विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १९, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्यो भारत

भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो ।

युएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्यांक समावेश गरिएको छ ।

सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्योभने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ ।

प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ ।

विज्ञहरूका अनुसार भारतलाई अहिले जनसाङ्ख्यिक लाभ भएको छ । उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ ।

देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ । कोभिड–१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ ।

भारत र भुटान जोड्ने रेलमार्ग बन्ने

भारत र भुटान जोड्ने रेलमार्ग निर्माण हुने भएको छ । भुटानको गेलेफु र भारतको आसाम राज्यको कोक्राझारलाई जोड्ने रेलमार्ग निर्माण हुन लागेको हो ।

यस परियोजनाको सर्वेक्षण पूरा भएको भुटान लाइभले उल्लेख गरेको छ । यो भारत र भुटानबीचको पहिलो रेलमार्ग हुनेछ ।

यस रेलमार्ग सन् २०२६ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । ५७ किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले अनुदान दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयअघि भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुक भारत भ्रमणमा आएका थिए । भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा द्विपक्षीय सहयोग र राष्ट्रिय हितका विषयमा छलफल भएको जनाइएको छ ।

जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ : किम जोङ उन

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षाका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो ।

विज्ञहरूले भने जासुसीका निम्ति शक्तिशाली क्यामरा आवश्यक पर्ने र प्रक्षेपण गर्ने भनिएको भूउपग्रहमा त्यस्ता क्यामरा छन वा छैनन् भन्ने प्रश्न गरेका छन् । विगतमा गरिएका प्रक्षेपणका तस्बिर शक्तिशाली क्यामराले नखिचिएकाले अझैपनि प्योङयाङसँग जासुसीका निम्ति उपयोग हुने अत्याधुनिक क्यामरा नभएको उनीहरूको बुझाई छ ।

मङ्गलबार देशको अन्तरिक्ष केन्द्रको भ्रमण गरेर नेता उनले आणविक क्षेप्यास्त्रको प्रभावकारी प्रयोगका लागि सैन्य टोही उपग्रह महत्वपूर्ण हुने बताउँदै खुफिया सूचना संकलन गर्ने भूउपग्रहबारे जानकारी लिएका थिए । वैज्ञानिकहरूले कुनै पनि बेला त्यसलाई प्रक्षेपण गर्न सकिने जानकारी दिएका बताइएको छ ।

उत्तर कोरियाले अमेरिका र जापानलाई आफ्नो प्रमुख शत्रु मान्दै आएको छ । अमेरिकी नाकाबन्दीबाट क्रुद्ध भएको उत्तरले हालै दक्षिणसँग मिलेर अमेरिकाले गरेको बृहत् सैन्य अभ्यासबाट अझ रिसाएको उसले ठोस ऊर्जाशक्तिबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरेर दक्षिण कोरिया र अमेरिकालाई चिन्तित तुल्याएको छ ।

भारतको जम्मु कश्मीरका १० वर्षे बालकले बनाए ‘इन्क्युबेटर मेसिन’

भारतको जम्मु कश्मीरका एक बालकले अण्डाबाट चल्ला उत्पादन गर्ने नयाँ ‘इन्क्युबेटर मेसिन’ को विकास गरेका छन् । जम्मु कश्मीरको कुलगामका १० वर्षीय बालक मोमिन इशाकले यस्तो मेसिनको विकास गरेका हुन् ।

हाल कक्षा २ मा अध्ययनरत इशाकले दुई वर्षको प्रयासपछि यस्तो ‘इक्युबेटर’ मेसिनको विकास गरेका हुन् । उनले विकास गरेको मेसिनले भविष्यमा पोल्ट्री व्यवसायलाई किफायती बनाउने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार स्थानीय कुखुरा व्यवसायी र साना किसानहरूलाई फाइदा होस् भन्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ । आफूले बजारमा रंगीन चल्ला देखेपछि इन्क्युबेटर बनाउने सोच आएको उनले जानकारी दिए ।

मोमिनका बुबा मोहम्मद इशाक तेली भने यति सानो उमेरमा आफ्नो छोराले इन्क्युबेटर विकास गरेकोमा दंग छन् । उनले आफ्नो छोराले यस्तो मेसिन बनउन कडा मेहनत गरेको सुनाए ।

बेइजिङ आगलागीमा मृत्यु हुनेको संख्या २९ पुग्यो

बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए । आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मङ्गलबार आगो सल्केको अनुमान गरिएको छ ।

मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।

चीनको अस्पतालमा आगलागी : २१ जनाको मृत्यु

बेइजिङको एक अस्पतालमा भएको भीषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ ।

चांगफेंग अस्पतालमा भएको सो भीषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्यपि, सो घटनाका बारेमा गम्भीर रूपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ ।

न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथि बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो । उनीहरू उद्धारका प्रतीक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लाबाट हाम फालिरहेका थिए ।

जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई भने नजिकैको अर्को अस्पतालमा उपचार गराइएको छ ।

जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने

जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो मुलुक बनेको छ ।

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् । घटनामा अरु दुई हजारभन्दा धेरै घाइते भएका छन् ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले दूतावासका कर्मचारीसहित करिब ६० जना जापानी नागरिक सुडानमा रहेका बताउँदै उनीहरूलाई त्यहाँबाट उद्धार गर्न रक्षा मन्त्रालयले आवश्यक तयारी गरेको बताए ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल आरएसएफबीचको जारी द्वन्द्वका कारण जनजीवन अस्तव्यस्त भएको छ । राजधानीका साथै अन्य शहरका भीडभाड हुने स्थानमा विष्फोट, हवाई हमलाका साथै गोली हानाहान भएका थिए ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका राष्ट्रपति ओमार अल बशिरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानमा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्ने विषयमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

विश्वका अन्य देशले पनि सुडानमा रहेका आफ्ना नागरिकलाई आफ्ना विवरण आ–आफ्नो मुलुकका राजदूतावासमा बुझाउन आग्रह गरेका छन् । अमेरिकाले आफ्ना नागरिकलाई सम्पर्क विवरणसहितका सूचना दूतावासमा बुझाउन, घरबाट बाहिर ननिस्कन तथा झ्याल नजिक पनि नजान सुझाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ०४ बजे

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले