विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज असोज ७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २३, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अडियो सुन्नुहोस्-

इरानमा हिंसात्मक प्रदर्शन

कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

२२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ‘अनुचित’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउपछि हिरासतमा मृत्यु भएको थियो । लगभग तीन वर्षमा देशव्यापी तनाब सिर्जना गरेको विरोधप्रदर्शनलाई पछिल्ला केही दशक यता भएका सबैभन्दा ठूला आन्दोलनमध्ये एक आन्दोलनका रूपमा हेरिएको छ ।

‘तानाशाहको मृत्यु’ र ‘महिला, जीवन, स्वतन्त्रता’, प्रदर्शनकारीहरूले अनलाइनमा शेयर गरिएको भिडियोमा चिच्याएको सुन्न सकिन्छ ।

झडपमा मारिएकामध्ये प्रहरी र मिलिसियाका अधिकारीहरू पनि रहेको सरकारी टेलिभिजनले जनाएको छ भने विदेशमा रहेका मानव अधिकारवादी समूहहरूले अझै धेरै व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

एम्नेस्टी इन्टरनेसनल र अन्य मानवअधिकार वादी समूहका अनुसार सुरक्षाकर्मीले भीडमाथि गोली चलाउनुका साथै अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ ।

इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप र इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।

न्युयोर्कदेखि इस्तानबुलसम्म भएको ऐक्यबद्धता प्रदर्शनमा प्रतिध्वनित कडा ड्रेस कोडको विरोधमा केही महिलाहरूले आफ्नो स्कार्फ जलाएका छन् र प्रतीकात्मक रूपमा कपाल काटेका छन् ।

तेहरानबाट पक्राउ परेकी मृतक अमिनीको टाउकोमा गम्भीर चोट लागेको भेटिएको अधिकारकर्मीहरूले दावी गरेका छन् ।

सिरियाली जलक्षेत्रमा आप्रवासी बोकेको डुङ्गा डुब्यो, ६१ जनाको ज्यान गयो

लेबनानबाट आप्रवासी लिएर आएको एउटा डुङ्गा सिरियाली जलक्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका ६१ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ६१ जनाको ज्यान गएको र अरु केही घाइते भएको लेबनान सरकारलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

ज्यान जानेमा अधिकांश आप्रवासीहरु नै रहेको सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा सिरियाली जलक्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उक्त डुङ्गामा एक सय २० देखि एक सय ५० जना जति आप्रवासी सवार रहेको र उक्त डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ ।

डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका आप्रवासीहरुले जनाएका छन् । सो डुङ्गामा लेबनान, सिरिया र अरु अज्ञात मुलुकका नागरिकहरु पनि रहेका बताइएको छ ।

त्यस डुङ्गामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । खोजीका लागि हेलिकोप्टर र स्थानीय माझीलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ ।

रुसलाई कारवाही गर्न जेलेन्स्कीको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले जानकारी दिए । ‘रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,’ उनले भने ।

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनु पर्ने उनको भनाइ छ । रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले तर्क गरे ।

रुसले आफ्नो देशमा आंशिकरुपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गर्नु भएको हो ।

रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ । अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ ।

पाकिस्तानमा बाढीको कहर रोकिएन, डुङ्गुको प्रकोप पनि बढ्दो

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् ।

पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ ।

पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ ।

बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते भएका छन् भने लाखौँ विस्थापित भएका छन् । पछिल्लो एक दिनमा मात्रै एक हजार सात सय ३३ घरमा क्षति पुगेको छ भने २३ हजार तीन सय १२ चौपाया मरेका छन् ।

मध्य जुन महिनादेखि सुरु भएको मनसुनसँगै आएको वर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार पाँच सय ९६ जनाको मृत्यु भएको छ ।घटनामा परी अहिलेसम्म १२ हजार ८६३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जनदेखि अहिलेसम्म २० लाख १६ हजार आठ घर क्षतिग्रस्त भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । घरबारविहीन भएका उनीहरु विस्थापित भएर देशका विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका छन् ।

उनीहरुलाई आधारभूत सेवा सुविधाको पनि अभाव भएको भन्दै पाकिस्तान सरकारले सहयोगका लागि सबैलाई अनुरोध पनि गरेको छ ।

कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले पाकिस्तानलाई यसअघि नै सहयोग गरिसकेका छन् । कतिपय देश तथा निकायहरुले भने दिने चरणमा रहेको जनाएका छन् ।

बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेङ्गुको प्रकोप थप बढेको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानका अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको जनाएका छन् ।

पाकिस्तानको सिन्ध प्रान्त डेङ्गुबाट बढी प्रभावित देखिएको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएको सो प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।

यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट कम्तीमा पनि ३० जनाको ज्यान गएको सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ डेङ्गुबाट गएको २४ घन्टा यतामात्र यहाँका चार सय दुइ जनालाई डेङ्गु लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची हो । कराँचीमा मात्र गएको २४ घन्टामा दुई सय ७९ जनामा यसको सङ्क्रमण देखिएको छ ।

सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन् । बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।

सेप्टेम्बर महिनामा मात्र सिन्धमा चार हजार तीन सय भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

लाओसमा डेङ्गुको प्रकोप बढ्दो २५ हजारभन्दा धेरै बिरामी

लाओसमा डेङ्गु ज्वरोबाट कुल २५ हजार पाँच सय ४६ जना बिरामी भएका छन् । गत जनवरीयता लाओसमा डेङ्गु ज्वरोबाट २५ हजार ५ सय ४६ जना बिरामी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ ।

लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन् ।

विश्व स्वास्थय संगठन डब्लूएचओले डेङ्गु ज्वरो हाल तीव्र रुपमा फैलिरहेको चेतवानी दिएको छ । लाओसबाहेक दक्षिणपूर्वी एसियाका फिलिपिन्स, थाइल्याण्ड र सिंगापुरमा पनि तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।

क्यानाडाको टोरन्टोमा रहेको हिन्दू मन्दिरमा तोडफोड

क्यानाडाको टोरन्टो सहरमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । टोरन्टोमा रहेको स्वामीनारायण हिन्दू मन्दिरमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय अनलाइन इकोनोमिक टाइम्सका अनुसार घटनामा संलग्नहरुले उक्त मन्दिरको पर्खालमा खलिस्तान पृथकतावाद समर्थित एवम् भारतविरोधी नारा लेखेका छन् ।

भारतले क्यानाडा सरकारसमक्ष हिन्दू मन्दिरमा भएको तोडफोड र भारतविरोधी एवम् खलिस्तान पृथकतावाद समर्थित नारा लेखिएकोबारे कडा विरोध गरेको छ ।

‘भारतविरोधी नारा लेखेर टोरन्टोमा रहेको स्वामीनारायण मन्दिर तोडफोड गर्ने कदमको हामी कडा निन्दा गर्दछौँ ।’ क्यानाडास्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘हामीले क्यानाडाका अधिकारी समक्ष घटनाबारे अनुसन्धान गरी घटनामा संलग्नहरुलाई तत्काल कारवाही गर्न आग्रह गरेका छौँ ।’

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उक्त मन्दिरको पर्खालमा खलिस्तान समर्थित नारा लेखेको देख्न सकिन्छ । क्यानाडाका केही नेताहरुले घटनाप्रति दुःख व्यक्त गरेको जनाइएको छ ।

कम्बोडियामा डुङ्गा पल्टिँदा १ महिलाको मृत्यु, २० जना बेपत्ता

कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा कम्बोडियाको सिंहानुकभिलमा दुर्घटनामा परेको बताइएको छ । घटनामा अरु २० जना भन्दा बढी बेपत्ता भएका छन् ।

दुर्घटनापछि १९ जनाको उद्धार गरिएको र एक जना महिलाको शव फेला परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल केही व्यक्तिहरुले आफूहरु गत सेप्टेम्बर ११ मा चीनको गुआङ्डोङ प्रान्तबाट हिँडेको प्रतिक्रिया दिएको प्रान्तीय प्रहरी प्रमुख चुओन नारिनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

कुनै समय माछा मार्ने सानो गाउँको रुपमा रहेको सिंहानुकभिलमा चिनियाँ लगानीमा पूर्वाधार एवम् अन्य संरचना निर्माण भइरहेको बताइन्छ । यसबाहेक सो क्षेत्रमा चिनियाँ लगानीमा दर्जनौँ जुवाघरहरु समेत सञ्चालनमा रहेको एएफपीले जनाएको छ ।

सो क्षेत्रमा काम गर्नका लागि अवैधानिक रुपमा चिनियाँ नागरिकहरु आउने गरेको बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ५७ बजे

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही

नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमित, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं– नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल