‘१२ गाउँ’ : अपवाद बन्दै बहस छेड्न सफल | Khabarhub Khabarhub

कला

‘१२ गाउँ’ : अपवाद बन्दै बहस छेड्न सफल


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो दशैँ नेपाली फिल्मका लागि विशेष रह्यो । असोज २४ अर्थात् फूलपातीबाट तीन फिल्म ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आए । घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले पनि उच्च अकुपेन्सीका साथ यी तीन फिल्मसँगको प्रतिस्पर्धामा स्थान बनायो ।

‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘बेहुली फ्रम मेघौली’ सामाजिक कथा आधारित फिल्म हुन् । ‘१२ गाउँ’ एक्सन जनराको फिल्म हो ।

सुपरहिट नेपाली फिल्मका घरेलु दर्शक संख्या करिब पाँच लाख हो । ५१ दिन मनाउन सफल फिल्म उही पाँच लाख वरपर संख्याका दर्शकले हेरेका हुन्छन् ।

बक्स अफिस रिपोर्टलाई आधार मान्दा दशैँका ६ दिन (फूलपाती असोज २४ देखि २९ गतेसम्म) करिब ६ लाख दर्शक फिल्म हलमा पुगेको पाइन्छ । दशैँमा यति उल्लेख्य संख्यामा दर्शक हलमा पुगेको इतिहास छैन ।

फिल्म क्षेत्रका जानकारहरू दर्शकमा हलको उपस्थिति बाक्लिनुको जस ‘१२ गाउँ’लाई दिन्छन् । यस फिल्मले ‘दशैँमा एक्सन फिल्म चल्दैन’ भन्ने मान्यतालाई पनि भत्काएको छ ।

‘१२ गाउँ’ को अकुपेन्सीले फिल्मी वृत्तमा नयाँ बहस छेडेको छ । चलचित्र क्षेत्रमा सक्रिय नामहरूले ‘दर्शकले नयाँ प्याट्रनका फिल्म खोज्न थालेछन्’ भन्ने अड्कलबाजी लगाउन थालेका छन् ।

अर्थात्, दर्शकले पछिल्लो दशक बनेका सामाजिक र यथार्थवादी फिल्मभन्दा फरक स्वादका फिल्म खोज्न थाले । धेरैको अनुमान हो – दर्शकले खोजेको नयाँ स्वाद ‘एक्सन जनारा’ हो ।

अब एक्सनको लहर ?

बितेका दशकमा सामाजिक कथामा आधारित फिल्ममा ‘ह्युमर’ मिसाएर बढीभन्दा बढी दर्शकलाई हलमा तान्न सफल मेकरहरू मध्येमा पर्छन्– दीपकराज गिरी र निर्देशक तथा लेखक प्रदीप भट्टराई ।

उनीहरू दुईमा पनि अब दर्शकले यर्थाथवादी र सामाजिक फिल्मको विकल्पको स्वाद खोज्ने समय आएको बुझाइ छ ।

दीपक भन्छन्, ‘हरेक १० वर्षमा सिनेमाको प्याट्रन परिवर्तन हुन्छ । सामाजिक कथामा ह्युमर मिसाएर फिल्म बनाउन थालेको दशक भयो । अब यो परिवर्तन हुने समय भयो । दक्षिण भारतीय फिल्म हेरेर हुर्किएको पुस्ताको स्वाद सम्बोधन गर्न एक्सन फिल्म आवश्यक रहेछ ।’

निर्देशक भट्टराईको मत पनि दीपकको भन्दा फरक छैन । उनी भन्छन्, ‘स्वाभाविक रूपले दर्शकले निश्चित समयमा नयाँ स्वाद खोज्नुहुन्छ । यो नयाँ स्वाद खोज्ने समय हो भनेर नकार्न सकिँदैन । हामीले यो कुरा थाहा पाउन जरुरी छ कि सबै जनारको दर्शक उत्तिकै हुनुहुन्छ । अहिले बनिरहेको फिल्मका दर्शक पाँच लाख छन् भने एक्सन, थ्रिलर, हरर जनारा रुचाउने पनि उत्तिकै हुनुहुन्छ ।’

यद्यपि, अब एक्सन फिल्मकै लहर आउनेमा भने ठोकुवा गर्न नसकिने उनी बताउँछन् ।

यो पटक दशैँमा १२ गाउँको अकुपेन्सीले दर्शकको एक्सन फिल्ममा आकर्षण रहेको भन्दा अतिशयोक्ति नहुने निर्देशक जनकदीप पराजुलीको तर्क छ । उनको आशंका छ, ‘अबका दिनमा एक्सन जनराका फिल्मले स्थान बनाउँछन् कि ?’

लेखक तथा समीक्षक सामीप्य तिमल्सेना ।

समीक्षक तथा लेखक सामीप्य तिमल्सेना ‘१२ गाउँ’ को अनुपेन्सीलाई अपवाद मान्छन् । यो फिल्मको व्यापारका पछाडि ‘स्टार किड’को आगमन र छक्का पञ्जाको विकल्प प्रमुख कारक रहेको उनको विश्लेषण छ ।

‘स्टार किडको स्वागतमा दर्शकले साथ दिएका थुप्रै उदाहरण छन् । १२ गाउँको अकुपेन्सीमा पनि अभिनेता विराज भट्टका छोरा समीरको डेब्यूको प्रभाव छ,’ उनी थप्छन्, ‘सामाजिक सञ्जालमा छक्का पञ्जा टिमलाई एकोहोरो खेदिएको देखियो । विभिन्न कारणले छक्का पञ्जाको विकल्प खोज्न पनि यो फिल्म हेरेको पाइएको छ । यो सामाजिक सञ्जाल हेर्दा स्पष्ट हुन्छ ।’

नेपाली फिल्म निर्माणको प्याट्रन परिवर्तन हुने सङ्घारमा रहे पनि १२ गाउँकै कारण एक्सन फिल्मको लहर आइनहाल्ने उनको विश्लेषण छ । फिल्म निर्माणको नयाँ प्रवृत्ति विकास गर्ने कन्टेन्ट आफूले १२ गाउँमा नपाएको सामीप्य बताउँछन् ।

भन्छन्, ‘१२ गाउँ एक्सनको लहरै ल्याउने खालको सशक्त फिल्म होइन । यो पुरानै ढर्राको एक्सन फिल्म हो । यसको अकुपेन्सी अनपेक्षित भयो । यो अपवादको व्यापार हो । यसलाई माइलस्टोन मानेर फिल्म बन्छन् जस्तो लाग्दैन । बने भने जोखिममा पर्छन् ।’

उनी थप्छन्, ‘१२ गाउँमा नवीनता केही छैन । माइलस्टोन मान्नुपर्ने पाटो पनि छैन । प्याट्रन परिवर्तन गर्न लुटजस्तो फिल्म चाहिन्छ । कलात्मक रूपमा यसले लुटलाई पनि भेट्न सकेको छैन । लुटले छाडा शब्द, यथार्थवादी संवाद र चरित्र फिल्ममा राख्ने प्रवृत्ति नै विकास गरेको थियो । यी पक्षमा १२ गाउँ कमजोर नै छ ।’

दशैँले ल्याएको माहोल

यो दशैँमा चार फिल्म प्रदर्शनमा आउँदा सुस्ताएको सिनेमा बजार केही हदसम्म माथि उठाउन सहयोग पुगेको चलचित्रकर्मीहरूको बुझाइ छ ।
दर्शकबाट चारै फिल्मले सकारात्मक प्रतिक्रिया पाउनु सुखद पक्ष रहेको निर्देशक जनकदीप पराजुली बताउँछन् ।

भन्छन्, ‘फिल्म प्रदर्शनको सङ्घारमा रहँदा सिनेक्षेत्र एकदमै गर्मागर्मी बनेको थियो । दर्शकमा पनि उत्सुकता पैदा गरेको थियो । यो पटक नेपाली फिल्म कस्ता बन्दैछन् भनेर दर्शक हलमा गएको अवस्था हो जस्तो मलाई लाग्छ । दर्शकले सबै फिल्मलाई मन पराउनु पनि भयो । यो फिल्मको व्यापारका लागि दीर्घकालीन फाइदाको पक्ष हो ।’

निर्देशक जनकदीप पराजुली ।

यही दशैँबाटै चलचित्र क्षेत्रले नयाँ नायकका रूपमा समीरलाई पाउनु पनि उपलब्धिको पाटो रहेको उनी बताउँछन् । भन्छन्, ‘दर्शकले उहाँको काम मन पराउनुभएको रहेछ । विराजजीले सिनेमा क्षेत्रलाई नयाँ नायक (समीर) दिन राम्रै गृहकार्य गर्नुभएको रहेछ ।’

त्यस्तै, दशैँमा पनि एक्सन फिल्मको व्यापार राम्रो हुने रहेछ भन्ने सन्देश यो पटक पाइएको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।

भन्छन्, ‘पहिला एक्सन फिल्म चल्दैन भन्ने नै आमबुझाइ थियो । यो पटक त दुईभन्दा बढी फिल्म पनि हलमा चल्दा रहेछन् र व्यापार पनि गर्दा रहेछन् भन्ने पुष्टि भयो । अनि दशैँमा फिल्मको जनाराले पनि त फरक पर्दो रहेनछ नि !’

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : २२ बजे

धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा बन्यो ‘आश्रम भवन’

पर्वत– पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल

काबेली प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

इलाम– इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२

दिल्लीमा आगलागी हुँदा दुई जनाको मृत्यु, चार घाइते

नयाँदिल्ली– दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० पुस्तक छनोट

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति

विपद् बैठकमा प्रधानमन्त्रीले भने, ‘कुरा काट्ने प्रवृत्ति छ, मिलेर सामना गर्नुपर्छ’ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३