रित्तिँदै पहाड, भरिँदै तराई | Khabarhub Khabarhub

रित्तिँदै पहाड, भरिँदै तराई


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झरे । उनी परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झरेका हुन् । कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन् ।

स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ । उनी तराई झरे पनि पहाडमा रहेको उनको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् ।

खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका छोडेर झापा बसाइँ सरे । उपचारमा झापामा आएका उनी चिकित्सकले निरन्तर फलोअपमा आउनुपर्छ भनेपछि झापामा नै बस्न थाले । झापा बस्दाबस्दै उनले नयाँ ठाउँमा नै घर बनाएर बस्न थालेका छन् । उनको पहाड घर पनि त्यतिकै छ । केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उनले बताए ।

भर्खरै देउमाई दुईका टङ्क अधिकारीसमेत पुरानो ठाउँ छोडेर झापा झरेका छन् । उनले पनि पहाडमा सुविधा नभएकै कारण तराई झर्नुपरेको सुनाए । उनी गाउँमा एउटा नमूना व्यक्तिमात्र हुन् । बीचमा सोही गाउँबाट अन्य धेरैले गाउँ छोडेर सहर रोजेका छन् ।

उपचार गराउन सहर नै जानुपरेकाले पनि मानिसले गाउँ छोड्दै गएका छन् । नानीबाबुलाई विद्यालय पढाउन र उच्च शिक्षाका लागि पनि गाउँ नै छोड्नुपर्ने अवस्था आएको धेरैको भनाइ छ । अन्य धेरै तराई झर्ने सोचमा छन् । पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन् ।

समस्या पर्दा पहाडमा समाधानका लागि धेरै असहज हुने भएकाले पनि तराई झर्नुपर्ने बाध्यता रहेको बताइएको छ । बुढेसकालमा न्यानोका लागि तराई झर्नेदेखि अवसरको खोजीमा समेत तराई रोज्नेको लर्को नै लागेको छ ।

पहाडी क्षेत्रमा रोजगारीको समस्या, पाए पनि बर्खामा रोजगारस्थल धाउन समस्या भएका कारण पनि धेरैले तराई रोज्न थालेका छन् । पहाडी क्षेत्रमा जागिर खाए पनि धेरै आफन्त तराईमा नै हुँदा पनि पहाड बस्न मन नलाग्ने गरेको उनीहरूको भनाइ छ ।

पहाडमा अवसर नभएपछि प्रायः युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै सुगम ठाउँमा जमिन किनेर उतै बसाइँ जान थालेपछि गाउँ रित्तिन थालेको छ ।

यसका लागि पहाडी क्षेत्रका नगरपालिका तथा गाउँपालिकाले विशेष कार्यक्रम ल्याए पनि प्रभावकारी बन्न सकेको छैन । देउमाई नगरपालिकाले बाहिरबाट बसाइँ सरेर आउनेलाई जस्तापाता सहयोग गर्ने नीति ल्याएको नगरपालिकाका सूचना अधिकारी गोविन्द बाँस्तोलाले बताए । केही वर्ष अगाडि नै यो कार्यक्रम ल्याएपनि पछिल्लो समय थप कार्यक्रम ल्याउन सकिएको छैन ।

सरकारले एकीकृत बस्ती कार्यक्रम ल्याउन आवश्यक रहेको जानकार बताउँछन् । बस्तीलाई एक ठाउँमा बसाएर खेती गर्ने जमिन र अन्य प्रयोजनको जमिन पहिचान गरेर त्यस्ता कार्यक्रम ल्याउन स्थानीय सरकार लाग्नुपर्ने धेरैको माग छ । पहाडी क्षेत्रमा भएका बासिन्दालाई पहाडमा नै रोक्नका लागि खास कार्यक्रम नभएको, पहाडमा विकास क्रम ढिलो भएका कारण पनि यस्तो समस्या आएको बताइएको छ । सुविधा सम्पन्न अस्पताल र कलेजको व्यवस्था गर्न सकिएमात्र पनि धेरै बसाइँसराइ रोकिन सकिने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : ३८ बजे

केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

बैंकक– सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा

संक्रमणबाट पाठेघरलाई कसरी जोगाउने ?

काठमाडौं – पाठेघर सृष्टिको उद्गम विन्दु हो। यो मानिसको अस्तित्वसँग

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक