'चीनमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले भयावह अवस्था आउनसक्छ' | Khabarhub Khabarhub

‘चीनमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले भयावह अवस्था आउनसक्छ’


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

चिनियाँहरुमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले सामाजिक आर्थिक समस्या उत्पन्न हुने देखिएको छ । पछिल्लो एक दशकमा चीनमा विवाहको दरमा ५० प्रतिशतले कमी आएको छ । यसबाहेक दम्पत्तिमा सन्तान नजन्माउने प्रवृत्ति पनि बढ्दै गएको छ ।

चीनको नागरिक मामिला मन्त्रालयले जारी गरेको तथ्यांकमा सन् २०१३ मा १ करोड ३० लाख विवाह दर्ता भएका थिए । सन् २०२२ सम्म आइपुग्दा त्यो सङ्ख्या ६८ लाखमा झरेको छ । गुआङडोङका जनसङ्ख्याशास्त्री ह यापुका अनुसार चीनमा विवाहको यो दर सन् १९८० यताकै न्यून हो ।

घट्दो युवा जनसङ्ख्या, लैङ्गिक अनुपातमा असमानता, ढिलो विवाह गर्ने प्रचलन, विवाह गर्दा आवश्यक खर्चमा वृद्धि, उच्च महङ्गी, बेरोजगारी, सन्तान पाल्न आवश्यक खर्च वृद्धिजस्ता कारणले चीनमा विवाहको दरमा कमी आएको बताइन्छ ।

जन्मद बढाउन चीनले सन् २०१६ मा एक सन्तान नीति खारेज गरेको थियो । त्यसबाहेक धेरै सन्तान जन्माउने दम्पत्तिलाई प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने व्यवस्था पनि गरिएको थियो । यसका बावजुद चीनमा जन्मदर बढ्न सकेको छैन । महिलाहरु घरजम र सन्तानोत्पादनभन्दा आफ्नो करिअरतर्फ बढी केन्द्रित भएका कारण पनि जन्मदरमा खासै उपलब्धि नभएको बताइन्छ ।

हाल चीनमा ‘डबल इनकम, नो किड्स’ अर्थात्, सन्तानरहित दोहोरो आम्दानी गर्ने परिवारको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चीनको सिन्मिन इभिनिङ नामक अखबारले गरेको सर्वेक्षणअनुसार चीनमा कलेज पढ्ने उमेरका ७७ प्रतिशत युवाहरुले आफ्नो आर्थिक अवस्थाअनुसार सन्तान जन्माउनेबारे निर्णय लिने प्रतिक्रिया दिएका छन् । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीको युवा विभागको सर्वेक्षणअनुसार ४४ प्रतिशत चिनियाँ महिलाहरु विवाह गर्ने विषयमा अनिर्णित छन् ।

चीनको स्वास्थ्य आयोगका वरिष्ठ अधिकारी याङ जिनरुइले लामो स्कूले जीवन, रोजगारीको उच्च दबाब र तनावपूर्ण जीवनशैलीका कारण पनि विवाहप्रति चिनियाँहरुको रुची घट्दो रहेको बताए । चीनमा सन्तान जन्माएकी महिलाको सङ्ख्यामा पनि कमी आएको छ ।

सन् २०१० मा चीनमा सन्तान जन्माएकी महिलाको सङ्ख्या ३८ करोड रहेकोमा सन् २०२० मा यो घटेर ३३ करोड ४० लाखमा झरेको छ । बढ्दो वृद्ध जनसङ्ख्याका कारण सन् २०१६ र २०२१ का बीच चीनमा प्रजनन हुने उमेरका महिलाको सङ्ख्या पनि ५० लाख प्रतिवर्षले घटेको छ ।

विज्ञहरुले विवाह र सन्तानोत्पादनप्रति चिनियाँहरुको वितृष्णाले जनसङ्ख्या संकट बढ्ने र भविष्यमा यसले भयावह अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन् ।

विवाहप्रतिको वितृष्णा, घट्दो जन्मदर र प्रजनन हुने महिलाको घट्दो सङ्ख्याले चीनमा वृद्ध जनसङ्ख्याको वृद्धि थप तीव्र हुने अनुमान गरिएको छ । यसबाट श्रमशक्ति र आन्तरिक बजारमा माग पनि घट्ने र यसबाट चीनको सामाजिक आर्थिक अवस्थामा नकारात्मक असर पर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १२ : ५९ बजे

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

‘भूमिहीनका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ’

जनकपुरधाम– सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

काठमाडौं – नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक

माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश

विराटनगर– विराटनगका पुराना वामवुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा (एमाले)

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो