काठमाडौँ- अवैध रुपमा लागूऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमा नाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र एक हजार एम्पुल फेनारगन पनि बरामद गरिएको छ ।
पछिल्लो केही दिनदेखि लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताए ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित दुई थान तराजु बरामद गरिएको थियो । अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागूऔषध बिक्री गर्न पठाएको खुलेको थियो । उनी झापामा रहेको थापा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौं पठाएको हो ।
सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्यूरोको अर्को टोलीले काठमाडौं महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट छ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
सोही दिन ठूलो परिमाणको लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पर्यटकलाई पिछा गर्दै गर्दा ‘टुर गाइड’ मा काम गर्ने गोरखाका ओमनारायण श्रेष्ठ, मसाज सेन्टरमा काम गर्ने सुरेन्द्र नेपाली र विकास परियारलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
त्यस्तै लुकाइछिपाइ लागूऔषध ओसारपसार गरेको चाल पाएको नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७०३६ बसमाथि खानतलासी गर्दा वीरगञ्जका सविना खातुन, सहनाज खातुन र शेष अमिरलाई पक्राउ गरेको थियो । उनीहरू प्रहरीले खानतलासी थालेपछि नागढुङ्गाबाट भाग्दै गर्दा पक्राउ गरेका हुन् ।
उता काठमाडौंको गोकर्णेश्वरबाट रोशन श्रेष्ठ र मनोज लामालाई पनि लागूऔषध कोडिनसहति पक्राउ गरिएको र उनीहरुको सन्दर्भमा प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया