दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज दिनभर नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश, किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान, फरार सांसद कोइरीको बिदा स्वीकृतको निर्णय अर्को अधिवेशनमा, अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन, सरकारले छोटो समयमै महत्वपूर्ण काम गर्‍यो, एक जना कोरोना सङ्क्रमितको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो । तर, फेरी खेल मैदानमा भीषण बर्षा पछि पुरै खेल नखेली समुह विजेता बन्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए । पटक पटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन ।

‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।

किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान

नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन्। सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोसी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन्।

उनी आफै आत्मसमर्पण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन्। जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाले २०७४ वैशाख ३१ गते गरेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविस सचिव विजय कामत र दिपचन्द्र मण्डललाई १ वर्ष जेल सजाय तोकिएको छ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरे पनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो। सो अदालतले सरकारी कर्मचारी भएका कारण पूर्व गाविस सचिव कामत र मण्डललाई भने २ वर्षको सजाय तोकिदिएको छ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पूर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन आएलगत्तै अदालतले आवश्यक प्रक्रिया पुरा गरी कैद भुक्तानका लागि कारागार पठाएको सुनाए।

तत्कालीन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो। २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भूमिका खेलेको अदालतले ठहर गर्दै जेल सजाय तोकेको हो।

फरार सांसद कोइरीको बिदा स्वीकृतको निर्णय अर्को अधिवेशनमा

हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाको निर्णय प्रतिनिधिसभाको अर्को अधिवेशनमा हुने भएको छ।

शुक्रबार साँझ बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले कोइरीको बिरामी बिदासम्बन्धी प्रस्तावमा सांसदहरूले प्रश्न उठाएकाले अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी गराएका थिए।

‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु,’ सभामुख घिमिरेले भनेका थिए।

१० दिनसम्म नियमित रूपमा संसद् बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद् सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले गरे। सत्तारुढ दलका सांसदहरूले पनि आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न माग गरे। जसका कारण संसद् बैठक केही समयका लागि अवरुद्ध भएको थियो।

कोइरीका कारण सत्तारुढ र प्रतिपक्ष बिचमा आरोप प्रत्यारोप भएपछि पुनः सहमतिका आधारमा अर्को अधिवेशनले निर्णय गर्ने गरी सभामुख घिमिरे मन्जुर भएका थिए। मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको अभियोगमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ। सो जेल सजाय सुनाएका कोइरी पक्राउ परेका छैनन्।

अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उनले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्।

मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएका हुन् ।

सोक्रममा कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आए लगत्तै अनशनस्थलमा पुगेर माग सम्बोधनको प्रयास गरेको जानकारी गराएका थिए । उनले मन्त्रालयबाटै डा नवीन घिमिरे, डा माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसानसामु पठाइए पनि हालसम्म सहमतिमा नआएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाउनुभएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएका थिए।

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरिबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् ।

आज सर्लाहीको बागमती नगरपालिका-११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए। उनले थपे, ‘भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।’

बागमती नगरपालिका-११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

बागमती नदी किनारमा असुरक्षित स्याउले घरमा बसोबास गरिरहेका पहरी जातिका सर्लाहीमा कूल ७० जना व्यक्ति सो घरमा बसोबास गर्ने बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए ।

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन् ।

दाङको राप्ती गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याएको बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । यो बारेमा अहिलेको सरकारले कुनै निर्णय नलिएको र यो विषय सोच्नै नसक्ने भन्दै सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइ रहेको छ’।

मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामु लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गरिन् । सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्‍याउन प्रतिबद्ध रहेको बताइन्। उनले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्नका लागि कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिइन्।

‘छोटे राजाहरु खोकी लाग्यो भन्दै विदेश जान लागे’
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका छन् ।

शनिबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल माइतीघर मण्डलामा पुगेका पूर्वअध्यक्ष लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका हुन्।

वर्तमान नेताहरूलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिरहेको उनको आरोप छ । नले नेताहरूलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ रु भन्दै प्रश्न गरे। उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै केन्द्रित भएको बताए।

सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहित गरिरहेको उनको आरोप छ । त्यसैगरी अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हितको लागि मात्रै भएको समेत उनले बताए ।

विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए ।

‘विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ’, मन्त्री साउदले भने, ‘अहिले दश पार्टी मिलेर सरकार बनाएका छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हुँदैन ।’ उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको बताए ।

‘सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ’, उनले भने, ‘यो अस्पताल प्रतिष्ठान मात्र नभई यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।’

उनले निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माण लगायतका काममा आफू सक्रिय भएर लागेको बताए। साथै सुदूरपश्चिमको धार्मिक पर्यटनको विकासका लागि एउटा सर्किट निर्माणको गृहकार्य भइरहेको उनको भनाइ थियो।

‘लडाकुलाई आर्थिक सहयोग भन्दा पनि स्वरोजगार बनाउनुपर्छ ‘
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले परिवर्तनका लागि लडेका माओवादीका लडाकुलाई आर्थिक सहयोग दिने भन्दा पनि स्वरोजगार बनाउनु पर्ने बताएका छन् । स्वास्थ्य खवर पत्रिकाको हेल्थ अवार्डद्वारा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको जीवनमा कुनै ठूलो उपलब्धि नहुने उनले बताए।

मुलुक चरम आर्थिक संकटतर्फ रहेको अवस्थामा राज्य ढुकुटीबाट माओवादीका अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय उपयुक्त नहुने उनले बताए । त्यो रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन सके सबैको हितमा हुने महरको तर्क छ। पुराना सम्झौताका कुरा भए पनि मुलुक र ती युवाका लागि के बढी हितकर हुन्छ भन्ने विषयमा राज्य र सरकार गम्भीर बन्नुपर्ने महरले बताए।

‘आज मुलुक आर्थिक संकटमा छ। सरकारले कर्मचारीलाई नै तलब खुवाउन समस्या भोगिरहेको कुरा आइरहेको छ। यस्तो अवस्थामा सरकार सचेत नभए जनतामा वितृष्णा पैदा हुन्छ। व्यवस्थाप्रति अविश्वास बढ्छ। त्यसैले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ। ती युवा साथीहरू एक(दुई लाखको लागि लड्नु भएको होइन। उहाँहरूको योगदानको कदर गर्दै दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्नुपर्छ,’ उनले भने।

करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले बाँड्दा करिब ८० करोड राज्य ढुकुटीबाट सकिने छ। गत चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकुहरूलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

जसको माओवादीबाट समर्थन हुँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेसले विरोध गर्दै आएका छन्। सरकारको उक्त निर्णयको जनस्तरबाट पनि विरोध हुँदै आएको छ।

देव गुरुङको चुनाव खर्च साढे २४ लाख

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले चुनाव खर्च सार्वजनिक गरेका छन्। उनका प्रतिनिधि हरिजंग तामाङले निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।

४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको भनिएको छ ।

यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएको छ भने ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पेट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

एक जना कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् ।

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष आइसीयूमा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ०३ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र