चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ? | Khabarhub Khabarhub

चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?



एसियालाई युरोपसँग जोड्ने महत्वकाङ्क्षी चिनियाँ परियोजनाबारे विश्वमा विविध बहस भइरहेका छन् । यो परियोजना कार्यान्वयनमा आएमा भविष्यमा एसिया नै विश्वको आर्थिक हब बन्ने चर्चा हुने गरेको छ । वर्तमानमा हेर्ने हो भने यस परियोजनाले एसियाका विभिन्न राष्ट्रको अर्थव्यवस्थालाई डामाडोल बनाउँदै छ ।

चीनको महत्वकाङ्क्षी परियोजनाले धेरै देशलाई ऋणको जन्जालमा फसाउँदै लगेको छ । चीनले परियोजनामार्फत् ऋण दिने र चुक्ता गर्न नसके फेरि ऋण चुक्ताकै लागि महँगोमा ऋण थप्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ ।

विगत तीन वर्षको तथ्यांक मात्रै केलाउने हो भने यस परियोजनाको खराब कर्जा ७८ अर्ब डलर पुगेको छ । यो योजनाले चीनलाई विश्वकै ठूलो ऋणदाता बनाएको त छ तर यसले अन्य मुलुकलाई पिल्साएको छ । यो परियोजनाअन्तर्गत चीनले रेल्वे, सडक र विमानस्थलजस्ता आयोजना बनाउन ऋण दिन्छ । विभिन्न १ सय ५० मुलुकमा परियोजनाअन्तर्गत गरेको लगानी खराब कर्जामा परिणत भएपछि चीनले महँगो ब्याजदरमा उद्धार ऋण उपलब्ध गराएको छ ।

चीनको यो नीतिका कारण धेरै राष्ट्रको अर्थतन्त्र डुबानतर्फ अघि बढ्नसक्ने आँकलन भइरहेको छ । यो तथ्यको लागि श्रीलङ्काको उदाहरण नै काफी छ । श्रीलङ्काले चीनको ऋण तिर्न नसक्दा उसले हमनटोटा बन्दरगाह नै चीनलाई लिजमा दिनुपर्ने अवस्थामा पुगेको छ ।

बीआरआईका नकारात्मक असर सार्वजनिक भइरहँदा यसमा बिस्तारै आकर्षण पनि घटिरहेको तथ्याङ्कले देखाउँछ । सन् २०१५ देखि २०२२ सम्मको तथ्याङ्क हेर्दा यस अन्तर्गत निर्माण भइरहेका परियोजनाको सङ्ख्या घटेको पाइएको छ । चीनको वाणिज्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१५ मा बीआरआई अन्तर्गत ३ हजार ९ सय ८७ परियोजना थिए ।

सन् २०१६ मा ८ हजार १ सय ५८ परियोजना पुगेकोमा सन् २०२२ सम्म त्यसको सङ्ख्या घटेर ५ हजार ५ सय १४ पुगेको छ । परियोजना घटे पनि चीनको ऋण भने बढिरहेको देखिन्छ । सन् २०१५ मा ९३ अर्ब डलर लगानी गरेको चीनको लगानी सन् २०२२ मा १ सय ३० अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयको तथ्याङ्क छ ।

बीआरआई अन्तर्गतका परियोजनामा विभिन्न टिप्पणी भइरहेका छन् । समयमै परियोजना नसक्ने,कामको गुणस्तर राम्रो नहुने र भ्रष्टाचार बढी हुने जस्ता समस्या बढिरहेको छ । यस्ता समस्या बढेपछि केही मुलुकले बीआरआई अन्तर्गतका परियोजना रद्द गर्न थालेका छन् । यस्तै समस्या भएपछि केन्याले रेल्वे निर्माण बिचमै आएर रोकेको छ ।

राजनीतिक र अनुचित आर्थिक लाभ लिने हतारोमा परियोजनामा विना कुनै योजना हात हाल्दा समस्यामा पर्ने मुलुकहरूको सङ्ख्या बढिरहेको छ । चीनको यही चाल बुझेर मलेसियाले ११ अर्ब डलर बढीको लगानी अस्वीकार गरेको एड डेटाको तथ्याङ्क छ । यस्तै काजकिस्तानले साढे १ अर्ब र बोलिभियाले पनि १ अर्ब डलर बराबरको चिनियाँ लगानीका परियोजना रद्द गरेका छन् । बीआरआईका ३५ प्रतिशत आयोजनमा उच्च भ्रष्टाचार रहेको एड डेटाको खुलासा छ ।

यस्तै ती परियोजनाहरूमा श्रम शोषण र वातावरणको प्रदूषण उच्च देखिन्छ । पाकिस्तानमा ग्वादर बन्दरगाह चीनले निर्माण गर्दा स्थानीय माझीहरू विस्थापित नै भए । त्यहाँ विमानस्थल र ३०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । ग्वादर परियोजना निकै महत्त्वाकाङ्क्षी थियो । आर्थिक कोरिडोरका रूपमा रहेको ग्वादरबाट वार्षिक ४ अर्ब अमेरिकी डलर बराबरको कारोबार हुने र करिब ११ लाख मानिसले रोजगारी पाउने अपेक्षा राखिएको थियो ।

तर त्यस परियोजनामा भ्रष्टाचार हुँदा अहिले परियोजना अलपत्र परेको छ । यता स्थानीहरूको पानीको श्रोत समेत सुक्दा खडेरी खेप्न उनीहरू बाध्य छन् भने त्यस क्षेत्र वरपरका मानिसहरू चरम ऊर्जा सङ्कटमा फसेका छन् । बेइजिङ र इस्लामावादको व्यापार घाटा पनि निकै उच्च रहेको छ । दुई राष्ट्रको सम्बन्ध नविगार्नका लागि अहिले चीनले पाकिस्तानको रक्षा मामिलामा हात हालेको छ ।

उसले पाकिस्तानको सेनालाई बलियो बनाउनका लागि सैन्य सामाग्री दिने भएको छ । भारतसँग सीमा विवाद जारी राखेको चीनले पाकिस्तानलाई सहयोग गरेर भारतलाइ चिढ्याउन खोजिरहेछ । यता भुटानलाई पनि उसले सहयोगको प्रस्ताव अघि सारिसकेको छ । दुवै छिमेकीलाई सहयोग गर्दै भारतलाई अप्ठ्यारोमा पार्ने नीति अनुसार चीन बढिरहेको देखिन्छ । भुटानसँग पनि बीआरआईकै मोडलमा चीनले काम गर्न खोजेको देखिन्छ । भुटानले अहिलेसम्म कुनै निर्णय भने लिएको छैन ।

बीआरआईका कतिपय परियोजना हतारोमा संभावना नै नरहेको क्षेत्रमा बन्दरगाह र विमानस्थल निर्माण गर्दा केही राष्ट्रहरू ऋणको पासोमा परेका छन् । श्रीलङ्काको मात्तला राजापक्ष विमानस्थल पनि चिनियाँ ऋणमा बनेको थियो । त्यस एयरपोर्ट पूर्ण रूपमा घाटामा हुँदा श्रीलङ्का चीनको ऋण थप फस्दै गयो ।

चीनले विकासोन्मुख राष्ट्रहरूलाई ऋणको पासोमा पार्न थालेपछि एसियाली र पश्चिमा मुलुकहरूले बीआरआईको विकल्प पनि अघि सारेका छन् । जी सेभेनमा रहेका मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूमा पूर्वाधार निर्माणका लागि २०० अर्ब डलर उठाएका छन् । यस योजना अन्तर्गत ६०० अर्ब डलर रकम उठाउने उनीहरूको योजना छ । चीनसँग प्रतिस्पर्धाका लागि जी सेभेन राष्ट्रहरूले विकासोन्मुख राष्ट्रले अनुदान वा सस्तो ऋण उपलब्ध गराउने स्थिति छ । नेपाल पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण त्यस्तै स्थितिमा पुग्न सक्ने खतरा छ । त्यस विमानस्थलले आम्दानी गर्न नसक्दा चीनको ऋण तिर्न समस्या भइरहेको छ ।

चीनले योजनाबेगरका ओयाजनामा हात हाल्दा समस्या व्यहाेरेपछि अहिले केही सचेत पनि भएको छ । जोखिमको हिसाबकिताब मात्रै गरेर लगानी गर्न चीनको केन्द्रीय बैङ्कले सुझाएको स्थिति छ । अब पनि ख्याल नगर्ने हो भने चीनसँगै, लगानी पुगेका राष्ट्रसमेत कठिन अवस्थामा पुग्ने चेतावनी दिइएको छ । ढिलै गरी भए पनि चीनले जोखिम मूल्याङ्कन विना लगानी गर्न नहुने बुझेको देखिन्छ । यस्तो अवस्थामा नेपालले पनि चीनको लगानीमा परियोजना निर्माण गर्दा हुनसक्ने जोखिमलाई राम्रोसँग केलाउँदै हात हाल्नुपर्छ । अन्यथा चिनियाँ ऋणको जन्जालमा नेपाल फस्दै जाने खतरा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ४२ बजे

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

काठमाडौं– संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वरबाट नौ एमएमको

महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौंं– काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायीले प्रदर्शन गरेका छन् । उच्च

एमालेबाट निलम्बित टोपबहादुरसँगै राखियो बिन्दा र उषाकिरणको नाम

काठमाडौं- यही पुस ११ गते ६ महिने निलम्बनमा परेका स्थायी कमिटी

२१ अंकले घट्यो नेप्से, लघुवित्त र म्यूचुअल फन्डमा झिनो सुधार

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले