यसपटकको चुनावमा देखिएका तीन फरक दृश्य | Khabarhub Khabarhub

यसपटकको चुनावमा देखिएका तीन फरक दृश्य

‘युवा नेतासँगै हाम्रालाई भन्दा राम्रालाई भोट हाल्ने लहर’


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देशभर चुनावको मतदान चलिरहेको छ । प्रदेश र प्रतिनिधि सभा चुनावको रौनक बढेका बेला देशभर धमाधम मतदान भइरहेको हो । मतदानका क्रममा यसपटक केही फरक दृश्य देखिएका छन् ।

मतदानको दिन मात्रै होइन, यसपटकको चुनाव घोषणा भएलगत्तै पनि केही फरक र नौला दृश्य देखिएका थिए । जुन हेर्दा सामान्य मात्रै होइन, ऐतिहासिक बन्ने लहरमा छन् ।

यसपटकको चुनावमा नयाँ उम्मेदवारको ह्वात्तै चर्चा, युवा र स्वतन्त्र उम्मेदवारको लहर तथा मतदातामा समेत युवा तथा स्वतन्त्र युवामा बढेको क्रेज नयाँ दृश्य हुन् । त्यसबाहेक प्रचारको शैली, आम मतदातामा युवाहरुप्रति बढेको आशा र भरोसा तथा युवाहरूलाई समर्थन गरेको परिदृश्य विशुद्ध नयाँ र विशेष हुन् ।

यसपटक त्यस्ता धेरै दृश्य देखिएका छन्, जसले आम मतदाताको सोच र मतदान गर्ने शैली बदलिएको छ । चुनावमा पैँसा नै सबथोक हो भन्दा पनि सोच, शैली, योजना, भिजन र नयाँ केही गर्छु भन्ने युवालाई धेरै प्राथमिकता दिइएको पाइएको छ ।

२०७४ सालको चुनाव र अहिले २०७९ सालमा देखिएको तीन मुख्य फरक दृश्यको संक्षिप्त चर्चा गरौँः

१. युवा र स्वतन्त्र उम्मेद्वारको लहर

पाँच वर्षअघि देशमा मुख्य दलहरुकै दबदबा थियो । त्यसमा पनि शीर्ष नेताहरुको मात्रै चर्चा बढी हुने गर्दथ्यो । पाँच वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धन गरेका थिए ।

चुनावपछि पार्टी एकता गर्ने घोषणासहित होमिएका दुई शीर्ष नेताको चुनावी दौडधुप नै मुख्य चर्चामा थियो । तर त्यो गठबन्धन चुनाव र एकता भएको तीन वर्षपछि टुट्यो । वाम गठबन्धन टुटेर प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालको नयाँ गठबन्धन बन्यो । जसले अहिलेको अवस्था सिर्जना गरिदियो ।

तर यो भन्दा पनि यसपटक देखिएको सबैभन्दा फरक र नयाँ दृश्य भनेको युवा र स्वतन्त्र युवा उम्मेदवारको लहर हो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर रवि लामिछाने चुनावी राजनीतिमा होमिए ।

टेलिभिजन कार्यक्रम छाडेर सोझै राजनीतिमा आएका रविले आफ्नो चर्चा र नेपाली राजनीतिको परिचर्चा दृश्यलाई थोरै भएपनि परिवर्तन गरे । रविसँगै सागर ढकाल, शोविता गौतम, पुकार बम, शिशिर खनाल लगायतका युवाहरूले पनि धेरै रुपमा राजनीतिक कोर्स युवामा केन्द्रित गरे ।

यसअघिका चुनावमा जति चर्चा प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा र प्रचण्डको हुन्थ्यो । त्यति नै चर्चा युवा र स्वतन्त्र उम्मेदवारको भइरहेको छ । यसपटकको चुनावमा रवि लामिछानेले देश दौडाहा गर्दा त्यति नै चर्चा र युवाहरूको समर्थन पाए ।

यो यसअघिका चुनावमा देखिएको थिएन । यसपटक जति देखियो, त्यो फरक र विशुद्ध युवा केन्द्रित छ । जुन मतदानको दिनसम्म पनि जारी छ । यसपटक युवा र स्वतन्त्र उम्मेदवारीले चुनावी परिणाममा पनि फरक पार्नेछ ।

२. बालेन ब्राण्ड र लौरो अभियान

यसपटक देखिएको अर्को नयाँ र फरक दृश्य हो, बालेन ब्राण्ड र लौरो अभियान । गायक तथा र्यापर बालेन शाहले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेर काठमाडौँ महानगरपालिकाको मेयर पद जिते । उनले त्यति सजिलै चुनाव जित्छन् भन्ने धेरैलाई लागेको थिएन ।

तर उनले स्वतन्त्र उम्मेद्वारी दिएर काठमाडौँका लाखौँ जनताको मन जितेर चुनाव जिते । चुनाव जितेपछि उनले काम गर्ने शैली र राजनीतिप्रति केही फरक दृष्टिकोण अघि सारे । बधाई खाने र कार्यक्रममा प्रमुख अतीथि मात्रै बन्ने होडबाट उनी पछि हटे ।

आफूले तय गरेका कामलाई उनले प्राथमिकता दिए । उनले लौरो चुनाव चिन्ह लिएर जितेपछि यसपटकको प्रदेश र प्रतिनिधिसभा चुनावमा लौरो अभियान नै चल्यो । त्यो भन्दा बढी उम्मेद्वारी दर्ता गराएका धेरैले बालेन शैली पछ्याए ।

एक किसीमले बालेन ब्राण्ड नै चल्यो । बालेनकै स्टाइलमा चुनाव प्रचार गर्ने, स्वतन्त्र उम्मेद्वारी दिने, राजनीतिप्रति युवाहरुको आकर्षण बढाउने, जित्छु भनेर आत्मविश्वास बढाउने, उस्तै परे यति मत ल्याएर चुनाव जित्छु भन्ने जस्ता लहर धेरै चले ।

काठमाडौँमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका मिलन पाण्डे, रन्जु दर्शना, राप्रपाबाट उम्मेद्वारी दर्ता गराएका ज्ञानेन्द्र शाहीले त बालेनकै शैलीमा यति मत ल्याएर चुनाव जित्छु भन्ने दाबी समेत गरेका छन् । यसअघि बालेनले ९० हजार मत ल्याएर चुनाव जित्छु भनेका थिए । तर उनले झण्डै ६२ हजार मत ल्याएर चुनाव जिते ।

सुरुमा बालेनले पाएको लौरो चुनाव चिन्हकै कारण धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले चुनाव जितेका थिए । अहिले बालेनकै त्यो लौरो चुनाव चिन्हबाटै हौसिएर धेरैले उम्मेद्वारी घोषणा गरेर बालेन ब्राण्ड बनाए । अनि सुमन सायमी लगायतका युवाहरुले लौरो अभियान नै चलाएका छन् । लौरो अभियानले यसपटकको चुनावमा थोरै भएपनि परिवर्तन ल्याउने सम्भावना बढेको छ ।

यद्यपि यो चुनाव चिन्ह हाम्रो नेपाली पार्टीले लिएको छ । यो पार्टीबाट चुनाव चिन्ह लिँदै धेरैले उम्मेदवारी दर्ता गरेर आफूलाई युवा तथा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव प्रचार गरेका थिए ।

३. मतदाताको फेरिदो सोच र शैली

यसअघिका चुनावमा राजनीतिक दलका पार्टीहरूलाई नै भोट दिने प्रचलन थियो । नेताहरूले केही गर्न नसक्ने भनेर आलोचना गरेपनि अन्तिममा अरु विकल्पभन्दा राजनीतिक पार्टीका उम्मेदवारलाई भोट दिने मतदाताको शैली यसपटक फेरिएको छ ।

यसपटक धेरै मतदाताले स्वतन्त्र, युवा र विषयगत विज्ञलाई भोट दिने बताइरहेका छन् । स्वतन्त्र युवाहरूको लहर चलेका बेला धेरै मतदाताले बुढा नेताहरुलाई भन्दा युवा तथा स्वतन्त्र युवाहरुलाई मतदान गर्ने बताइरहेका छन् । सोही अनुसार मतदान गर्ने युवाको संख्या पनि बढ्दो छ ।

विगतका चुनावमा दलका उम्मेदवारले बाँडेको पैँसा लिएर तथा मासु र रक्सी खाएर भोट हाल्ने प्रवृत्ति बढेका बेला यसपटक स्वतन्त्र रुपमा आफ्नो मतदानको सदुपयोग गर्ने भन्दै युवालाई नै भोट हाल्ने आकर्षण बढेको छ ।

यसअघिका चुनावमा पैसा लिएर भोट हाल्ने प्रवृत्ति चरम बढेका बेला यसपटकको चुनावमा आफ्नो मत आफैँ र सक्षम उम्मेदवारलाई हाल्ने चर्चा व्यापक बनेको छ । जसले गर्दा यसपटकको चुनावमा आम मतदाताको सोच र शैलीमा धेरै परिवर्तन आएको देखिन्छ । यद्यपि मतदातामा विवेकको प्रयोग गर्ने सम्भावना बढेपनि गठबन्धन गरेका कांग्रेस, माओवादीकै उम्मेदवारले जित्ने सम्भावना पनि उत्तिकै छ ।

तर समानुपातिक भएपनि यसपटक नयाँ, स्वतन्त्र र केही पार्टीले राम्रै मत ल्याउने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : २६ बजे

फेरी एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

काठमाडौं– अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि