विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज भदौ २७ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १२, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

बेलायती महारानीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने भएका छन् ।

बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ । ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।

बाइडेनसँगै प्रथम महिला जाने छिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । बाइडेनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने÷नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन ।

सिचुवान भूकम्प : मृतकको सङ्ख्या ९३ पुग्यो

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।

चीनको उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी क्षेत्रमा ५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन् ।

सेप्टेम्बर ५ का दिनमा स्थानीय समयानुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ‘चाइना भूकम्प नेटवर्क सेन्टर’ ले जनाएको थियो ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी चेङ्दुमा पनि महसुस गरिएको थियो ।

रुसी फौजद्वारा पूर्वी युक्रेनमा विद्युत आपूर्ति ठप्प

युक्रेनी प्रत्याक्रमणको बदला लिन रुसी फौजले पूर्वी युक्रेनमा विद्युत आपूति ठप्प पारिदिएका छन् । पूर्वी युक्रेनमा रुसी फौजले विद्युत आपूर्ति ठप्प पारिदिँदा लाखौँ मानिसहरु अन्धकारमा बस्न बाध्य भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

युक्रेनले हालै सुरु गरेको प्रत्याक्रमणका क्रममा रुसी कब्जामा रहेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका बेला रुसले विद्युत काटिदिएको हो ।

विद्युत आपूर्ति रूपमा काटिनुले खार्किभ र डोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ । खार्किभका मेयर इहोर तेरेखोभले नागरिक पूर्वाधारमा रुसी आक्रमणले उक्त सहरको धेरैजसो भागमा बिजुली र पानी नभएको बताए ।

उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताको बदला लिने एउटा ‘घिनलाग्दो र निन्दनीय प्रयास’ को संज्ञा दिएका छन् ।

उक्त सहरमा दुई वटा मिसाइल हमला भएको बीबीसीले जनाएको छ । तेरेखोभ र उक्त राज्यका गर्भनरले सर्वसाधारणलाई शान्त हुन आह्वान गरेका छन् । आकस्मिक सेवाहरूले क्षति मर्मत गर्न र आगो निभाउन काम गरिरहेका बताइएको छ ।

छिमेकी सुमी क्षेत्रका गभर्नरले एउटै जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताए ।

ड्निप्रोपेत्रोभ्स्क र पोल्टाभा क्षेत्रका बासिन्दा पनि विद्युतविहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिजुली कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाएका छन् ।

विदेशिएका नागरिकबाट प्राप्त रेमिटेन्सले राहत मिलेको छ : श्रीलङ्काली श्रममन्त्री

श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन् ।

उनले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो विस्तारै सहज भएको बताए । उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४ दशमलब ६ प्रतिशतले बढेको पाइएको जानकारी दिएका हुन् ।

उनले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद पनि दिएका छन् । ‘देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ’– मन्त्री नानकायराले भने ।

गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी मानिसहरु वैदेशिक रोजगारीका लागि विदेशिएका बताइएको छ ।

श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिएका हुन् ।

यसअघि उनले आइतबार यसवर्ष मात्र दुई लाख भन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएको जानकारी दिएका थिए । यसबाहेक अरु कतिपयश्रीलङ्कालीहरु पनि दर्ता नै नगराइकन विदेश गएका हुनसक्ने जनाइएको छ ।

सिरियामा आईएसको आक्रमणमा ६ जनाको मृत्यु

उत्तरपूर्वी सिरियाको हासके प्रान्तमा आतङ्कवादी संगठन इस्लामिक स्टेट आईएसको आक्रमणमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । सिरियाको कुर्दबहुल हसाके प्रान्तमा सडकमा सवारी साधनमा यात्रा गरिरहेका मानिसहरुमाथि आईएसका लडाकुले हमला गरेका हुन् ।

आईएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई धरापमा पारेर हत्या गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै स्पष्ट भएको छैन ।

पछिल्लो समयमा आईएस आतङ्ककारीहरुले सडकमै धराप थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।

सिरियाली अधिकारीहरुले दिएको जानकारीअनुसार आईएसले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा सांघातिक धराप थापेर आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।

पपुवा न्युगिनीमा गएको भूकम्पमा परी ७ जनाको मृत्यु

पपुवा न्युगिनीमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा सात जनाको मृत्यु भएको छ ।

आइतबार बिहान गएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ ।

संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिए । नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ ।

‘त्यहाँ व्यापक क्षति भएको छ’, केसी सवाङले भने, ‘पहिरोले घरहरू पुरिएका छन् । एउटा गाउँसँगको सम्पर्क बिच्छेद भएको छ।’ भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

बंगलादेशमा चिनियाँ कम्पनी कर छलीमा संलग्न

बंगलादेशमा चिनियाँ कम्पनीहरुले कर छली गर्ने गरेको पाइएको छ । बंगलादेशी अधिकारीहरुले चीनमा आधारित रहेका कम्पनीहरुले कर छली गर्ने गरेको पत्ता लगाएका हुन् ।

हालैमात्र कोन्डा आर्ट मटेरियल्स बंगलादेश को. लिमिटेड नाम गरेको कम्पनीको शाखा निङ्बो कोन्ठा आर्ट सप्लायर्स ग्रुपले चीनमा बनेका सामानलाई ‘बंगलादेशमा बनेको’ भन्दै ठूलो परिमाणमा राजश्व छली गरेको पाइएको हो ।

उक्त कम्पनीले २ सयभन्दा धेरैपटक यस्ता सामान चीनबाट बंगलादेशतर्फ आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअनुसार बंगलादेशलाई ३५ लाख अमेरिकी डलर हानी भएको बताइएको छ ।

यसबाहेक उक्त कम्पनीले ‘एक्सपोर्ट प्रोसेसिङ जोन’ अर्थात् निर्यात प्रशोधन क्षेत्रको पनि उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

बंगलादेशले आफ्नै मुलुकमा तयारी वस्तु उत्पादन गरी विदेशमा निर्यात गर्नका लागि कच्चा पदार्थको आयातमा छुट दिने गरेको भएपनि यस कम्पनीले चीनबाट नै तयारी वस्तु बंगलादेशतर्फ ल्याएर त्यहाँबाट पुनः अर्को मुलुकतर्फ निर्यात गर्ने गरेको पाइएको हो ।

यसअघि गत जुलाई महिनामा बंगलादेशी सुरक्षाकर्मीले चीनबाट आयात गरिएका २७ सय कार्टन विदेशी मदिरा बरामद गरेका थिए ।

चिनियाँ राष्ट्रपति सीले यसै साता मध्य एसियाको भ्रमण गर्ने

चीनका राष्ट्रपति सी जिन्पिङले यस हप्ता मध्य एसियाली मुलुकहरु कजाखस्तान र उज्बेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोना भाइरस महामारीको प्रारम्भिक समययता हालसम्म उनको यो पहिलो विदेश भ्रमण हुने सोमबार जानकारी दिइएको छ ।

सीले उज्बेकिस्तानको समरकन्द शहरमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) का नेताहरुको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । यसअघि सार्वजनिक समाचारमा सीले यसै भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताइएको थियो ।

राष्ट्रपति सीले बुधबारदेखि शुक्रबारसम्म कजाखस्तान र उज्बेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

एससीओमा चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान सदस्य राष्ट्र छन् । यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने तय भएको छ ।

यसअघि राष्ट्रपति सी सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा गएका थिए । उनी फर्केको केही दिनपछि पूरै वुहान सहरलाई कोरोना भाइरसको प्रकोपले छोपेको थियो । त्यसयता उनले विदेश भ्रमण गरेका छैनन् ।

ट्युनिशियाको तटपारी आप्रवासी बोकेको डुंगा डुब्यो, ११ जनाको मृत्यु

उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारी भूमध्यसागरमा आप्रवासी बोकेको डुंगा दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ३७ आप्रवासी बोकेर इटालीतर्फ जाँदै गरेको डुंगा डुबेपछि ट्युनिसियाको तटरक्षक बलले १४ जनाको उद्धार गरेको छ ।

पछिल्लो पटक थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चारमाध्यम ट्युनिश अफ्रिक प्रेस टीएपीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।

ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको बताइएको छ । उत्तर अफ्रिकाको यस क्षेत्रमा विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ ।

विश्वभर आधुनिक दासप्रथा बढ्यो : आईएलओ

विश्वभर आधुनिक दासप्रथा ह्वात्तै बढेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पछिल्लो एक वर्षमा मात्रै आधुनिक दासप्रथामा बाँच्न विवश मानिसहरुको सङ्ख्या १ करोडले बढेको उल्लेख छ । यससँगै हाल विश्वभर झण्डै ५ करोड मानिसहरु दास भएर बाँच्न बाध्य रहेको आईएलओले जनाएको छ ।

यसअनुसार विश्वका हरेक १५० मध्ये एकजना अनिच्छित श्रम एवम् अनिच्छित विवाह गर्न बाध्य छन् ।

आईएलओले पछिल्लो तथ्यांक र आधुनिक दासताको अवस्था अझ खराब हुँदै जानुलाई लाई ‘आश्चर्यजनक’ भनेको छ ।

‘नैसर्गिक मानवअधिकारको यस्तो उल्लङ्घन कायमै रहनुलाई कुनै हालतमा न्यायोचित मान्न सकिन्न ।’ आईएलओका महानिर्देशक गाई राइडरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसका लागि समाजमा रहेका ट्रेड युनियन, रोजगारदाता संगठन, नागरिक समाज र आम सर्वसाधारणको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

आईएलओले आधुनिक दासता गरिब मुलुकमा मात्रै नभई विकसित पश्चिमा मुलुकमा पनि उत्तिकै व्यापक रहेको पाइएको जनाएको छ ।

आधुनिक दासतामध्ये झण्डै आधा विकसित एवम् उच्च–मध्यम आय भएका मुलुकमा रहेको पाइएको आईएलओको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आईएलओले अनिच्छित श्रमसँगै अनिच्छित विवाहलाई पनि दासताको श्रेणीमा राखेको छ । दुबै अवस्थामा रहेको व्यक्ति ‘धम्की, हिंसा, छली, शक्तिको दुरुपयोग वा अन्य कारणले’ यथास्थितीबाट उम्कन नसक्ने भएका कारण अनिच्छित विवाहलाई पनि आधुनिक दासताको श्रेणीमा राखिएको जनाइएको छ ।

‘अनिच्छित श्रम केही वर्षसम्म रहनसक्छ, तर अनिच्छित विवाह जन्मकैदजस्तै हुने गर्छ ।’ आईएलओको प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर २ करोड २० लाख मानिसहरु अनिच्छित विवाहको फन्दामा परेको बताइएको छ । यीमध्ये दुई तिहाई महिला छन् । यसमा पनि अधिकांशले १५ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको पाइएको जनाइएको छ ।

विभिन्न चक्रिय संकटका कारण आधुनिक दासताको अवस्था खराब बन्दै गएको प्रतिवेदनमा जनाइएको छ ।

उदाहरणका लागि कोभिड १९ महामारीले धेरै मानिसहरुलाई गरिबीमा धकेलेको छ । परिणामस्वरुप धेरै मानिसहरु ऋणमा डुबेको र अरु कैयौँ कठोर गरिबीमा फसेको जनाइएको छ । यसबाट पनि मानिसहरु अनिच्छित श्रममा लाग्न बाध्य भएको आईएलओको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन पनि आधुनिक दासता बढ्नुको कारण रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ०६ बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ