कर्णालीका कृषि उपज ठूला सहरदेखि विदेशसम्म | Khabarhub Khabarhub

कर्णालीका कृषि उपज ठूला सहरदेखि विदेशसम्म


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भूगोलमा पछि परेको कर्णाली क्षेत्रका कृषि उपजको पनि पछिल्लो समय ठूला सहरसम्म पहुँच पुगेको छ । जाजरकोट, जुम्ला र डोल्पा लगायतका क्षेत्रका उत्पादन स्वदेशका सहरदेखि विदेशसम्म पुग्न थालेका छन् । सहज यातायात व्यवस्था, अर्ग्यानिक उत्पादनप्रतिको आकर्षण र खानामा भातको विकल्प खोज्ने बानीका कारण यहाँका उत्पादनले ठूला सहरसम्म बजार पाएको महसुस गरिएको छ ।

जाजरकोटका गाउँमा उत्पादित मकै, सिमी, गाभा, सुन्तला, भटमास, अदुवा, लसुन तथा जुम्लामा उत्पादित मार्सी चामल, सिमी र कोदोको माग नेपालगञ्ज, काठमाडौँदेखि अमेरिका र क्यानडासम्म हुन थालेको छ । कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जिल्लाबाट एक हजार छ सय क्विन्टलभन्दा बढी मकै नेपालगञ्ज पठाइएको जानकारी दिए । उनका अनुसार यहाँबाट सुन्तला पाँच टन, लसुन दुई सय ५० क्विन्टल र चार सय क्विन्टल भटमास नेपालगञ्ज पठाइएको छ ।

त्यस्तै जुम्लामा उत्पादित खाद्यान्न स्वदेशका विभिन्न सहरसहित विदेशसम्म पुग्ने गरेको छ । जुम्ला घर अर्ग्यानिक एन्ड सुपर फुड्स प्रालिले यहाँ उत्पादन गरेका कृषिउपज विदेशमा बिक्री भइरहेको छ । कम्पनीका सञ्चालक राज शाहीले अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्य सामग्री क्यानडा पुर्‍याइएको जानकारी दिए। कम्पनीले यसवर्ष एक टन सिमीको दाल, एक टन मासको दाल र दश किलो स्याउको चाना जापान पठाएको छ ।  

कम्पनीले गतवर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात गरेको थियो । कम्पनीले स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पीठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाउँदै आएको छ । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ भने गत वर्ष मात्रै ४० क्विन्टल मार्सी चामल पठाइएको शाहीले बताए । 

खलङ्गास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौँसम्म पठाउने काम गरिरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बङ्गलादेश पठाएको थियो ।

जुम्लामा दुई हजार आठ सय ५० हेक्टरमा मार्सी धान लगाइन्छ भने उत्पादन वार्षिक छ हजार एक सय २७ टन हुन्छ । त्यस्तै यसवर्ष चिनो ६५ टन, कागुनो १५ टन र सिमी चार सय ७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । 

कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाका अनुसार डोल्पामा उत्पादन भएका चिनो, काकुनो, जिम्बू , स्याउ, फापर, ओखर, सिमी बाहिर जिल्लासम्म पठाउने गरिएको छ । चालु आर्थिक वर्षमा पनि विभिन्न व्यक्ति खाद्यान्न खरिदका लागि डोल्पा आएका उनले बताए ।

उनका अनुसार अघिल्लो वर्ष डोल्पाबाट पाँच मेट्रिक टन फापर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ पठाइएको थियो । साथै सिमी २० टन, ओखर र स्याउ २० टन जिल्लाबाट बाहिर पठाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : २१ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको