नाटक, चलचित्र र टेली सिरियलमा अभिनय गरेका रामचन्द्र अधिकारीको नेपाली अभिनय क्षेत्रमा छुट्टै पहिचान छ। तीन सय भन्दा बढी चलचित्रमा अभिनय गरेका अधिकारीले त्यो भन्दा धेरै संख्यामा नाटक गरेका छन्। ‘मेरी बास्सै’, ‘कान्छी’ लगायतका टेली सिरियलमा पनि अभिनयमा व्यास्त छन्। चलचित्र वासुदेवदेखि अहिले सिर्जनासम्म आइपुग्दा यो बीचमा चलचिचत्र चिनोदेखि धेरै चलचित्रमा अभिनय गरिसकेका छन्। वरिष्ठ कलाकार रामचन्द्र अधिकारीको अभिनय यात्रा र जीवन संघर्षको विषयमा नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
सुरुवातको नाटकको सच्चा प्रेम कति सालमा खेल्नु भएको थियो ?
यो मैले २०३५ सालमा खेलेको हुँ। मैले पहिला नै टेलिकममा जागिर खाइसकेको थिएँ। जोरपाटी युवा क्लबमा गोठाले साथीहरू नाटक गर्न लागेको बेलामा परीक्षित ढुङ्गाना गुरुले नाटक सिकाइरहनु भएको रहेछ। सच्चा प्रेममा काकाको रोलमा नाटक गरेँ। त्यो बेला स्वर्गीय चक्रबहादुर ठकुरीहरू सबै जनाले रुचाउनु भयो। त्यो नाटकमा राम्रो अभिनय गयौँ भनेर भन्नुभएको थियो। पछि श्री समूहले नाटक गरिरहेको रहेछ। शंकरदेव क्याम्पसको विद्यार्थीको सहयोगमा अँध्यारो उज्यालो नाटकको तयारी हुँदै रहेछ त्यहाँ पनि गएँ। कृष्ण मल्ल, रवि खड्कालगायतलाई भेटेँ।
नाटकको लागि तपाईंमा कस्तो चाहना थियो। परिवारबाट कस्तो हौसला पाउनु भयो ?
मेरो परिवारमा बुबा आमा कृषिमा आधारित हुनुहुन्थ्यो। स्कुल पढ्नु भएको थिएन। मैले पनि दुई वर्ष मात्र पढ्न पाएँ। हामी चार जना थियौँ। कान्छो भाइलाई पढ भनेर मैले बल गरेँ। आमासँग मामाघर जाँदा चौतारीमा भारी बोकेर आएका आमाहरूको फाटेको चोलो, खाली खुट्टा देख्दा मन चिसो भयो। पछि एउटा चलचित्र हेरेँ र यस्तो चिजहरू चलचित्रमा देखाउन पाए राजाले हेरेर जनताका दुःख बुझ्नु हुन्थ्यो कि जस्तो लाग्थ्यो। वासुदेव चलचित्रमा पनि एक सिन गर्ने मौका पाएँ। सुटिङको क्रममा हरिहर शर्मासँगको संवाद थियो। यसमा मैले अभिनय प्रस्तुत गर्दा ताली बज्यो।
नाटक र चलचित्रको अभिनयको फरक के हुँदो रहेछ ?
अभिनय भनेको अभिनय नै हो। तर दर्शकको अगाडि नै बसेर आहा भन्ने प्रत्यक्ष मूल्याङ्कन गर्ने भनेको नाटक नै हो। २०४२ सालमा पहिलो टेलिभिजन खुलेपछि पहिलो टेलीफिल्ममा खेल्ने मौका पाएँ। पृथ्वी नारायण शाह डक्कु ड्रामामा गाउने क्यारेक्टरमा अभिनय गरेँ। त्यसपछिको सिरियल चक्रब्यूमा पनि अभिनय गरेको थिएँ।
जागिर खाँदै अभिनय गर्न कत्तिको सहज भयो ?
एकदमै पीडादायी भयो। कहिले काँही निराश पनि भएँ। तुल्सी घिमिरेको कोसेली, यादव खरेलको चेलीबेटी, प्रेम पिण्ड, आँधीबेहरी लगायतका धेरै चलचित्रमा अभिनय गर्दै गएँ। जब अरुण बाबुसँग काम गर्ने मौका मिल्यो त्यहाँ अनुशासन र कामको महत्त्व बुझेँ।
पहिला र अहिलेको चलचित्र बन्ने र खेल्ने प्रक्रिया कत्तिको फरक देख्नुभयो ?
पहिला अलि अनुशासनमा रहनु पर्दथ्यो। अहिलेका मान्छेहरू अनुशासित छैनन्। अहिले अनुशासनमा मान्छे नबसेका हुन् कि जस्तो लाग्छ। नराम्रा घटनाहरू सुन्नु परेको छ। यो लाइन भनेको दर्शकले आर्शिवाद दिने ठाउँ हो। यसमा बेमानी नगरौँ। अहिले मान्छेहरुले चलचित्रबाट नै धेरै कमाएका छन्। तर इमान्दारिता कम मात्र देखिएको छ।
तपाईंले कति कमाउनु भयो ?
आर्थिक रूपमा बालबच्चालाई पढाउने मेरो जागिर थियो। राम्रो नै छ। कतिले ठगे, अभिनय क्षेत्रमा श्रम शोषण पनि भयो। तर दर्शकको माया र साथ पाएको छु। अहिले बाँच्नलाई अफिसले पेन्सन पनि दिएको छ। मेरी बास्सैमा पनि काम गरिरहेको छु।
अहिलेको समयमा कलाकारितामा केही स्वार्थ पनि देखिएको छ, एकाग्रता नभएको जस्तो देखिन्छ। एकले अर्कोको खुट्टा तानेको जस्तो देखिन्छ। यो के कारणले भएको होला ?
यो आफ्नो काममा सन्तुष्टि लिन नसकेको हो। माग्ने र धुर्मुसका कुरामा पनि उहाँहरूले अलग अलग सुटिङ गर्नुभयो। माग्ने पक्षमा बान्द्रे, राजु मास्टर, मैयाँ, तक्मे बुढा एक दिन र धुर्मुसतर्फ गोक्तेकाजी, दारी बा, सुन्तली, चम्सुरी, मुलासाग, बल्छी एक दिन अभिनयका लागि गए। त्यसपछि मैले यसरी नछुट्नुहोस् भनेँ। आखिर उहाँहरू छुटेर सिरियल नै छोड्नु भयो। उहाँहरूले गरेको सिर्जना अझै पनि छ। अहिले माग्ने फिल्मतिर लाग्नु भएको छ।
महजोडी पनि छुट्याउने कोसिस गरे। छुट्टाछुट्टै फिल्महरू पनि गरे। पछि एक हुनुभयो उहाँहरू। अब छुट्नु हुन्न होला।
पहिलाको तुलनामा अहिलेको चलचित्रमा मौलिक स्वाद कम भएको हो ?
अहिले लेखन पनि त्यस्तै भएको छ। फरक गर्न मन थियो। पहिला धुर्मुस, माग्ने हुँदा अहिलेका सामाजिक कुराहरू राजनीतिक कुराहरू समेटिन्थ्यो। तर अहिले त्यस्तो छैन। राम्रो बनाउने प्रयास जारी नै छ। (एभिन्युजसँगको सहकार्यमा तयार सामग्री)
प्रतिक्रिया