‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ जेठ अन्तिम साता | Khabarhub Khabarhub

‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ जेठ अन्तिम साता


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जेठ ३० देखि असार १ गतेसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको छ ।

राष्ट्रसङ्घको सहयोगमा शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास र नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न मुलुकमा यस्तो अन्तर्राष्ट्रिय गोष्ठी हुँदै आएको छ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरूप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी देखिएका रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । 

पहिलो पटक शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१४ मा इटालीबाट सुरु गरिएको थियो । नेपालले विश्वशान्ति स्थापनाका लागि गरेको प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसङ्घ मातहतको सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो । 

गोष्ठीमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयका साथै शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषय विज्ञसमेत गरी करिब तीन सय प्रतिनिधिको सहभागिता रहनेछ । गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ । 

राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पुर्‍याइसकेका छन् । यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५७ सैनिक परिचालित छन् ।

राष्ट्रसङ्घलगायत साझेदार पक्षका अनुभवका आधारमा शान्ति मिसनको कार्यादेशलाई वर्तमान र भविष्यमा प्रभावकारी तुल्याउन डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा उक्त कार्यक्रम महत्वपूर्ण सावित हुनेछ । यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा यस्तो कार्यक्रम भएको थियो ।

विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो वरियतामा छ । विश्व शान्ति कार्यमा नेपालको योगदान ठूलो भएको तर यस्ताखाले कार्यक्रम यसअघि नेपालमा नभएकाले पनि यो गोष्ठी महत्व पूर्ण रहने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ मुख्यालयका साथै करिब ५० भन्दाबढी राष्ट्रको प्रतिनिधित्व हुने नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । गोष्ठीमा संयुक्त राष्ट्रसङ्घका उपमहासचिवस्तरका प्रतिनिधिको सहभागिता रहनेछ । 

नेपाली सैनिकको शान्ति मिसनमा रही भएको योगदानका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत सराहना र प्रशंसा हुँदै आएको छ । कार्यक्रमले शान्ति स्थापना कार्यमा भोगिरहेका जटिल चुनौतीबारे शान्ति मिसन, ग्लोबल सेवा केन्द्र र राष्ट्रसङ्घ मुख्यालयका प्रतिनिधिसँग संवाद र सहकार्यकोसमेत अवसर प्रदान गर्नेछ । नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सहकार्य गरेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १ : १८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी