायतको दुःखमा साथसाथै रहेको बताउँदै सहानूभूति व्यक्त गरेका थिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक व्यक्त गर्दै उनीजस्तो व्यक्तिको खाँचो विश्वलाई परिरहने उल्लेख गरेका छन् । बेलायतका महारानी भएपनि उनले विश्वलाई नै माया, प्रेम र प्रेरणा दिइरहेको पुटिनद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

उनको निधनप्रति क्यानडाले पनि दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टीन टु«डोले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक व्यक्त गरेका हुन् । उनले क्यानडाका जनताले महारानीलाई सधैँ स्नेही पात्रको रुपमा स्मरण गरिरहने उल्लेख गरेका छन् ।

क्यानडाको इतिहासमा उनी एउटा मुख्य पात्रको रुपमा रहेकाले उनले क्यानडालाई गरेको सेवाप्रति सबै जनता ऋणी रहेको टु«डोको भनाइ छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि शोक वक्तव्य प्रकाशित गर्दै यस दुःख समयमा अष्ट्रेलियाका जनता बेलायती जनताको साथमा रहेको उल्लेख गरेका छन् ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंले पनि बेलायती महारानीलाई एकताको प्रतिकको रुपमा स्मरण गरेका छन् । “बेलायती जनतालाई एकताको सुत्रमा बाँध्ने पात्रको रुपमा भूमिका खेलेकी महामारीको निधनले हामीलाई दुखि बनाएको छ,” उनले जारी गरेको वक्तव्यमा लेखिएको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनस्कीले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गरेका छन् ।

त्यसैगरी पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, इजरायलका प्रधानमन्त्री याइर लापिड, न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्न, इटलीका प्रधानमन्त्री मारियो ड्राघी, पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्की लगायतका दर्जनौँ देशका राष्ट्र तथा सरकार प्रमुखहरुले उनको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।

“उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

शोक मनाउने दिन भारतभर र विदेशस्थीत भारतीय कार्यालयहरुमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।

पाकिस्तानमा ग्रिनेड आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित खुरम–ए– दाद चोकमा अज्ञात मोटरसाइकल चालकहरूले ग्रिनेड प्रहार गर्दा एक महिला र एक नाबालिग बालिका सहित कम्तीमा सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको घुम्तीमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रहरी र अन्य कानून प्रवर्तन निकायका कर्मचारीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पतालमा लगिएको बताइएको छ । आक्रमणकारीहरू भने हालसम्म बेपत्ता छन् ।

कलानको इमामबारगाहको सुरक्षा गर्न खुरमए दाद चोकमा फ्रन्टियर कोरको चेक पोस्ट पनि रहेको थियो।

पाकिस्तानमा हालैका दिनहरूमा यस किसिमका आक्रमण र अराजकताका थुप्रै घटनाहरू सामना गरिरहेको छ ।

मोदी पुनः विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् । मर्निङ कन्सल्टको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त सर्वेक्षण अनुसार मोदीको नेतृत्वलाई ७५ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएका छन् । उनीपछि ल्याटिन अमेरिकी मुलुक मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर दोस्रो स्थानमा छन् । उनको नेतृत्वलाई ६३ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ ।

त्यस्तै, उनीपछि तेस्रो स्थानमा युरोपेली मुलुक इटालीका प्रधानमन्त्री मारियो द्राघी रहेका छन् । उनको नेतृत्वलाई ५४ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको मर्निङ कन्सल्टलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

२२ जना विश्व नेताहरु समावेश उक्त सर्वेक्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने ४१ प्रतिशत लोकप्रियताका साथ पाचौँ स्थानमा छन् ।

यसअघि यही वर्षको जनवरी एवम् अघिल्लो वर्षको नोभेम्बर महिनामा सार्वजनिक गरिएको यस्तै सूचकांकमा पनि मोदी सबैभन्दा लोकप्रिय नेता रहेको पाइएको थियो ।

भारतद्वारा कनिकाको निर्यातमा प्रतिबन्ध

भारतले टुक्रा चामल (कनिका) को निर्यातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार टुटेफुटेको चामलको निर्यात नीतिलाई निषेधित गरिएको छ ।

अधिकारीहरूका अनुसार यो कदमको उद्देश्य घरेलु उपलब्धता बढाउनु र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्नु हो ।

यसअघि भारत सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिनको लागि गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो ।

विज्ञहरूका अनुसार भारतको चामल ढुवानीमा प्रतिबन्धले विश्वव्यापी खाद्य मूल्यलाई उच्च बनाउनेछ र विश्वव्यापी खाद्य मुद्रास्फीतिलाई बढाउनेछ ।

रुस–युक्रेन द्वन्द्व, खडेरी र गर्मीको लहरका कारण पहिलेदेखि नै बढिरहेको खाद्यान्नको मूल्यमा विश्वले पहिलेदेखि नै दबाबको सामना गरिरहेको छ ।

विश्वमा चामल निर्यात हुनेमध्ये ४० प्रतिशत हिस्सा भारतले ओगटेको छ । भारत सरकारले गत मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

पाकिस्तानमा बाढी पहिरोका कारण थप ३६ जनाको मृत्यु

पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समयमा बर्षासँगै आएको बाढी पहिरोका कारण दैनिक धनजनको क्षति भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन भने छ जना महिला रहेको जनाइएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी सिन्ध प्रान्त प्रभावित भएको छ । पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन् । अर्का एक जनाको भने खैबर पख्तुन्खवा प्रान्तमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाकिस्तानमा पछिल्लो समयमा २६ हजार छ सय ५२ घर क्षतिग्रस्त भएका छन् । योसँगै कुल १७ लाख ३९ हजार १६६ घर क्षतिग्रस्त भएका छन् । त्यसैगरी एक हजार ३९१ जनाको बाढी पहिरोका कारण मृत्यु भएको प्राधिकरणले जनाएको छ । अरु १२ हजार सात सय २२ जना घाइते भएका छन् ।

पाकिस्तानमा गत मध्य जुनदेखि सुरु भएको मनसुनसँगै आएको बर्षापछिको बाढी पहिरोले धेरै क्षति गरेको छ । बाढी पहिरोका कारण प्रभावित भएका मध्ये एक लाख ७७ हजार दुई ६५ जनालाई उद्धार गरिएको छ भने अरु छ लाख ६३ हजार आठ सय ६९ जना अझै पनि विस्थापित भएर अस्थायी शिविरमै रहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : १९ बजे

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

पर्सा- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

बैंकक– थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

काठमाडौं– मिर्गौला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो, जसले रगत

वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई

उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलामा विरोध जनाउँदै देशभरका सम्पूर्ण चिकित्सक तथा