भूमिहीन भन्छन् : निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ? « Khabarhub

भूमिहीन भन्छन् : निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ। हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो।

अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन्। म्याग्दे गाउँपालिका–४ निवासी कल्पना नेपालीले भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने आश पलाएको बताइन्। “भूमिको नाममा कहीँकतै केही नभएको निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उनले भनिन्, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु।”

सोही ठाउँ निवासी जुना थापा पनि निस्सा पाएपछि खुसी छिन्। “आफ्नो नाममा अहिलेसम्म जग्गा छैन, निस्सा वितरण गरेपछि जग्गा नापजाँच कार्य सुरु हुन्छ,” उनले भनिन्, “अब मेरो नाममा पनि जग्गा हुन्छ की त भन्ने आश जागेको छ।”

भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने श्रेष्ठको भनाइ छ।

वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुनाए। निस्सा वितरण सुरुआत पहिला नै गर्न लागिएको भए तापनि निर्वाचनका कारण रोकिएको हुँदा ढिलो भएको घिमिरेले जनाए।

म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुकुम्बासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। फारम भरेका सबैलाई निस्सा वितरण सकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।

जग्गा नापजाँच अगाडि बढाउँदै पालिका

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कारण रोकिएको जग्गा नापजाँचको काम तनहुँमा पुनः सुरु भएको छ। निर्वाचन आचारसंहिताका कारण रोकिएको जग्गा नापजाँचको काम पुनः सुरु भएको हो।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित लिउतपाखा गाउँबाट जग्गाको नापजाँचको काम सुरु भएको कार्यवाहक वडाध्यक्ष कमलबहादुर मगरले जानकारी दिए। “जग्गा उपलब्धताका लागि निवेदन पेश गर्नुभएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य सुरु भएको छ”, मगरले भने।

जग्गा नापजाँचका लागि नापी कार्यालय तनहुँका सर्भेक्षक राजीव श्रेष्ठको नेतृत्वमा टोली परिचालन भएको छ। आँबुखैरेनी गाउँपालिका–३ कै मिलनटोलमा पनि जग्गा नापजाँचको कार्य सुरु भएको छ। भोगचलन गर्दै आएको ऐलेनी जग्गा उपलब्धताका लागि निवेदन पेश परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य सुरु भएको वडाध्यक्ष दिनेश केसीले जनाए।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखि भूमिहीन र अव्यवस्थित बसोबासीका रुपमा रहेका सर्वसाधारणलाई लालपुर्जा प्रदान गर्नका लागि समयमै नापजाँच कार्य सम्पन्न गराउनुपर्ने बताए।

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए।

गाउँपालिकाले जग्गा नापजाँच कार्यका लागि यसअघि नै निस्सा वितरण गरिसकेको छ। राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१, २, ११, १३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ।

जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ। जिल्लाको देवघाट गाउँपालिका–५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा पनि जग्गाको नापजाँच कार्य जारी छ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : १८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको