मध्यवर्तीक्षेत्रका बासिन्दालाई सँधै वन्यजन्तुकै त्रास | Khabarhub Khabarhub

मध्यवर्तीक्षेत्रका बासिन्दालाई सँधै वन्यजन्तुकै त्रास


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके निकुञ्ज मध्यवर्तीक्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन क्षेत्र नं १ को मध्यवर्तीक्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासीले वन्यजन्तु समस्याका कारण आफूहरूको जीउधन र खेतीबाली जोखिममा परेको गुनासो गरेका छन् ।

राप्ती सोनारी गाउँपालिका-८ बालापुरका बासिन्दा वसन्त वलीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे। उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे । 

राप्ती सोनारी- १ कुसुमका स्थानीय शिक्षक भुवन खुनाले निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको काम नभएको गुनासो गर्नुभयो । ‘यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिएका थिए तर पाँच वर्षमा पनि कार्यान्वयन भएन’, उनले भने । निर्वाचन प्रचारका क्रममा गाउँ टोलमा आउने बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सबैसँग वन्यजन्तु समस्या समाधानका लागि वडा नं ९ का वडावासीले सामूहिक प्रतिबद्धता गरेको वडाध्यक्ष सोहनलाल थारूले बताए ।

‘हाम्रो यो क्षेत्रबाट सङ्घ र प्रदेशमा गरी ११ जना उम्मेदवार रहनुभएको छ, सबैसँग वन्यजन्तु समस्या समाधानको लागि हामीले लिखित प्रतिबद्धता गरेका छौँ’, वडाध्यक्ष थारूले भने, ‘जसले जिते पनि वन्यजन्तु समस्या समाधान गराउन वडावासी एकजुट भएका छौँ ।’ बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित राप्ती सोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिम-पूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायतका टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारुको भनाइ छ । 

राप्ती सोनारीको वडा नं १ का लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित रहेका छन् । वन्यजन्तु समस्या प्रमुख समस्याका रुपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए । 

वडा नं ८ को ओभरी र बालापुरका गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित भएकाले निर्वाचन प्रचारमा आउने उम्मेदवारसँग समस्या समाधानका लागि पहल गरिदिन मतदाताले आग्रह गर्ने गरेको वडा नं ८ का अध्यक्ष शालिकराम डाँगीले बताएका छन् । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा कोहलपुर नगरपालिका-१२ र १३ का गाउँबस्ती रहेका छन् । भोट माग्दै हिँड्ने उम्मेदवारलाई निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।

बाँके क्षेत्र नं १ मा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले  निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताए । 

उनले आफू निर्वाचित भएपछि जनताको आवश्यकताअनुसारकै काम गर्ने आश्वासन दिए। उम्मेदवार ढकालले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरि वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवारलाई एक घर २५ लाखको जीवन बीमा व्यवस्था गर्ने र एक गोठ पाँच लाख पशु बीमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बाँके क्षेत्र नं.१ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का नेता युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार बनेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका गहतराजले वन्यजन्तु समस्या समाधानका लागि आफूले विगतमा पनि पहल गरेको र अब पनि यो मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

– भेषराज बस्नेत रासस

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : १८ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्