दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने विषयमा छलफल, बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई ४८ करोड क्षतिपूर्ति उपलब्ध, पश्चिम सेतीको सर्वेक्षण लाइसेन्स लिन एनएचपीसीले बुझायो निवेदन, हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश, गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन आग्रह लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने विषयमा छलफल
निर्वाचन आयोगले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने तयारी गरेको छ । आज आयोगले दलहरुसंग छलफल गर्दै बैज्ञानिक तवरले निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको जानकारी दिएको हो ।

२०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो । नयाँ प्रस्ताव अनुसार प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने छन् ।

निर्वाचन क्षेत्रको मतदाता संख्या, निर्वाचन क्षेत्रको भूगोलको क्षेत्रफल र ०७४ देखि ०७९ सालसम्म भएको मुद्रा स्फितिको दरलाई आधार बनाइएको छ । छलफल पछि कांग्रेसका नेता भिष्मराज आङ्दम्बेले यसअघिको खर्चको सीमालाई हेरफेर गर्ने बिषयमा छलफल भएको बताए ।

त्यस्तै छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन खर्चलाई क्लष्टरका आधारमा बैज्ञानिक तवरले टुङ्गाउने छलफल भएको र दलहरुको सुझावका आधारमा खर्चको बिषयमा सीमा निर्धारण गर्ने बताए ।

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।

आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।

संविधान उल्लङ्घन गर्ने कार्यले लोकतन्त्रसँग सुदृढ हुन सक्दैनःकल्याण श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घन गर्ने कार्य राजनीतिक कदम हुने परिस्थितिले लोकतन्त्रसँग सुदृढ हुन नसक्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित सङ्घीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने समेत बताए। संविधान उल्लङ्घनलाई आपराधीकरण गर्नुपर्ने र राजनीतिक मतान्तरण भयो भनेर संविधान उल्लङ्घन गर्न नपाईने उनले बताए ।

उनले संघीयता सम्बन्धी आवश्यक ऐन नबनाउदा प्रदेश र स्थानीय तहमा त्यसको असर देखिएको जिकिर गरे । संसदबाट केहि कानून बनेको भन्दै कति उपलव्धी मान्ने भन्ने प्रश्न उठेको उनको भनाई छ । श्रेष्ठले परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरु संसदमा आउन नसकेको धारणा राखे ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई ४८ करोड क्षतिपूर्ति उपलब्ध
सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारे जानकारी दिएका हुन् ।

मन्त्री कुँवरले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भए अनुसार काममा नलगाउने जस्ता कार्य गराएको भनी वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ पीडितलाई उपलब्ध गराइएको बताए ।

उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयन प्रभावकारी बनाइएको पनि बताए । मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडि बढेको पनि उल्लेख गरे ।

यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रुपमा रोमानिया मिसन स्थापना गरिएको उनले जानकारी दिए । यस्तै इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भइ कार्य भइरहेको पनि उनले जानकारी दिए । सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको बताइएको छ ।

पश्चिम सेतीको सर्वेक्षण लाइसेन्स लिन एनएचपीसीले बुझायो निवेदन
७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिनका लागि भारतीय कम्पनी एन एच पीसीले निवेदन दर्ता गरेको छ । एनएचपीसीले आज लगानी बोर्डको कार्यालयमा निवेदन दिएको हो । गत जेठ २३ मा बसेको लगानी बोर्डको ५१औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी–६ ९एसआर–६० आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो भने गत भदौ २ गते एनएचपीसी र लगानी बोर्डबीच सर्वेक्षण अनुमतिपत्र जारी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । लगानी बोर्डको कार्यालयसँग यसअघि भएको सम्झौताअनुसार एनएचपीसीले सर्वेक्षण अनुमतिपत्र पाएको २ वर्ष भित्रमा सर्वेक्षण सक्ने र अध्ययन प्रतिवेदन तयार पारिसक्नेछ ।

एसआर–६ आयोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि भने एनएचपीसीले ६ महिना भित्रमा निवेदन दिइसक्नेगरी सम्झौता भएको थियो । पश्चिम सेती र एसआर–६ आयोजना एउटै नदी बेसिनमा ५० किमिको दूरीमा छन् । माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा एसआर–६ सँगसँगै निर्माण भए कुल १२ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ ।

हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि आज भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन्।

आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हाल्ने भएको छ । यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत गएपछि आजदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हालेका हुन ।

संविधानतः प्रधानन्यायाधीशले देश पार गरेपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ ।

जुनसुकै देशको भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपालले विरोध गर्ने

परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा कुनै पनि देशको भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपािलले विरोध गर्ने बताए । संयुक्त राष्ट्रसंघको ७७औं महासभालाई अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दैै सचिव पौडेलले युक्रेन, अफगानिस्तान, म्यानमार र लिबियाका विषयमा नेपालको धारणा राख्ने क्रममा उक्त कुरा बताएका हुन्।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध जनाउँदै परराष्ट्र सचिव पौड्यालले नेपालले कुनै पनि बहाना र परिस्थितिमा देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सार्वभौमसत्ता विरुद्ध कुनै पनि खतरा वा बल प्रयोगको विरोध गर्ने बताए । युक्रेन युद्धमा भएको सर्वसाधारणको मृत्यु र पीडाप्रति चिन्ता व्यक्त गर्दै उहाले शत्रुता र हिंसाको तत्काल अन्त्यको लागि आह्वान गर्न आग्रह समेत गरे ।

सम्बोधनका क्रममा पररष्ट्र सचिव पौड्यालले म्यानमारका सबै पक्षहरूलाई प्रजातान्त्रिक प्रक्रियाको पुनस्थापनाका लागि मार्ग प्रशस्त गर्दै आफ्ना प्रतिनिधिहरू चयन गर्ने जनताको इच्छालाई सम्मान गर्न पनि आग्रह गरे। यस्तै लिबिया, सिरिया र यमनका जनताले लामो समयदेखि कठिनाइ र पीडाको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै हिंसा अन्त्य गर्न र शान्तिमा फर्कन सम्बन्धित पक्षहरूले द्वन्द्व समाधानका शान्तिपूर्ण माध्यमको सहारा लिनुपर्नेमा जोड दिए।

वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे ।

गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन आग्रह
काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६ ६० ०१ ०० ५५ ११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ ।

महानगरले अनुगनका लागि तीन टोली परिचालन गरेको छ । टोलीले आज प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार र त्यस क्षेत्रका मासु पसलको अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री वितरणको अवस्था हेरिएको थियो ।

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परिक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

केराको बिमा रकम नपाएपछि निजगढका किसान आन्दोलित
। बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । आज उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् ।

बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखोसो छ । उनीहरुले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु
धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् ।

जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ठक्कर दिदा बालक घाइते भएका थिए । घाइते बालकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत
विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्पगुच्छा दिँदै स्वागत एवं सम्मान गर्नुभएको हो ।

नगर प्रमुख प्रजापतिले पर्यटकबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले सम्पदाको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : २५ बजे

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी

मस्को– युक्रेनी ड्रोन र छिमेकी रुसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८०

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्