जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो । झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गरेका थिए ।

त्यस लगतै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणका बारेमा प्रबन्ध निर्देशक झासँग जानकारी मागे । उनीहरूले नगरपालिकालाई जनक शिक्षालगायतका यहाँका शैक्षिक कार्यालयले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न आग्रह गरे ।

केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भए पनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका एक सय ६४ टन कागज गुणस्तरहीन रहेका र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताए ।

उनले भने, “केन्द्रले गुणस्तरहीन कागज फिर्ता लगेर सम्झौताअनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौँ, गत २४ र २५ गते कागज फिर्ता ग¥यो र हिजो बिदाको दिनमा कागज लिएर आएछ, गुणस्तर जाँचपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिकरूपमा पनि छानबिन गर्ने उनले बताए । उनले सप्लायर्स कम्पनीको बदमासी पाइए उसले राखेको रु पाँच करोड धरौटी जफतसमेत हुनसक्ने बताए । केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको जानकारी दिँदै आएका कागज नापतौल तथा गुणस्तर विभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताए ।

केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते एक हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप पाँच मेट्रिकटन गरी कूल एक हजार पाँच मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याएपनि गुणस्तरहीन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो ।

केन्द्रका प्रवक्ता आचार्यले भने, “समयमै कागज दिन नसक्दा गत वर्ष एउटा कम्पनीको रु आठ करोड धरौटी जफत गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै भए रु पाँच करोड धरौटी जफत गर्छौं तर केन्द्रका बारेमा बाहिर फैलाइएको अफवाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन ।”

सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको नौ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा दुई दिन राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएको बताइएको छ । चार ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छ । कागज बोकेको अन्य नौ ट्रक भने दुई दिनदेखि सानोठिमी सडकमै रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ८ : ४८ बजे

कांग्रेस सभापति देउवालाई भेटे भारतीय राजदूत श्रीवास्तवले

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा राजनीतिक

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क  

भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र गरिँदै

तेह्रथुम– सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित

१७ क्विन्टल गाँजासहित एकजना पक्राउ

सप्तरी– सप्तरीको राजगढ गाउँपालिका– ४ बाट १७ क्विन्टल ३६ केजी

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, साँझ मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच