डडेल्धुरामा प्रधानमन्त्रीका चार दिन : मतदाताका अपेक्षादेखि देउवाका योजनासम्म | Khabarhub Khabarhub

डडेल्धुरामा प्रधानमन्त्रीका चार दिन : मतदाताका अपेक्षादेखि देउवाका योजनासम्म


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ । त्यसो त भौगोलिक रूपले पनि सात पहाडी जिल्लाको पायक पर्ने स्थानमा अवस्थित छ डडेल्धुरा । विसं २०४८ संसदीय निर्वाचनदेखि अनवरतरूपमा जिल्लाको प्रतिनिधित्व गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मस्थल यही जिल्ला हो । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गरेका देउवा अहिले माउ पार्टी कांग्रेसकै सभापति छन् । उनी नै आगामी मङ्सिर ४ मा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । 

प्रतिनिधिसभामा यो उनको सातौँ पटकको उम्मेदवारी हो । यसअघि उनले यसै क्षेत्रबाट निर्वाचित भएका छन् र मुलुकको गृह हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसैले आसन्न निर्वाचनमा पनि यहाँका जनताले उनलाई नै चयन गर्नेमा उनी ढुक्क छन् ।

सात स्थानीय पालिका रहेको डडेल्धुरामा यस पटक निर्वाचन लक्षित चारदिने कार्यक्रम सकेर धनगढी फर्किएका प्रधानमन्त्री देउवाले गृह जिल्लाको समग्र विकासका मनोकाङ्क्षाअनुसार अघि बढ्ने योजना मतदाताहरूलाई चुनावी सभाका क्रममा सुनाए ।

गत बिहीबार डडेल्धुरा सदरमुकाम खलङ्गामा पहिलो चुनावी सभामा सम्बोधन गरेका देउवाले सत्तागठबन्धनका उम्मेदवारसहित सबैजसो पालिका पुगेर मत मागे। आइतबार भित्रीमधेसस्थित जोगबुढामा चुनावीसभामा अन्तिम सम्बोधनपछि गृह जिल्लाबाट बिदा भएर धनगढी आएका प्रधानमन्त्री देउवाको चुनावी भेटघाट नियमित छ । विसं २०४८ को संसदीय निर्वाचन जितेपछि जितको यात्रालाई सातौँपटक निरन्तरता दिने तयारी रहेका देउवालाई यस पटक भने विगतका निकटतम प्रतिद्वन्द्वी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलको दरिलो साथ रहेको छ ।

सुरुदेखि नै देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुरावासीको यस पटकको माग भने शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेसमा नदी कटान नियन्त्रणका लागि तटबन्धदेखि महाकालीमा पुलसम्म रहेका छन् । चुनावी सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थानीयस्तरमा रहेका समस्या समाधानका साथै डडेल्धुरामा मेडिकल कलेज स्थापनादेखि विमानस्थल निर्माणको विषय मतदातासामु राखे ।

डडेल्धुराको आलितालमा आयोजित चुनावीसभामा देउवाको सभामा सहभागी भएका आलिताल गाउँपालिका-४ का ९० वर्षीय बलभद्र बोहराले देउवालाई सुदूरपश्चिमको खम्बाका रुपमा चित्रण गर्छन् । ‘देउवाजी सुदूरपश्चिमको अभिभावक र हाम्रो खम्बा नै हो’, उनले भने , ‘डडेल्धुरावासीले राखेका माग उनले पूरा गर्दै आएका छन्, उनीप्रति नै हाम्रो आशा र भरोसा रहेको छ ।’

उनले देउवाले राज्य तथा राजनीतिमा प्राप्त गरेको सफलता सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए। ‘भित्रीमधेसमा राम्रो अस्पताल भइदिए बिरामीहरूले उपचारका लागि तराई झर्नुपर्ने थिएन’, बोहराले भने, ‘यहाँ पानीको स्रोत भए पनि सिँचाइका लागि व्यवस्था गरिदिए हुन्थ्यो, यसपालि उनलाई जनताले राम्ररी माग राखेका छन्, हेरौँ यो पनि उहाँले पूरा गर्नुहुनेछ ।’ उनले स्थानीय खोलाको तटबन्ध निर्माण बाँकी रहेको सो विषय नेताहरूलाई दबाब दिइने बताए ।

निष्ठाको राजनीतिमा खडेरी परिरहेका बेला डडेल्धुरावासी एकताबद्ध भएर लामो समयदेखि देउवालाई नै जिताउँदै आएका छन् र उनले पनि यहाँका नागरिकको आशा र भरोसाको सम्मान गर्दै आएका छन् । बोहराले भने, ‘अहिले त बुवा-छोराको विचार नमिल्ने बेला देउवाजीले ठूला पार्टीबीच गठबन्धन गरेर कुशल क्षमता प्रर्दशन गरेका छन यसलाई हामीले सम्मान गर्नुपर्छ ।’

चुनावी सभामा प्रधानमन्त्रीले आफूलाई मात्र नभई प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवारलाई समेत मत माग्दै हिँडे । ‘मै सित माओवादी नेता खगराज भट्टजी तीनपटक निर्वाचन हारे’, देउवाले भने, ‘यसपटक गठबन्धनबाट उहाँलाई जिताउनुहोस, सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने छ ।’

उनले विगतको राजनीति लडाइँ बिर्सेर आगामी दिनमा स्थायी सरकारका लागि पनि गठबन्धन आवश्यक रहेको विषयमा मतदातालाई आश्वस्त पारे । चुनावी सभाका क्रममा यहाँको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर, अजयमेरु गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनलाई नै मत मागे ।

डडेल्धुरामा नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट प्रदेशसभा (क) मा माओवादी नेता खगराज भट्ट र (ख) मा नेपाली कांग्रेसका नेता प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज जोशी उम्मेदवार छन् ।

आलितालका गाउँपालिकाका ७६ वर्षीय रामसिंह बोहराले देउवाले सुदूरपश्चिमलाई मूलधारसित जोड्न कर्णाली पुल बनाउनेदेखि यहाँका ठूला विकासमा पहल गरेको बताए । ‘सुदूरपश्चिमलाई देश चिनाउनेदेखि यहाँको विकासका लागि उनको ठूलो भूमिका छ’, उनले भने, ‘अहिले पनि डडेल्धुराको विकासका धेरै योजनाहरू जारी छन् ।’ बुबाका पालामा टनकपुरबाट भारी बोकेर नुन यहाँ पुर्‍याउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

‘सडक पूर्वाधार गाउँगाउँसम्म बने र घर-घरमै नुन पुगिरहेको अवस्था छ’, बोहराले भने, ‘उपचारका लागि मात्रै यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता हटेको छैन ।’ ९१ हजारभन्दा केही बढी मतदाता रहेको डडेल्धुरामा आसन्न निर्वाचनका लागि एक सय ३९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।

प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा यहाँबाट निर्वाचित भइसकेका छन् र पाँच पटकसम्म मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । सोह्र वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ सालको निर्वाचन यहाँबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने कांग्रेसका एक्ला नेतासमेत हुन् देउवा ।

डडेल्धुराका सबै पालिकाका सडकपूर्वाधार, विद्युत्, खानेपानी, सिँचाइ लगायतका विकासका काम भइसकेका छन् । भने अहिले देउवाले जोगबुढा क्षेत्रमा नदी कटान नियन्त्रण, महाकालीमा पक्की पुल, मेडिकल कलेज स्थापना, विमानस्थल निर्माण लगायतका विकासका योजना अघि सारेको नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए । -रासस

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ४४ बजे

नुहाउने क्रममा नदीले बगाएर एकजनाको मृत्यु

दमौली– यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज

भारतीय राष्ट्रपति अल्जेरिया प्रस्थान

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौँ– धेरै नेपालीले धुमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा

थारू बस्तीमा ‘सखिया नाच’को रौनक

खजुरा– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका