काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. राष्ट्रपति विरुद्ध परेका रिटमाथि आज सुनुवाइ हुने
नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिट निवेदनहरूमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गरेको दाबीसहित पाँच वटा रिट दायर भएका छन्। राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको खिलाफ रहेको दाबी रिट निवेदकहरुले गरेका छन्। साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा १ सय १३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ।
२. सभामुख र उपसभामुख विरुद्धको रिटमा पनि आजै सुनुवाइ हुने
सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पनि आज नै सुनुवाइ हुने भएको छ। हिजो परेको रिटमाथि सुनुवाइका लागि आज पेसी तोकिइसकेको छ। अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन्।
३. गठबन्धनको बैठक आज पनि बस्दै
सिट बाँडफाँटको विषयमा टुंगो लागाउन आज पनि गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुट्ने भएका छन्। गठबन्धनको बैठकअघि तीन दलको छुट्टै छलफल हुँदै छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बीच अहिले बिहान छुट्टै छलफल हुँदै छ। पाँच दलीय गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटमा सहमति नजुटिरहेका बेला तीन दल छुट्टै छलफलमा जुटेका हुन्। गठबन्धन बैठकमा पेस गर्ने सिट संख्याबारे सहमति गर्न तिन दल छुट्टै छलफलमा जुटेको जनाइएको छ। तीन दलको छलफलपछि मात्रै गठबन्धनको संयुक्त बैठक बस्ने तयारी भएको छ। आज दिउँसो २ बजे शीर्ष र कार्यदलका सदस्यसहितको बैठक बस्ने नेताहरूले बताएका छन्। आज साँझसम्म सिट बाँडफाँटबारे सहमति गर्ने तयारी भइरहेको नेताहरूको भनाई छ।
४. साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले विभिन्न व्यापारिक प्रतिष्ठान, व्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ। महानगरले आज आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र वडा कार्यालयमा साइनबोर्ड बापतको शुल्क तिर्न आग्रह गरेको हो। छ वर्गफूटको एउटा साइनबोर्डको पाँच सय, १५ वर्गफुटको भए १५ सय तथा १५ वर्गफुटदेखि ३० वर्गफुटसमम्मको साइनबोर्ड भए प्रति वर्गफुट एक हजारका दरले शुल्क बुझाउन महानगरले आग्रह गरेको छ। ३० वर्गफुट भन्दा ठूलो साइनबोर्ड भने लगाउन नपाइने पनि महानगरले जनाएको छ।
५. भीमफेदी दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत
मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ७ मध्ये ६ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी–३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज–३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो। काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो। घाइते २५ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
६. जाजरकोटमा नेकपा बहुमतका नेता पक्राउ
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन्।नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन्। नेकपा (बहुमत)ले भने विज्ञप्ति जारी गर्दै योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन्।
७. टेन्डर नपरेपछि ढुवानी भएन चामल
टेन्डर नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न नसकेको पाइएको छ। दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर कसैले टेन्डर नहाल्दा चामल ढुवानी अन्योलमा परेको हो। पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताउनुभयो। रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो।
८. सशस्त्रमा जागिर खुल्यो
सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।
लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले आज सार्वजनिक सूचना जारी गरी इन्स्पेक्टर र असई मागेको हो। ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो। योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सक्ने जनाइएको छ।
९.रुसलाई हतियार बिक्री गरेको छैनः उत्तर कोरिया
उत्तर कोरियाले रुसलाई कुनै पनि हतियार बिक्री नगरेको प्रस्ट पारेको छ। रुसले आफ्नो कोत पूर्ववत् अवस्थामा राख्नका लागि उत्तर कोरियासँग सम्झौता गरेको अमेरिकी अधिकारीले दाबी गरेका थिए। त्यसका साथै रुसले इरानी हतियार पनि खरिद गरेको र त्यो पश्चिमा देशले रुसविरुद्ध लगाएका प्रतिबन्धको उल्लंघन भएको अमेरिकी अधिकारीको भनाइ छ। त्यसको प्रतिक्रियामा उत्तर कोरियाले आफूले कुनै पनि देशलाई कुनै हतियार बिक्री नगरेको बताएको हो। सैन्य तथा राजनीतिक उद्देश्य पूर्तिका लागि अमेरिका र अन्य विरोधी शक्तिहरूले अफवाह फैलाएको केसीएनएले जनाएको छ।
१०. यूईएफए नेसन्स लिग फ्रान्सको पहिलो जित
यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ। समूह चरण अन्तर्गत गए राति अष्ट्रियालाई २–० गोल अन्तरले हराउँदै फ्रान्सले पहिलो जित निकालेको हो। फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जेरुडले एक एक गोल गरे। त्यसपछि ६५ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए। जेरुड फ्रान्सका लागि सर्वाधिक बढी उमेरका गोलकर्ता बनेका छन्। जितसँगै फ्रान्सले ५ खेलमा ५ अंक जोडेको छ। लिग ए समूह १ को फ्रान्स समूहको तेस्रो स्थानमा रहेको छ। अष्ट्रिया ४ अंक जोडेर पुछारमा रहेको छ। त्यस्तै गएराति भएकै अर्को खेलमा बेल्जियमले जित निकालेको छ। बेल्जियमले वेल्सलाई २–१ गोल अन्तरले हराएको हो।
प्रतिक्रिया