भारत र क्यानडाबीचको तनाव फेरि उत्कर्षमा | Khabarhub Khabarhub

भारत र क्यानडाबीचको तनाव फेरि उत्कर्षमा

६ क्यानडेली कूटनीतिज्ञलाई शनिबारसम्म भारत छाड्न निर्देशन


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र क्यानडाका बीचमा लामो समयदेखि चलिरहेको तनाव फेरि उत्कर्षमा पुगेको छ । सन् २०२३ जुन १८ मा भारतीय मूलका क्यानडेली नागरिक हरदीप सिंह निज्जरको हत्यापछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहिआएको छ ।

क्यानडाले आइतबार भारतलाई निज्जर हत्याकाण्डबारे ‘डिप्लोमेटिक कम्युनिकेशन’ (कूटनीतिक नोट) पठाएपछि दुई देशबीच चलिरहेको तनाव फेरि सतहमा देखिएको हो ।

‘डिप्लोमेटिक कम्युनिकेशन’ मा क्यानडाका लागि भारतीय उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूमाथि सन् २०२३ जुन महिनामा खालिस्तान समर्थक अभियन्ता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोप लगाएको छ ।

तर, भारतले उक्त आरोप अस्वीकार गरेको छ । निज्जर हत्याकाण्डमा भारतीय उच्चायुक्तको कार्यालयलाई मुछेकोप्रति भारतीय विदेश मन्त्रालयले कडा आपत्ति जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कयौँ चुनौतीहरूको सामना गरिरहेका भन्दै भारतले निज्जर हत्याकाण्ड अब राजनीतिसँग जोडिएको पनि दाबी गरेको छ ।

विदेश मन्त्रालयले जारी बयानमा भनेको छ, ‘हामीलाई आइतबार क्यानडाबाट एक डिप्लोमेटिक कम्युनिकेशन प्राप्त भएको थियो । त्यसमा क्यानडामा जारी जाँचबुझका क्रममा भारतका उच्चायुक्तसहितका कूटनीतिज्ञहरू संलग्न रहेको फेला परेको भनिएको छ । भारत सरकार यी आधारहित आरोपहरू अस्वीकार गर्दछ । ट्रुडो सरकार भोटका लागि यस्ता आधारहीन आरोप लगाइरहेको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

भारतले क्यानडामा रहेका उच्चायुक्त सञ्जयकुमार बर्मासहितका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गर्दै क्यानडाका ६ कूटनीतिज्ञहरूलाई देश निकालाको निर्णय गरेको छ ।

यो पनि-

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

नयाँ दिल्लीमा रहेका क्यानडा दूतावासका कार्यकारी उच्चायुक्त स्टीवर्ट रास व्हीलर, उप–उच्चायुक्त पेट्रिक हेबर्ट तथा फस्र्ट सेक्रेटरीहरू मेरी केथरिन जोली, इआन रास डेविड ट्राइट्स, एडम जेम्स चुइपका, पाउला ओर्जुएलालाई भारतले निष्कासन गरेको हो । विदेश मन्त्रालयले उनीहरूलाई अक्टोबर १९ राति ११ः५९ बजेभित्र भारत छोडिसक्न भनेको छ ।

भारतले क्यानडाको आरोप प्रति आपत्ति जनाउँदै दिल्लीस्थित उसको मिशनका कार्यकारी उच्चायुक्त स्टीवर्ट रास व्हीलरलाई ‘नोट’ पठाएको छ । विदेश मन्त्रालयले क्यानडामा भारतीय उच्चायोग र अन्य कूटनीतिज्ञमाथिको आधारहित निशाना अस्वीकार्य भएको बताएको छ ।

‘ट्रुडो सरकारको रबैयाका कारण भारतीय कूटनीतिज्ञहरूको सुरक्षा खतरामा छ । हामीलाई क्यानडाको वर्तमान सरकारमाथि कुनै भरोसा छैन । जसका कारण भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्तसमेत अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ,’ मन्त्रालयले भनेको छ, ‘हामीले जसरी ट्रुडो सरकार भारतविरुद्ध विखण्डनवाद र अतिवादको समर्थन गरिरहेको छ, त्यसको जवाफ दिने अधिकार भारतसँग रहेको क्यानडालाई भनिसकेका छौँ ।’

गत वर्ष जुन १८ मा अज्ञात समूहले भारतीय मुलका क्यानडेली नागरिक निज्जरको हत्या गरेको थियो । गत वर्षकै सेप्टेम्बरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ दिल्लीमा आयोजित जी–ट्वान्टी समिटमा सहभागी हुनअघि ‘हाउस अफ कमन्स’ मा निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको दाबी गरेका थिए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

उनले निज्जरको हत्यामा संलग्न रहेको आरोपमा भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन नै गरिदिएका थिए । जवाफमा भारतले पनि क्यानडाका एक शीर्ष कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न आदेश दिएको थियो ।

भारतले क्यानडाका नागरिकलाई भीसा (प्रवेशाज्ञा) दिन पनि बन्द गरिदिएको थियो । भारतबाट क्यानडेली मिशनका ४१ कर्मचारीहरू फिर्ता जानु परेको थियो । सन् २०२३ नोभेम्बरसम्म भारतले क्यानडेली नागरिकका लागि भीसा सेवा बन्द गरेको थियो ।

भारत छाड्न निर्देशन पाइसकेका दिल्लीस्थित क्यानडेली नियोगका कार्यकारी उच्चायुक्त स्टीवर्ट रास व्हीलरले भने क्यानडाले निज्जर हत्याकाण्डसँग जोडिएका प्रमाणहरू भारत सरकारलाई कस्टनीतिक नोटमार्फत् उपलब्ध गराइएको बताएका छन् ।

‘भारत लामो समयदेखि गरिरहेको माग क्यानडाले पूरा गरिदिएको छ । क्यानडाले आफ्नो भूमिमा क्यानडेली नागरिकको हत्याको घटनामा भारतीय एजेन्ट र ती एजेन्टको भारत सरकारसँग देखिएको सम्बन्धसँग जोडिएका ठोस प्रमणहरू सुम्पिसकेको छ,’ उनले भनेका छन्, ‘अब त्यसबारेमा कदम उठाउने जिम्मा भारतको हो । यो दुवै देश र त्यहाँका जनताका हितमा हुने छ । क्यानडा यो मामिलामा सहयोग गर्न तयार छ ।’

भारतको विदेश मन्त्रालयले क्यानडाका लागि भारतीय उच्चायुक्त सञ्जयकुमार बर्माको बचाउमा उत्रिएको छ । ‘बर्मा ३६ वर्षदेखि कार्यरत वरिष्ठ कूटनीतिज्ञ हुन् । उनी जापान र सुडानमा भारतका लागि राजदूत रहिसकेका छन्,’ विदेश मन्त्रालयले भनेको छ, ‘यसका साथै बर्माले इटली, टर्की, भियतनाम र चीनमा पनि काम गरिसकेका छन् । उनीमाथि आरोप लगाउनु हाँस्यास्पद छ र यो अपमानसरह छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : ३८ बजे

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि

चितवन– यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय

जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’

अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु

काठमाडौं – सरकारले भारतीय रुपैयाँ खरिद गर्न गत आर्थिक वर्षको

काम खोज्दै देश छाड्ने झन् बढे

काठमाडौं – गत आर्थिक वर्षको भदौको तुलनामा यो पटक वैदेशिक

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं– नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला