आज साउन १५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ३१, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
लेबनानको केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिने
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले पदबाट राजीनामा दिने भएका छन् ।
लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ । यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ सरकारद्वारा शासन रहेको गभर्नरको अर्को शक्ति शून्यता सिर्जना भएको छ ।
करिब ३० वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सलामेह लेबनानी राजनीतिक अभिजात्य वर्गका प्रमुख व्यक्तित्व मानिन्छन् । उनलाई देशको आर्थिक मन्दीका लागि मुख्य रूपमा दोषी ठर्याएकोएको छ । पछिल्लो समय मुलुकमा मुद्राको अवमूल्यन हुनुका साथै गरिबीको दर बढेको छ ।
आफ्नो विरासतको बचाउ गर्दै सलामेहले केही दिनअघि एक स्थानीय प्रसारकलाई आफूलाई सङ्कटका लागि ‘बलिको बोका’ बनाइएको बताएका थिए । लेबनानको बाँकी राजनीतिक वर्गले उनलाई ‘धेरै पहिले’ त्यागेको आरोप लगाएका थिए ।
लेबनानको कानुनअनुसार सलामेहको ठाउँमा केन्द्रीय बैंकका पहिलो उप गभर्नर वासिम मन्सुरीले कार्यवाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ । तर, यसै महिनाको सुरुमा चारै जना उप गभर्नरले राजीनामा दिने चेतावनी दिएका थिए ।
मन्सुरीले सोमबारपछि पद सम्हाल्ने वा नसम्हाल्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको थियो ।
भूमध्यसागरको तटमा अवस्थित मुलुक लेबनान विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक सङ्कटको चपेटामा परेको छ ।
करिब ६० लाख जनसङ्ख्या भएको लेबनानको राजनीतिक परिदृश्य अत्यन्त जटिल छ । यहाँ १८ वटा मुस्लिम र इसाई सम्प्रदायलाई मान्यता दिने प्रावधानअन्तर्गत शक्ति बाँडफाँड गरिएको छ ।
लेबनानमा एक वर्षभन्दा बढी समयदेखि सीमित अधिकारसहितको कामचलाउ सरकारले शासन गर्दै आएको छ र उक्त मुलुक नौ महिनादेखि राष्ट्रपतिविहीन छ ।
भ्रष्टाचार गरी अकुत रूपमा कमाएको सम्पत्ति देश तथा विदेशमा जम्मा गरेको आरोपमा सलामेहले दुई वर्षदेखि न्यायिक अनुसन्धानको सामना गर्नुपरेको छ । उनी फ्रान्स र जर्मनीको खोजीको सूचीमा रहेका छन् र अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले पनि उनको गिरफ्तारीका लागि रेड नोटिस जारी गरेको छ । तर लेबनानले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दैन ।
एक युरोपेली कूटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार सलामेहविरुद्ध चाँडै नै पेरिसमा मुद्दा चलाइने छ ।
सन् २०२२ को मार्चमा फ्रान्स, जर्मनी र लक्जेम्बर्गले उनको १२ लाख युरो ९१३ लाख ५० हजार अमेरिकी डलर० बराबरको सम्पत्ति जफत गरेका थिए । गत फेब्रुअरीमा लेबनानमा पनि सलामेहमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लागेको थियो ।
स्विट्जरल्यान्डका सरकारी अभियोजकले सलामेह र उनका भाइले ३० करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग गरेकोमा अनुसन्धान गरिरहेका छन् ।
अमेरिकी कम्पनी एएमडीले भारतमा ४०० मिलियन डलर लगानी गर्ने
चिप बनाउने अमेरिकी कम्पनी एडभान्स्ड माइक्रो डिभाइस ९एएमडी० ले आगामी पाँच वर्षमा भारतमा ४०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा शुक्रबार सुरु भएको सेमिकन्डक्टरसम्बन्धी सम्मेलनमा कम्पनीका प्रमुख प्राविधिक अधिकृत मार्क पेपरमास्टरले भारतको बैंगलुरुमा सबैभन्दा ठूलो डिजाइन सेक्टर निर्माण गर्ने बताए ।
भारतीय अखबार द हिन्दूले जनाएअनुसार कम्पनीले आफ्नो डिजाइन सेन्टरको यसवर्षको अन्त्यमा सुरुवात गर्नेछ । आगामी ५ वर्षमा ३ हजार नयाँ इञ्जिनियरिङ क्षेत्रको जागिर सिर्जना गर्ने प्रमुख प्राविधिक अधिकृत मार्कले बताए ।
यस्तै सो अवधिमा ५ लाख स्क्वायर फुटमा एएमडीको नयाँ डिजाइन सेन्टरको सुरुवात हुनेछ । यो सुरुवात हुँदा भारतमा एएमडीका १० कार्यालय रहनेछन् ।
उनले भनेका छन्, ‘भारतीय टोलीले उच्च क्षमता र समस्याको समाधान गर्ने किसिमका चिपहरुको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले विश्वभरमै एएमडीका ग्राहकहरूलाई सहयोग पुग्नेछ ।’
युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण
युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा मानवीय क्षति भने नभएको क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।
अलेक्जेन्डर बोगोमाजले टेलिग्राममा भनेका छन्, ‘युक्रेनी सेनाले ट्रुब्चेभ्स्की जिल्लामा राति आक्रमण गरेको छ । यस जिल्लाको प्रहरी चौकीमा एउटा ड्रोन ठोक्किएको थियो । आक्रमणबाट झ्याल र छानामा क्षति पुगेको छ तर कुनै हताहती भने भएको छैन ।’
मस्को र क्रिमिया प्रायद्वीपलाई लक्षित गरी युक्रेनी ड्रोन खसालिएको र यसले राजधानीका दुई कार्यालय टावरमा क्षति पुर्याउनुका साथै एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि उडान अवरूद्ध भएकोे रूसले जनाएको छ ।
मस्कोलाई लक्षित गरी बनाइएको एउटा ड्रोन शहरको बाहिरी इलाकामा खसालेको र अन्य दुई ड्रोनलाई ‘इलेक्ट्रोनिक वारफेयरले दबाएर’ कार्यालय परिसरमा खसालेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर (३१० माइल) टाढा रहेको मस्को र यसको वरपरको इलाकालाई युक्रेनमा जारी द्वन्द्वका बेला यस वर्ष कैयौँ ड्रोन आक्रमण भए पनि यसले कमै मात्रमा मानवीय निशाना बनाएको थियो ।
पाकिस्तानको बाजौर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो
पाकिस्तानको उत्तरपश्चिम खैवर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी गराएका छन् ।
रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्यामा वृद्धि भएको हो । बम विष्फोटमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये १०० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गर्दै अनवरले सबै गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत प्रान्तीय राजधानी पेसावर लगिएको जानकारी दिए।
जिल्लाको मुण्डा खार सडकको शान्ते मोर क्षेत्र नजिकै जमीयत उलेमा–ए–इस्लाम–फजल ९जेयूआई–एफ० को राजनीतिक भेलाका क्रममा एक आत्मघाती आक्रमणकारीले आफ्नो ज्याकेटमा राखिल्याएको विस्फोटक पदार्थ विस्फोट गराएको प्रहरीले जनाएको छ ।
आक्रमणमा भेलामा आएका केही उलेमा–ए–इस्लाम–फजल समर्थक नेता तथा कार्यकर्तासहित केही सर्वसाधारणसमेतको हताहती भएको थियो । उक्त आक्रमणमा एक स्थानीयस्तरका उच्च नेताको समेत मृत्यु भएको थियो ।
आक्रमणको जिम्मेवारी सोमबार यो समाचार तयार पार्दा कुनै व्यक्ति वा समूहले लिएको छैन । उक्त क्षेत्रमा यस पहिले पनि उक्त दलको कार्यक्रमलाई लक्षित गरी स्थानीय इस्लामिक स्टेट ९आइएस० ले आक्रमण गरेको थियो ।
पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्ने १४ वर्षीया बालिकालाई यातना दिइएको खुलासा
पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्दै आएकी १४ वर्षे नाबालिगलाई यातना दिइएको घटना सार्वजनिक भएको छ । घटना पाकिस्तानको सरगोधा क्षेत्रमा भएको हो ।
पाकिस्तान पाकिस्तानी समाचार संस्था जियो न्युजका अनुसार न्यायाधीश असिम हफिजको घरमा काम गर्दै आएकी १४ वर्षीया बालिकालाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएको हो ।
ती नाबालिगलाई न्यायाधीशकी श्रीमतीले यातना दिएको र दुर्व्यवहार गरेको जनाइएको छ । पीडितका अभिभावकका अनुसार गहना चोरी गरेको आरोपमा न्यायाधीशकी श्रीमतीले ती नाबालिगलाई मुङ्ग्रोले कुटपिट गरेकी थिइन् ।
कुटपिटपछि अवस्था गम्भीर भएपछि न्यायाधीशकी श्रीमतीले पीडितलाई उनकै अभिभावकको घरअघि लगेर छाडेकी थिइन् । कुटपिटबाट घाइते भएकी नाबालिगलाई अस्पताल भर्ना गरिएको छ ।
ती नाबालिगलाई घरेलु कामदारका रुपमा न्यायाधीशको घरमा पठाएको आरोपमा प्रहरीले मुख्तार नाम गरेका एक जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया