राजविराज– लामो समयको प्रतीक्षापछि रुपनी-राजविराजसम्मको चार लेनको सडक निर्माण सुरु भएको छ । त्यसका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य सुरु गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
रुपनी बजारबाट सदरमुकाम राजविराजसम्म जोड्ने १० किलोमिटर लम्बाइको सडक फराकिलो बनाउने काम सुरु भएको उनले बताए । हाल दुई लेनको सडक स्तरोन्नति गरी चार लेनको बनाउन लागिएको हो ।
सडक डिभिजन कार्यालय लहानका इन्जिनियर रमेश गोइतले तीन अर्बको अनुमानित लागतमा रुपनी-राजविराज सडकखण्ड निर्माण सुरु गर्न लागिएको जानकारी दिए । हाल ५५ करोडको बोलपत्र स्वीकृत भइसकेको छ । सडक ३० मिटर चौडाइ तथा १९ मिटर कालोपत्र, फुटपाथ, सोल्जर र मिडियनसमेत रहने उनको भनाइ छ ।
विसं २०७८ चैत ९ मारुपनी-राजविराज चार लेन सडकखण्डको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।
प्रतिक्रिया