विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

आज जेठ ३१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ग्रीसमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ५९ जनाको मृत्यु

ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ५९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार घटनामा एक सय चार जना यात्रुको उद्धार गरिएको छ । त्यसैगरी, बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

हेलेनिक कोस्ट गार्डले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुनै पनि यात्रुसँग लाइफ ज्याकेट थिएन ।

यो घटना पाइलोस शहरको तटमा भएको थियो । ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीका अनुसार दुर्घटनाबाट बच्न सफल आप्रबासीहरूले अधिकारीहरूलाई माछा मार्ने डुङ्गा लिबियाबाट इटालीतर्फ हिँडेको समयमा ग्रीसमा दुर्घटना भएको बताएका छन् ।

ग्रीस सन् २०१५ देखि शरणार्थी र आप्रवासी आगमनमा अग्रङ्क्तिमा रहँदै आएको छ र विगत आठ वर्षमा एजियन सागरमा सयौंको मृत्यु भएको छ भने हजारौँलाई समुद्रबाट उद्धार गरिएको छ ।

नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु

नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाहबाट फर्केका मानिस सवार डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको हो ।

क्वारा राज्यको पाटेगी जिल्लामा रहेकाे नाइजर नदीमा डुङ्गा पल्टिएको राज्यका प्रहरी प्रवक्ता ओकासान्मी अजयले बताए । उनका अनुसार डुंगा दुर्घटनाबाट १०३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढीको उद्धार गरिएको छ ।

अफ्रिकाको सबैभन्दा लामो नाइजर र बेनु नदीहरू बीचको संगमको नजिक रहेको क्षेत्रमा यसअघि पनि डुंगा दुर्घटना भएका थिए । मे २०२१ मा भएको डुंगा दुर्घटनामा १६० जनाको मृत्यु भएको थियो ।

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता

विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन् । यसलाई हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता मानिएको छ ।

विशेष गरी ताइवानलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व हुने गरेको छ । बेइजिङले आवश्यक परे बल प्रयोग गरेर ताइवानलाई कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ । यसअघि अमेरिकी विदेशमन्त्रीको फेब्रुवरीमा हुने भनिएको नियोजित भ्रमण अचानक रद्द भएपछि आपसी मनोमालिन्यलाई शान्त पार्ने उद्देश्यले दुई देशका शीर्ष कूटनीतिज्ञले वार्ता गरेका हुन् ।

आगामी आइतबार अमेरिकी विदेशमन्त्री बेइजिङ पुग्दैछन् । यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको चिनियाँ विदेशमन्त्रीले वार्तामा बताएका थिए । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङले अगाडि सारेको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई मान्य हुने सहयोगको सिद्धान्त अनुसार चीन–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने चिनियाँ चाहना विदेशमन्त्रीले दोहो¥याएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले पनि विदेशमन्त्री ब्लिन्केनले विश्व मामिलाका साथै आपसी सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, द्वन्द्वबाट बच्ने तथा चीनसँगको संवाद र सञ्चारलाई खुला राख्ने विषयमा आफ्ना चिनियाँ समकक्षीसँग विचारविमर्श गरेका थिए ।

संरचनागत सुधार र नीतिगत हस्तक्षेपका कारण भारतीय अर्थतन्त्रमा आशाका किरण

कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा भने आशाका किरण देखिएका छन् ।

विश्व अर्थतन्त्रमा भारतको भविष्य उज्ज्वल रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेपछि भारतीय नीतिनिर्माताहरुले अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले उनीहरू थप उत्साहित छन् । उनीहरूले सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा गर्दै तिनलाई तत्काल कार्यान्वयनको चरणमा पुर्‍याए ।

अहिले ती योजनाले परिणाम पनि देखाउन थालेका छन् । हालै जारी गरिएको देशको आर्थिक तथ्यांकमा सरकारी अनुमानभन्दा बढीले कूल ग्राहस्थ्य उत्पादन जिडिपीको वृद्धि भएको । सात प्रतिशतले जिडिपी विस्तार हुने सरकारी अनुमान सात दशमलव दुई प्रतिशत पुगेको छ ।

यो विस्तारले भारत उदीयमान अर्थतन्त्र भएका मुलुकको सूचीमा द्रुततर विकासको बाटोमा अघि बढेको स्पष्ट हुन्छ । कोभिड–१९ को महामारीपछि भारतको तुलनमा एसियाली प्रतिद्वन्द्वी चीनले आफ्नो आर्थिक पुनरुत्थानमा खासै गति लिन सकेको छैन ।

अमेरिकी वित्तीय सेवा कम्पनी मोर्गन स्टेनलीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार एक दशकभन्दा कम समयमा भारतको अर्थतन्त्रमा परिवर्तन भएको छ । भारतीय अर्थतन्त्रको सूक्ष्म विश्लेषण गरेको स्टेनलीको प्रतिवेदनले भविष्यमा पनि आर्थिक क्षमतामा उत्कृष्ट हुने प्रक्षेपण गरेको छ ।

राजस्व सङ्कलन र विवेकपूर्ण खर्च, निर्यात र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मा वृद्धि, अतुलनीय पूर्वाधार, विकासको गतिलाई रोक्न नदिन निरन्तरको निगरानी, नीतिगत हस्तक्षेप, मुद्रास्फीति नियन्त्रणको इमानदार प्रयासलाई भारतले आक्रमक रुपमा अघि बढाएको छ । सन् २०१४ मा नरेन्द्र मोदीले देशको शासन व्यवस्था सम्हालेपछि भारतमा परिवर्तन आएको र अर्थव्यवस्था पनि सबल बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन भन्छ– ‘विश्वका प्रतिष्ठित पाँच अर्थतन्त्रमध्ये सबैभन्दा द्रुत गतिमा भारतमा आर्थिक वृद्धि भइरहेको छ । दीर्घकालीन आर्थिक लक्ष्यहरूको रणनीति बनाउनेदेखि सुधारका उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, जसरी पनि देशको अर्थतन्त्रलाई उजिल्याएरै छाड्ने व्यक्तिगत आकाङ्क्षा र राष्ट्रको प्रगतिलाई नै आफ्नो सफलता मान्ने नेतृत्वको सोचले त्यो सम्भव भएको हो ।’

‘स्थिर पुँजीको व्यवस्था र निर्यातमा भएको बढोत्तरी इष्र्या गर्न लायक छ । रोजगारी अभियानमा स्वयम् मोदीले मोर्चा बनाएर अघि बढ्दा सफलता मिलेको छ । अस्थायी नै भए पनि एकैपटक ७० हजार युवाले रोजगारी पाएका छन् ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबै किसिमका व्यापारलाई सरकारको दायराभित्र ल्याएर अर्थतन्त्रको औपचारिकीकरणतर्फको सफल प्रयाससँगै मोदी सरकारले देशको करको आधारलाई फराकिलो बनाउने र जनतालाई आर्थिक रुपमा सबल बनाउन अघि सारेका प्रोत्साहन योजना, सामाजिक सुरक्षा, ऋण र वित्तीय सेवामा सहज पहुँच र व्यापारको वातावरण सुनिश्चिताले पनि व्यवसाय फस्टाएको छ ।

वैदेशिक लगानी पनि बढेको छ । भारतले लगानीकर्ताहरूको लागि अनुकूल वातावरण बनाएको छ । गत वर्ष झण्डै आठ अर्ब अमेरिकी डलर एफडीआई इक्विटी प्रवाहसहित एफडीआईमा ८४ अर्ब ८० करोड डलर पुगेको छ ।

पूर्वाधार विकासलाई तीव्रता दिन ठूलो प्रयास गरिरहेको छ । एयरवेजदेखि रेलवे र रोडवेजसम्म, द्रुत विस्तार र स्तरवृद्धिले देशको बृहत् आर्थिक लाभांश बढाउन मद्दत पुगेको छ ।

बिपरोजय तुफानले गुजरातमा ६ जनाको मृत्यु

चक्रवात विपरजोय आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजो देखी सुरु भएको बिपरजोय तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रयस्थलमा पठाएको थियो।

बिपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा ठूलो अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसकाकारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।

भारत मौसम विभागले पूर्वानुमानका अनुसारका चक्रवाती तूफानू कमजोर भएको पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाईएको छ ।

आईएमडी प्रमुख मृत्युञ्जय महापात्राले भने कि चक्रवातले कच्छ, देवभूमि द्वारका, जामनगर र पोरबन्दरका स्थानहरूमा अत्यन्त भारी वर्षा हुन सक्ने भएकाले सबै सुरक्षाका उपायहरू अपनाइएको छ ।

राहुल गान्धीको अमेरिकामा ट्रक यात्रा

चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् । राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

उनले आफ्नो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् । यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए ।

आफ्नो यात्रामा राहुलले ट्रक चालकसँग राजनीतिदेखि मुद्रास्फीतिसम्मका विषयमा छलफल गरेको जनाईएको छ । यात्राको क्रममा राहुलले सिद्धु मुसेवालाको गीत पनि सुनेका थिए ।

राहुलले भने, अमेरिकाका ट्रकहरू बढी सहज छन् । उनी वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसे । राहुलले भने– ‘भारतको भन्दा अमेरिकाका ट्रक धेरै सहज छन् । भारतका ट्रकहरूले चालकको सुविधाको वास्ता गर्दैनन्। तिनीहरू ट्रक चालकहरूको लागि बनाइएका छैनन्।’

ताजिन्द्रले राहुललाई अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनी जानकारी दिएका छन् । राहुल गान्धी मे ३० देखि अमेरिकाको भ्रमणमा छन् ।

रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु

रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । मंगलबार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारबाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् ।

क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन्। क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्ही लिसाकले बताए।

रुसले आक्रमण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर हो। रसियाले रणनीतिक रूपमा यहाँ रातभर हमला गर्‍यो, जसले सो क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। यो विनाश रूसी सेनाको युद्धमा पछिल्लो रक्तपात हो ।

पश्चिमाको सहयोगमा युक्रेनी सेनाले रुसीहरूलाई बाहिर धकेल्ने प्रयास गरिरहेको अवस्था यो आक्रमण भएको हो । जेलेन्स्कीले केही तस्बिरहरू सेयर गरेका छन् जसमा अग्निनियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेको देखिन्छ।

जेलेन्स्कीले लेखेका छन, ‘आतंकवादीहरूबाट थप मिसाइलहरू, रूसी हत्याराहरूले आवासीय भवनहरू, शहरहरू र आम मानिसहरू विरुद्ध आफ्नो युद्ध जारी राखेका छन्’

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : ५८ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा