माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा « Khabarhub

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समुदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समुदायका मानिसहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे ।

अहिले त्यस्तो समय छैन । माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित गरेका छन् । बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समुदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ ।

बजारमा प्लास्ष्टिकका भाँडा बढ्न थालेपछि रेशम कुमालले तीन महिनाअघि तयार पारेका माटोका भाँडा घरको पिँढीमा थन्किएका छन् । “यी अहिले बिक्री हुन नसकेका भाँडा हुन्”, उनले भने, “घरभित्र राख्ने ठाउँ पनि छैन पानीले भिजायो भने मेहनत खेर जान्छ ।”

बजारमा प्लास्टिकका आयातित सामान सहजै पाउन थालेपछि आफूहरुले बनाएका माटोका भाँडा बिक्न छाडेको दाङ गढवा–५ का धनराज कुमालले गुनासो गरे । लामो समयदेखि माटोका भाँडा बनाएर जीविका चलाउँदै आएका उनले भाँडा बिक्न छोडेपछि घर खर्च चलाउनै समस्या भएको बताए ।

यस क्षेत्रमा कुमाल समुदायका करिब दुई सय घरधुरी छन् । जसको मुख्य पेसा नै माटोका भाँडा बनाउनु हो । माटोका भाँडाको तुलनामा प्लास्टिकका भाँडा सस्तो र टिकाउन हुने भएकाले प्रयोग बढ्न थालेको हो ।

“न लेखपढ गर्न सकियो न अन्य कुनै काम सिक्न सकियो,” गढवा–६ का चौकु कुमालले भने, “समुदायको पुर्ख्यौली पेसा अपनाइयो तर अहिले यसबाट सोचे जस्तो पैसा कमाउन सकिएको छैन ।”

त्यति मात्रै होइन, माटोका भाँडा बजारसम्म लैजाँदा बिचौलियाको समस्या पनि उत्तिकै छ । कुमालहरुले मट्का दुई सयदेखि दुई सय ५० रुपैयाँ, ठेकी एक सयदेखि डेढ सय रुपैयाँसम्म, गमला एक सय रुपैयाँसम्म, खुत्रुके ५० देखि एक सय रुपैयाँसम्म बिक्री गर्छन् । तर, त्यसमा पनि बिचौलियाका कारण कुमालहरुले निकै कम प्रतिफल पाउने गरेको चौकु कुमालले गुनासो गरे ।

एकातिर माटोको भाँडाले बजार पाएका छैनन् भने अर्कोतिर पुर्ख्यौली पेसा ओझेलमा परेकोमा उनीहरुमा चिन्ता छ । “युवापुस्ता पनि यो पेसामा मन लगाउँदैनन्, उनीहरु यो काम गर्नुभन्दा जिल्ला बाहिर गएर काम गर्न मन पराउछन्”, स्थानीय अम्मर कुमालले भने ।

कुमाल समुदायको आर्थिक स्थिति सबल गराउने भन्दै केही समयअघि ‘स्वच्छ व्यवसाय समूह नेपाल’ ले तीन महिने माटोको भाँडा बनाउने तालिम दिएको थियो । तालिममा झण्डै तीस जना कुमाल समुदायका व्यक्ति सहभागी थिए । संस्थाले उनीहरुलाई सीप सिकाउनुका साथै भाँडालाई पोल्न आधुनिक भट्टा निर्माणका लागि नौ लाख रुपैयाँ सहयोग गरेको थियो ।

कुमालहरुको पुर्ख्यौली पेसालाई संरक्षण र सम्बर्द्धनका लागि स्थानीय सरकारले चासो दिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले बताए । “उहाँहरुको पेसालाई संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिका योजना बनाएर अघि बढ्छ”, उनले भने, “यो पेसालाई जोगाइराख्न माटोको भाँडालाई बजारीकरण गर्ने, माटो र दाउरा सहजरुपमा उपलब्ध गराउन सहयोग गर्नेछौँ ।”

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ३० बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६