जरायो मारेको आरोपमा प्रदेशसभा सदस्य जयसवालसँग बयान « Khabarhub

जरायो मारेको आरोपमा प्रदेशसभा सदस्य जयसवालसँग बयान


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा – पर्सा राष्ट्रिय निकुञ्जका अनुसन्धान अधिकारीहरूले जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवालसँग मंगलबार बयान लिएका छन्।

सोही घटनाको आरोपमा गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।

प्रमोद ४ मंसिरको चुनावमा पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निकुञ्जको टोलीले जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोलीगठ्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो।

सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ। जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता छ।

४ पुस राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जंगलमा जम्काभेट भएको थियो। सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँचजनालाई पक्रेको थियो। भागेका सिकारीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मार्दा सिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो।

सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन सिकारमा संलग्न रहेको आरोपमा पाँचजनासहित दुईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो।

अनुसन्धानका लागि काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ। खड्काको नाममा रहेको बन्दुक सिकारीको टोलीबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको हो।

काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछापोखरी छ। उनी अझैसम्म पनि बयानका लागि उपस्थित नभएको सूचना अधिकारी खड्काले जानकारी दिए। खड्काले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनामा आफ्नो कुनै संलग्नता नभएको जानकारी गराएका छन्। सो घटना हुँदा आफू काठमाडौँमै रहेको र सिकारमा प्रयोग गरेको बन्दुक आफ्नै लाइसेन्स प्राप्त भएको तर त्यो कसरी त्यहाँ पुग्यो भन्ने विषय अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : ०८ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग