तीन दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडक अझै खुलेन  « Khabarhub

तीन दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडक अझै खुलेन 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– गत शनिबार  रातिदेखि अवरुद्ध बेनी-जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् ।

रघुगङ्गा गाउँपालिका-१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा-३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटकलगायत यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् । स्थानीयले दिएको जानकारीअनुसार भारत र तेस्रो मुलुकबाट आएका ५६ पर्यटक बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा छन् ।

शनिबारदेखिको अविरल वर्षाले सडकको सिरानबाट आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री तथा सवारी साधनलाई समस्या भएको हो ।  

बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुने गरेको छ  । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती खेप्दै लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन् । सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो ।

वैकल्पिक रुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग गर्दै आएका छन् । वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावत र कृषिउपज निकासी प्रभावित भएको छ ।

जिल्ला कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बेनी–जोमसोम सडकमा खास काम नभई यात्रा गर्न नहुने बताएका छन् । वर्षा भइरहेको र पहिरो खसिरहेकाले पानी पर्न बन्द नहुन्जेल सडक स्थायी रुपमा खुलाउन समस्या भएको उनको भनाइ छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताए ।

सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी-जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै सडकमा पहिरो खस्ने समस्या छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ५३ बजे

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको