विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला

अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ ‘प्रहरी चौकी’ पत्ता लगाएका हुन् ।

यससँगै अमेरिकाभर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि बेलाबेलामा जासुसीको आरोप लाग्ने गरेको छ ।

यसअघि अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले न्युयोर्कको म्यानहटनमा चिनियाँ प्रहरी चौकी रहेको खुलासा गरेको थियो । एफबीआईले यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको थियो ।

लस एन्जलस र न्युयोर्क सहरबाहेक एफबीआईले सान फ्रान्सिस्को, ह्युस्टनका साथै नेब्रास्का र मिनेसोटाका सहरहरूमा पनि चिनियाँ प्रहरी चौकी फेला पारेको बताइएको छ ।

विश्वभर चिनियाँ नागरिकको निगरानी गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीले यस्ता प्रहरी चौकी स्थापना गरेको अधिकारीको दाबी छ ।

बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार आवश्यक : भारत अरुणाचलका मुख्यमन्त्री खाँडु

उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।

अरुणाचलको जेमिथाङमा आयोजित एक बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री खाँडुले आफ्नो राज्यमा ठूलो सङ्ख्यामा बौद्धमार्गीको बसोबास रहेको उल्लेख गरे । राज्यका बौद्धमार्गीले आफ्नो संस्कृति परम्परालाई जोगाएकोमा उनले सन्तोष पनि व्यक्त गरे ।

उनले आफ्नो राज्यमा बौद्धमार्गीका साथै धेरै धर्मावलम्बीको बसोबास रहेको उल्लेख गर्दै सबै धर्मबीच सहअस्तित्व हुनुपर्नेमा जोड लिए ।
जेमिथाङमा आयोजित उक्त सम्मेलनमा ६ सय जनाको प्रतिनिधित्व रहेको थियो ।

सन् १९५९ मा तिब्बतमाथि चिनियाँ आक्रमणपछि १४ औँ दलाई लामा जेमिथाङ नाकाबाट नै भारत गरेका थिए । सोही कारण यस सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।

म्यान्मारमा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिव बानको आह्वान

संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान की मुनले म्यान्मारमा तत्काल हिंसा अन्त्य हुनुपर्ने बताएका छन् । म्यान्मारका उच्च सैनिक अधिकारीहरूसँगको आकस्मिक भेटमा उनले हिंसा अन्त्यका निम्ति आह्वान गरेका हुन् ।

पूर्वमहासचिव बानले सोमबार म्यान्मारको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गरे ।

विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उनले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव बान उक्त समूहका उपाध्यक्ष हुन् ।

म्यान्मारको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव बान त्यहाँ पुगेका हुन् । सोमबार राति नेपिटोबाट ब्याङ्कक उडेका उनले त्यहाँ रहँदा सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) र संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा शान्ति योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेपछि सैनिक सरकारविरुद्ध भएका आन्दोलनले हिंसात्मक रुप लिएका छन् । सैन्य सरकारले आन्दोलन दबाउन हवाई हमलालगायत घातक कारबाही गर्दै आएको छ ।

हिन्दू मन्दिर तोडफोडका घटना नियन्त्रण गर्न गम्भीर छौँ : अस्ट्रेलियन मन्त्री सुक्कर

अस्ट्रेलियाका सुकुम्बासी, सामाजिक तथा सामुदायिक आवासमन्त्री माइकल सुक्करले हिन्दू मन्दिरमा तोडफोडका घटना नियन्त्रण गर्न आफ्नो सरकार गम्भीर रहेको जनाएका छन् । केही खालिस्तान पृथकतावादी समर्थकहरूको गतिविधि र हिंसाप्रति अस्ट्रेलियाले शून्य सहनशीलताको नीति लिएको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईलाई दिएको अन्तरवार्तामा अस्ट्रेलियाका मन्दिरलाई लक्षित गर्दै भएका तोडफोडका घटनाबाट धेरै भारतीय चिन्तित रहेको मन्त्री सुक्करले बताए । उनले कुनै पनि हालतमा यस्ता हिंसात्मक कार्य सह्य नहुने पनि बताए ।

उनले भारत र अस्ट्रेलियाबीचको सम्बन्ध निकै महत्वपूर्ण रहेको पनि बताए । अन्तरवार्तामा उनले अस्ट्रेलियामा रहेको भारतीय प्रवासी समुदायले पनि दुई मुलुकबीचको सम्बन्धलाई महत्वपूर्ण बनाएको टिप्पणी गरे ।

हिंसा बढ्दै जाँदा सुडानीहरु नाइल नदीको पानी पिउन बाध्य

सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल एसएएफ र र्‍यापिड सपोर्ट फोर्सेस आएसएफ ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।

हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् । बम विष्फोटले पानी आपूर्तिका पूर्वाधार क्षतविक्षत भएका छन् । हिंसा बढ्दै जाँदा सुडानीहरू नाइल नदीको पानी पिउन बाध्य भएका छन् ।

सोबार मध्यरातदेखि युद्धविराम लागू भएको जनाइएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन् ।

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएका छन् । यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए ।

राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् । युद्धमा खार्तुमस्थित इजिप्सियन दूतावासका प्रशासन सहायक एक कर्मचारीको मृत्यु भएको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । उनी घरफिर्तीको प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेका बेला आक्रमणमा परेका हुन् । खार्तुमका सडकमा लाश यत्रतत्र छरिएका छन् ।

आरएसएफले युद्धविरामको उद्देश्य मानवीय सङ्कट उत्पन्न हुन नदिन तथा देशवासीलाई आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्न तथा कूटनीतिक नियोगहरूलाई खाली गर्नु रहेको जनाएको छ । प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ ।

घोषित युद्धविरामले उनीहरूलाई शहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ । विदेशी सरकारहरूलाई पनि आफ्ना आफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुडान हिंसाले देशको सम्पूर्ण क्षेत्र र छिमेकी भूभागमा निम्त्याउन विपत्तिको आगो फैलनसक्ने चेतावनी दिएका छन् ।

आइतबार रातिदेखि सुडानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । देशबाट हजारौँ नागरिक छिमेकी देशमा पलायन भएका छन् भने करिब चार हजार विदेशीले सुडान छाडेका छन् ।

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु

उत्तर पश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् ।

विष्फोटमा परी ४० जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको अनुमान सरकारी अधिकारीहरूले गरेका छन् ।

अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले गोला बारुदमा आगलागी हुँदा विष्फोट भएको हुनसक्ने बताएका छन् ।

पाकिस्तानी तालिबान समूहले विगत केही समयदेखि सुरक्षा बलहरूलाई लक्षित गरी धेरै आक्रमण गर्दै आएको छ । यद्यपि यो विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रतिआतङ्कवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विष्फोट आतङ्कवादीले गराएको नभई त्यो एक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् ।

कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरवाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ०२ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने