काठमाडौँ– मुलुकको अर्थतन्त्रको दिशाबारे सरोकारवालाहरूले चिन्ता व्यक्त गरेको छन् । खबरहबले काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थविद्, उद्योगी, व्यवसायीलगायतले नेपाली अर्थतन्त्रको दिशाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदनबारे आफ्नो धारणा राख्दै विश्लेषक शौरभराज पन्तले अहिले मुलुकको अर्थतन्त्रमा उपभोक्तावादी संस्कृतिको उदय भएको बताए । कार्यक्रममा उनले राष्ट्र बैंकले विस्तारमुखी मौद्रिक नीति ल्याएको भन्दै वित्तीय नीति र मौद्रिक नीतिबीच संयन्त्र नभएको टिप्पणी गरे । उनले वैदेशिक मुद्रा आय आर्जनको मुख्य श्रोत विप्रेषण रहेको उल्लेख गर्दै यो आर्थिक विकासको स्थायी श्रोत नभएको बताए ।
त्यस्तै, अर्का आर्थिक विश्लेषक कमलेश अग्रवालले मौद्रिक नीति आएपछि पनि निजी क्षेत्रको विकास हुन नसकेको धारणा राखे । अर्थतन्त्रलाई नियन्त्रण गरिएको ठाउँमा निजी क्षेत्र माथि नउठ्ने बताए ।
त्यस्तै कार्यक्रममा हाइड्रो सोलुससनका अध्यक्ष ज्ञानेन्द्र प्रधानले तरलताको समस्याका कारण अर्थतन्त्रको सङ्कटमा परेको बताए । नेपालको अर्थतन्त्रलाई श्रीलङ्काले ‘अब तिम्रो पालो’ भनिसकेको भन्दै उनले नेपाल श्रीलङ्काको बाटोमा जाँदै छ भन्दा कम नहुने धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विप्रेषणले मात्र देश नचल्ने भन्दै मुलुकले उत्पादन क्षेत्रलाई स्थान दिनु पर्ने बताए ।कार्यक्रममा उनले राष्ट्र बैंकले उद्योगीलाई पुनर्कर्जा तिर्न समय दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर बढेर उत्पादन नरोकिएको बताउँदै व्यवसायीहरूमा पनि नाफाको स्वार्थ देखिएको टिप्पणी गरे । उनले पहिला पनि धेरै पटक ब्याजदर घटेको भन्दै त्यस बेला उत्पादनमा ध्यान दिएको भए यो अवस्था नआउने उल्लेख गरे ।
कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर खत्रीले भने बैंकले आफ्नो नाफालाई केही असर नपर्ने गरी नीति ल्याएको बताए । जे गरे पनि नाफा हुने अवस्था आएका कारण बैंक जमिनदार भन्दा कम नभएको टिप्पणी गरे ।
कार्यक्रममा बैंकिङ क्षेत्रका जानकार डा. दिवाकर वशिष्ठले भने अर्थतन्त्र यो अवस्थामा पुग्नुमा राजनीतिक नेतृत्व पनि जिम्मेवार रहेको बताए । उनले मौद्रिक नीति सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले संस्थागत सुशासन नभएको र नियम बनाउन सबैभन्दा अगाडि तर कार्यान्वयनमा सबैभन्दा पछाडि परेको धारणा राखे ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पङ्गेनीले नेपाली मुद्राले जीवन धान्न नसकेका कारण युवा पलायन बढ्दै गएको बताउँदै नेपालमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए । नेपालमै रोजगारी सिर्जना गरेको खण्डमा युवा पलायन स्वतः रोकिने उल्लेख गरे ।
अर्थविद् रवीन्द्र पाण्डेले तरलताको अभाव र ब्याजदरको उच्चता तत्काल देशले भोगेको समस्या रहेको उल्लेख गर्दै बृहत् अर्थतन्त्रलाई विशेष ध्यान दिनु पर्नेमा जोड दिए । उनले अर्थतन्त्र आयातमुखी भएको भन्दै आर्थिक वृद्धिलाई चलायमान बनाउन प्रविधिको प्रयोग र आन्तरिक माग बढाउनु पर्ने बताए ।
कार्यक्रममा विश्लेषक शौरभराज पन्त, कमलेश अग्रवाल, बैंकिङ क्षेत्रका जानकार डा. दिवाकर वशिष्ठ, अर्थविद् रवीन्द्र पाण्डे, खबरहबका अध्यक्ष नरेश श्रेष्ठलगायत सहभागी थिए ।
प्रतिक्रिया