आज असार १८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
अमेरिकी अर्थमन्त्रीले चीनको भ्रमण गर्ने
विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता चीनको भ्रमण गर्ने भएकी छिन् ।
अमेरिकी अर्थमन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका राष्ट्रपति नेता सी चिनपिङ र विदेशमन्त्री चीन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनले जुलाई ६ देखि ९ सम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “येलेनले आफ्ना समकक्षीहरूसँग ‘सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न, चासोका क्षेत्रहरूको बारेमा प्रत्यक्ष संवाद गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सँगै काम गर्न’ दुवै देशको महत्वबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।”
अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भ्रमणबाट वासिङ्टन र बेइजिङबीचको तनावपूर्ण सम्बन्धमा आफूले प्रगति देखेको चिनियाँ राष्ट्रपति सीले बताएका थिए ।
विदेशमन्त्री ब्लिन्केन करिब पाँच वर्षमा चीनको राजधानी बेइजिङ भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी हुन् ।
बेइजिङमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा छलफल गर्ने एक वरिष्ठ अर्थ अधिकारीले आइतबार बताएका छन् ।
उनले चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने र प्रमुख अमेरिकी कम्पनीको अवलोकन गर्ने तय भएको अमेरिकी पक्षको भनाइ छ । अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा हित सुरक्षित गर्न र मानव अधिकारको रक्षा गर्न चाहेको तर यसलाई चीनमाथि आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यका रुपमा हेर्न नहुने अमेरिकी पक्षले जनाएको छ ।
वासिङ्टनले बेइजिङसँगको ‘स्वस्थ’ सम्बन्धलाई पनि हेर्ने र जलवायु परिवर्तन तथा कर्जा संकटजस्ता अत्यावश्यक चुनौतीहरूमा सहकार्य गर्दै अर्थतन्त्रलाई कमजोर बनाउन नचाहेको पनि बताइएको छ ।
अमेरिकाले यस प्रारम्भिक यात्राबाट ‘महत्वपूर्ण सफलता’ को अपेक्षा नगर्ने तर यसले चीनसँग सञ्चारको दीर्घकालीन च्यानलहरू निर्माण गर्ने लक्ष्य राखेको अमेरिकी अर्थमन्त्रालयका एक वरिष्ठ कर्मचारीले बताए ।
काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर) का वरिष्ठ सदस्य एडवर्ड एल्डेनले एएफपीसँग भने, “मलाई लाग्छ कि अमेरिकी सरकारले स्पष्ट रूपमा आर्थिक सम्बन्धको बिग्रँदो अवस्थालाई कम गर्न प्रयास गरिरहेको छ । येलेनको यात्राले तल्लो स्तरमा वार्ता र छलफलको स्थिर ढाँचा पुनः सुरु गर्न सक्छ ।”
“पछिल्लो समय अमेरिकाले समस्यालाई कसरी समाधान दिने भन्नेतिर भन्दा जोखिम कम गर्ने अस्पष्ट रणनीतिलाई अपनाएको देखिन्छ’’ एल्डेनले भने, “यसको अर्थ रणनीतिक महत्व भएका वस्तुहरूको संकुचित दायरामा ध्यान केन्द्रित गर्नु हो, ती वस्तुहरूको वरिपरि तारबार निर्माण गर्ने प्रयास गर्नु हो । तर अमेरिका–चीन आर्थिक सम्बन्धलाई उचित रूपमा बलियो बनाउन जारी राख्ने प्रयास गर्नु उचित हो ।”
तर पर्यवेक्षकहरूले दुई सिद्धान्त र परिवेशबाट अघि बढिरहेका दुई ठूला अर्थतन्त्र भएका मुलुकका जिम्मेवार अधिकारीको भ्रमणले तनावको शीघ्र समाधान दिनेमा खासै आशा नगरेको देखिन्छ ।
इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु
इजरायली सेनाले सोमबार प्यालेस्टाइनको पश्चिमी किनारा (वेस्ट बैङ्क) स्थित जेनिन क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सोमबारको कारबाहीमा पाँच जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको जनाएको छ ।
जेनिनस्थित प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमुद अल सादीले एएफपीसँग भने, “ड्रोनमार्फत् बम बारी भइरहेको र जमिनबाट पनि आक्रमण भइरहेको छ ।”
उनले भने, “धेरै घर र वस्ती वरपर बम बारी भएको छ । जताततैबाट धुवाँ उडिरहेको छ ।”
इजरायली सेनाले स्थानीय लडाकु समूह ‘जेनिन ब्रिगेड’ को कमाण्ड पोष्टका रूपमा रहेको संयुक्त कारबाही केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ ।
यो क्षेत्र प्यालेष्टिनी नेता महमुद अब्बासको प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा छ र यसको वेस्ट बैङ्कमा आंशिक प्रशासनिक नियन्त्रण छ ।
सेनाका अनुसार सोमबार बिहानै गरिएको कारबाहीमा लडाकुको अवलोकनस्थल, हतियार भण्डारण केन्द्र र हालैका महिनाहरूमा इजरायलमाथि लक्षित आक्रमण गरेका आरोपित लुकेको ठाउँलाई लक्षित गरिएको थियो ।
इजरायल–प्यालेस्टाइन द्वन्द्व गत वर्षको सुरुदेखि नै थप हिंसात्मक बनेको छ । डिसेम्बरमा लिकुड पार्टी र अति दक्षिणपन्थी तथा अति–अनुदारवादी यहूदी सहयोगीहरूबीचको गठबन्धनमा सत्ता सम्हालेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सत्ता सम्हालेपछि इजरायल थप आक्रामक बनेको देखिन्छ ।
नेतन्याहूको गठबन्धनमा अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गिभरलगायत कट्टरपन्थी बस्तीबाट निर्वाचित नेताहरू समावेश छन् ।
टोकियोमा विस्फोट हुँदा चार जना घाइते
जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् ।
स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विस्फोटपछि आगलागी भएको थियो ।
टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चार जना सामान्य घाइते भएका छन् । जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी रहेका छन् ।
विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो तल्लाको एउटा कोठाबाट धेरै टुक्राहरू उडिरहेको देखिएको थियो । आगो तीव्र गतिमा फैलनुअघि ग्यासको हल्का गन्धसँगै कोठामा धुवाँको मुस्लो देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
घटनामा घाइते भएका व्यक्तिहरूको कपाल र लुगाहरू आंशिक रूपमा जलेका छन् ।
अग्नि नियन्त्रक विभागका अनुसार भवनको दोस्रो र तेस्रो तल्ला पूर्णरूपमा जलेको छ भने आगो निभाउन करिब ३१ वटा दमकल पठाइएको छ ।
घटनास्थल टोकियोको प्रमुख इन्टरचेन्ज रेलवे स्टेशनहरू मध्ये एक र गिन्जा किनमेल क्षेत्रबाट केवल १० मिनेटको पैदल दूरीमा धेरै कार्यालय, रेस्टुरेन्ट र आवासीय क्षेत्र रहेको शिम्बाशी स्टेशनको ३०० मीटर पश्चिममा पर्छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
सुडानमा दादुराको प्रकोप
सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ ।
डाक्टर्स विदाउट बोर्डर्स अर्थात् मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ) को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो । सुडानको ह्वाइट नाइल राज्यमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सङ्ख्या बढ्दो छ । नौवटा शिविरमा मुख्यतया महिला र बालबालिका गरी लाखौँको सङ्ख्यामा मानिसहरू बसिरहेका छन् ।”
गैरसरकारी संस्थाले गत जुन ६ देखि २७ सम्म ह्वाइट नाइल शिविरमा दादुराका शङ्कास्पद २२३ बालबालिकाको उपचार गरेको थियो भने १३ जनाको मृत्यु भएको छ । एमएसएफले सहयोग गर्ने दुईवटा क्लिनिकबाट ७२ जनालाई उपचार गरिरहेको छ ।
“हामीले हरेक दिन दादुराको शङ्कास्पद बिरामी बालबालिकालाई ल्याइरहेका छौं । गैरसरकारी संस्थाका अनुसार जुन महिनामा यी दुई क्लिनिकमा कूल तीन हजार १४५ जना बिरामी आएका छन् ।” विज्ञप्तिमा भनिएको छ, “जति धेरै मानिस आउँछन्, सहयोग, खोप, पोषण सहायता, आवास, पानी र सरसफाइजस्ता सेवा तत्काल बढाउन आवश्यक छ । वर्षायाम नजिकिँदै छ र हामी यस क्षेत्रमा पानीजन्य रोग र औलोको प्रकोप बढ्दै गएकोमा चिन्तित छौं ।”
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय आइओएमको तथ्याङ्कअनुसार सुडानबाट करिब २८ लाख मानिस पलायन भएका छन् ।
इजरायलले अमेरिकासँग लडाकु विमान किन्ने
इजरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ ।
लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा एफ–३५ विमानको संख्या बढेर ७५ पुग्नेछ ।
यस सम्झौतामा अमेरिकाबाट आएको आर्थिक सहयोग प्रयोग गरिने अधिकारीहरूले बताएका छन् । इजरायल पहिलो देश हो, जसलाई अमेरिकाले एफ– ३५ विमान दिएको छ ।
रक्षा मन्त्रालयले विमानहरू अमेरिकी सैन्य सहयोगमा खर्च भइरहेको बताएको छ ।
अमेरिकामा एक पार्टीमा गोली चल्दा २ जनाको मृत्यु,२८ घाइते
अमेरिका एक पार्टीमा गोली चल्दा २ जना मारिएका छन् । घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले आइतबार शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा गोली चलेको बताए ।
अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको घटना भएको हो ।
अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ । अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको जनाइएको छ । जसमा सात जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै
अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा निस्कने भएका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले जुलाई ९ देखि १३ सम्म युनाइटेड किंगडम, लिथुआनिया र फिनल्याण्डको भ्रमण गर्ने जनाइएको छ ।
उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनलाई बलियो बनाउन उनी भ्रमणमा निस्कन लागेका हुन् ।
भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले लण्डनमा राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरी घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउन छलफल गर्नेछन् ।
त्यसपछि उनी ७४ औं नेटो शिखर सम्मेलनमा भाग लिन जुलाई ११ देखि १२ सम्म लिथुआनियाको भिल्नियस जानेछन् । यसपछि अमेरिका नर्डिक नेताहरूको शिखर सम्मेलनका लागि फिनल्याण्डको हेलसिंकीको भ्रमण गर्नेछन् ।
युक्रेनको युद्ध दोस्रो वर्षमा फैलिँदै गर्दा रुसी आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनलाई सुदृढ पार्ने बाइडेनको युरोप भ्रमणको उद्देश्य रहेको पनि जनाइएको छ ।
बाइडेनको पाँच दिने भ्रमणको मुख्य केन्द्रविन्दु यस वर्ष लिथुआनियाको भिल्नियसमा आयोजना हुने वार्षिक नाटो शिखर सम्मेलन हुनेछ ।
अमरनाथ यात्रा सुरु
भारतको जम्मु कश्मीरमा पवित्र तीर्थस्थल अमरनाथ यात्रा सुरु भएको छ ।
जम्मु कश्मीर प्रशासनले शनिबार बालटाल आधार शिविरबाट तीर्थयात्रीहरूको पहिलो समूहलाई बिदाई गरेसँगै औपचारिक रुपमा यात्रा सुरु भएको हो ।
जम्मु कश्मीरको अनन्तनाग क्षेत्रमा रहेको यस गुफामा भगवान् शिवको मन्दिर रहेको छ । १२ किलोमिटर दूरीको यस अमरनाथ यात्रालाई हिन्दू धर्ममा निकै महत्वपूर्ण मानिन्छ । १३ हजार फिटको उचाईमा अमरनाथ गुफामा रहेको मन्दिरसम्मको यात्रालाई निकै कष्टपूर्ण हुने बताइन्छ ।
यस तीर्थयात्रामा सहभागी भएमा दुःख, कष्ट र पापबाट छुटकारा मिल्ने जनविश्वास रहीआएको छ । ६२ दिने तीर्थयात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था उच्च पारिएको जम्मु कश्मीरका अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया